७ वैशाख २०८१ शुक्रबार
समाज

पोल र तारको धराप !

– पुस ४ गते कालिमाटीमा बा.१ख ६११८ नम्बरको स्कुल बस र बा.२ज २७५५ नम्बरको ट्याक्सीलाई बिजुलीको पोल ढलेर किच्यो । तत्कालै यात्रुको उद्धार गरिएकाले दुर्घटनामा ठूलो मानवीय क्षति हुन पाएन।

–पुस ११ गते जोरपाटीबाट रत्नपार्क आउँदै गरेको यात्रुबाहक बस मैतिदेवीस्थित बिजुलीको ट्रान्सफर्मरयुक्त पोलमा ठोकियो । ट्रान्सफर्मरसहितको पोल  ढलेर बसलाई किच्दा १७ यात्रु घाइते भए भने बस पूर्ण रूपमा क्षतिग्रस्त बन्यो। 
यी घटना उपत्यकाका सडकमा अव्यवस्थित रूपमा गाडिएका पोलका कारण भएका सवारी दुर्घटनाका उदाहरण हुन्। उपत्यकाका सडक किनाराका रहेका अव्यवस्थित पोल तथा जतातजै लत्रिएका तारका कारण यस्ता दुर्घटना भने बढिरहेका छन्। 

ठाउँठाउँमा खाल्डा भएको सडक किनारामा अव्यवस्थित पोल र लत्रेका तारका कारण दुर्घटना बढ्दा पनि जिम्मेवार सरकारी निकायले वास्ता गरेका छैनन्। 

विद्युत् प्राधिकरण तथा दूरसञ्चार सेवाप्रदायकले अव्यवस्थित रूपमा ठड्याएका पोल र लतारेका तारकै कारण सवारी मात्र होइन, अन्य खाले दुर्घटनामा समेत वृद्धि भइरहेको छ । उपत्यकाका विभिन्न स्थानका सडकको मध्यभागमै बिजुलीका पोल ठडिएका छन् । तिनमा ठोकिएर बारम्बार सवारी दुर्घटना हुने गरेको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ६० प्रतिशत सवारी दुर्घटना बिजुलीका पोल तथा अस्तव्यस्त तारमा अल्झिएर हुने गर्छ। 

यसैगरी, ट्रान्सफर्मर पड्कँदा समेत दुर्घटना भइरहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार गएको साढे दुई वर्षभित्र उपत्यकामा बिजुली ‘सर्ट’ भएर २३ जनाले ज्यान गुमाएका छन् । यसै अवधिमा बिजुली ‘सर्ट’का  कारण भएको आगजनीबाट ९० करोड ९४ लाख चार हजार ६ सय रुपैयाँबराबरको क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ प्रहरी उपरीक्षपक पूर्णचन्द्र जोशीले बताए।

‘उपत्यकामा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढिरहेको छ,’ उनले भने, ‘बिजुलीमा सावधानी नअपनाउँदा ठूलो जोखिम बढिरहेको छ ।’ आर्थिक वर्ष ०७२/७३ देखि ०७४/७५ सम्म बिजुली ‘सर्ट’ भएर काठमाडौं उपत्यकामा २३ जनाले ज्यान गुमाएका छन् भने ११ घाइते भएका छन् । बिजुली ‘सर्ट’ भएर ७० वटा गाईको ज्यान गयो । त्यस्तै, सात सय ५० वटा कुखुरा मरे । 
प्रहरीका अनुसार आर्थिक वर्ष ०७२/७३ मा काठमाडौं जिल्लामा विद्युत् ‘सर्ट’ भएर पाँच जनाको मृत्यु भएको थियो । ०७३/७४ मा मृत्यु हुनेको संख्या बढेर सात पुग्यो । चालू आर्थिक वर्षको हालसम्म यस्तै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। 

०७२/७३ मा विद्युत् सर्ट भएर ललितपुरमा एकजनाको ज्यान गएको थियो भने दुई घाइते भएका थिए । ०७३/७४ मा भने दुईको मृृत्यु र सात घाइते भएका थिए । ०७४/७५ मा विद्युत् ‘सर्ट’मा परेर कुनै मानवीय क्षति भएन । भक्तपुरमा ०७२/७३ मा विद्युतीय ‘सर्ट’मा परेर चारजनाको ज्यान गयो । ०७३/७४ मा एक जनाको मृत्यु भयो । चालू आर्थिक वर्षको हालसम्म भने एकको ज्यान गएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ६० प्रतिशत सवारी दुर्घटना बिजुलीका पोल तथा अस्तव्यस्त तारमा अल्झिएर हुने गर्छ ।  नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बिजुलीका पोलमाथि इन्टरनेट तथा अन्य सेवाप्रदायकले धेरै तार थुपार्दा दुर्घटना बढेको बताए । ‘बिजुलीका पोलमाथि अत्यधिक तार गुजुल्टिने समस्या छ, अत्यधिक तारको भारले पोल ढल्ने र तार भुइँमा लत्रिएर दुर्घटना हुने गरेको छ,’ उनले भने, ‘अस्तव्यस्त तार पन्छाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छौँ, बारम्बार अटेरी गर्छन् ।’

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय काठमाडौंका निर्देशक दीघार्यु श्रेष्ठ सवारीसाधनको ठक्करका कारण बिजुलीका पोल ढल्ने गरेको बताउँछन् । ‘उपत्यकामा सवारीसाधनको ठक्करकै कारण बिजुलीका पोल लडेका छन्,’ उनले भने, ‘काठमाडौंमा काठेपोल विस्थापित भइसके, त्यसैले पोल आफैँ ढलेको सुनिएको छैन ।’ उनका अनुसार बिजुलीका पोलमा अन्य सेवाप्रदायक कम्पनीले अत्याधक मात्रामा तार राख्दा समस्या भइरहेको बताउँछन् । तर, विद्युत् प्राधिकरणले अन्य सेवाप्रदायकसँग भाडा लिएर तार राख्न दिने गरेको छ । ‘८५ प्रतिशत कामै नलाग्ने तार छन्,’ उनले भने, ‘जथाभावी तार काट्दा पनि सूचनाको हक नै हनन हुने डर, अर्काेतर्फ दुर्घटनाको जोखिम पनि उस्तै छ ।’ प्राधिकरणले सावधानी अपनाउँदा अपनाउँदै पनि करेन्ट लागेर कर्मचारी तथा सेवाग्राहीको मृत्यु हुने गरेको छ । 
सडकको मध्यभागका पोल हटाउने विषयमा भने प्राधिकरण र सडक विभागका अधिकारीबीच विवाद देखिएको छ । उनीहरू एकले अर्कोलाई दोषारोपण गरिरहेका छन्। 

काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसी विद्युत् प्राधिकरणले समयमै बिजुलीका पोल नसार्दा सडक विस्तारमा समस्या भएको बताउँछन् । ‘विद्युत् प्राधिकरणले सडकको मध्यभागका पोल नहटाउँदा सडक विस्तारमा अवरोध भइरहेको छ,’ उनले भने, ‘सडकका पोलमा सवारीसाधन ठोक्किएर दुर्घटना हुने गरेको छ ।’ 
प्राधिकरणका निर्देशक श्रेष्ठ सडक विस्तार समयमै नहुँदा पोल सार्न कठिनाइ भएको बताउँछन् । ‘सडकमा पेटी नबसेसम्म पोल सार्न मिल्दैन, ११ हजार भोल्टेजको तार जथाभावी राख्न समेत मिल्दैन,’ उनले भने, ‘मापदण्डअनुसार घरबाट कम्तीमा सवा मिटर दूरीमा बिजुलीको पोल राख्नुपर्ने हुन्छ, तर सडक विभागले भने घरकै आँडमा पोल राखिदेउ भन्दै आउँछ, त्यसले जोखिम बढाएको छ ।’ उनले विद्युत् सुरक्षा कार्यक्रमअन्तर्गत भूमिगत तार व्यवस्थापन र सडकका पोल हटाउने तयारी गरिरहेको बताए । 

प्रकाशित: २२ पुस २०७४ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App