coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

‘हामी संसारकै अभागी सहरवासी’

आर्यन सिग्देल, अभिनेता

तपाईंलाई मनपर्ने सहर कुन हो ?

मलाई काठमाडौं राम्रो लाग्छ । म काठमाडौंमा जन्मे–हुर्केको हुँ। यहीँबाट संघर्ष सुरु गरेँ। यहीँ आफूलाई सभ्य बनाउने अवसर पनि पाएँ । म अहिले जुन ठाउँमा छु, त्यसको श्रेय काठमाडौंलाई दिन्छु। 

तपाईं सानो छँदा काठमाडौं कस्तो थियो ?
म सानो छँदा काठमाडौं अहिलेभन्दा व्यवस्थित थियो । यति धेरै कोलाहल, भीडभाड थिएन । घरहरू कम थिए। ८–१० वर्ष अघिदेखि हो, काठमाडौं यति साह्रै अस्तव्यस्त हुन थालेको । त्यसअघि प्रदूषण पनि कम थियो।

अहिलेको काठमाडौं देख्दा कस्तो लाग्छ ?
दिक्क लाग्छ । कहिलेकाहीँ त कस्तो सहरमा जन्मेछु भन्ने लाग्छ । यहाँका सरकारी निकायले दिने झन्झट र जनताको जीवनमाथि गरेको ठाडो खेलबाड देख्दा हामी संसारकै अभागी सहरवासी हौँ भन्ने पनि लाग्छ। सरकारी निकायको कामकाज पनि पारदर्शी हुँदैन । कतै–कतै विकास निर्माणका काम भएको देख्दा खुसी लाग्छ, तर सरकारी कामकाज कहिले सकिने भन्ने नै टुंगो हुन्न । 

तपाईंको विचारमा काठमाडौं कसरी व्यवस्थित बन्न सक्ला ? 
काठमाडौंलाई सबैले बराबरी माया गर्ने हो भने सुन्दर हुन्छ । यहाँ त फाइदा लिने र लुट्ने मात्रै छन्। कसैले पनि यो मेरो दायित्व हो भनेर बुझेनन् । सरकारी निकाय र सहरवासीले बेवास्ता नगरेको भए काठमाडौं यतिसाह्रै निर्दयी र दिक्कलाग्दो हुँदैनथ्यो होला । 

देशका अन्य कुन–कुन सहर घुम्नुभएको छ ?
प्रायः सबैजसो सहर पुगेको छु । उपत्यका बाहिरका सहरमध्ये पोखरा राम्रो लाग्यो । पोखरा काठमाडौंभन्दा सफा र व्यवस्थित छ । अनेकौँ प्राकृतिक दृश्य पनि पोखराबाटै नियाल्न पाइन्छ । यो पोखराको राम्रो पक्ष हो। 

कुन कुन देशका सहर घुम्नुभएको छ ?
अस्टे«लिया, युके, जापान, कोरिया, दुबई, कतारलगायत १० भन्दा बढी देश पुगेको छु । टोकियो, लन्डन, मस्को, सिड्नी, मेलबर्न, जुरिक लगायत सहर मनप¥यो । यी सहर व्यवस्थित, अनुशासित, शान्त र सुविधायुक्त छन् । 

विदेशका सहर घुम्दा कस्तो महसुस भयो ?
एमदमै रमाइलो लाग्यो । विदेशका सहर यस्ता छन् भन्ने सुन्दै आएको थिएँ । तर, प्रत्यक्ष देख्न पाउँदा रमाइलो र ठाउँ बुझ्ने अवसर पाएँ । मैले घुमेका धेरै सहर भौतिक सेवा–सुविधाको हकमा सम्पन्न थिए । ती सहरी इलाकामा फोहोर देखिनँ । 

हाम्रा सहर किन त्यस्तै बन्न नसकेका होलान् ?
हाम्रा सहर त्यस्तै बन्नलाई अझै १० वर्ष लाग्छ, त्यो पनि काम गर्ने हो भने । यही गतिले विकासका काम सञ्चालन गर्ने हो भने हामी सधैँ यस्तै हुन्छौँ । यहाँका सरकारी उच्च निकायका पदाधिकारी विदेशका मुख्य सहर घुमेका छन् तर उनीहरू आफ्नोमा काम गर्दैनन् । बनाउने हो भने हाम्रा सहर विश्वमै नमुना बन्छन् । यहाँ पाइने प्राकृतिक सौन्दर्य विदेशी मुलुकमा कमै पाइन्छ । हाम्रा सहर प्राकृतिक रुपमै सजिएका छन्, मात्रै तिनलाई व्यवस्थित पार्न जरुरी छ। 

तपाईं बसेको सहर कस्तो होस् भन्ने चाहनुहुन्छ ? 
सबैखाले सुविधा होऊन् । कतै पनि भद्रगोल नदेखियोस् । स्वच्छ सास फेर्न पाइयोस् । सहरवासीमा पनि सहयोगी भावना देखियोेस् । दुःख पर्दा एकले अर्कोलाई हात दिऊन् । यस्तो भए सहरमा मन खुसी हुन्छ । भीडमा पनि एक्लो हुनुपर्दैन। 

काठमाडौंको नकारात्मक पक्ष के हो ?
धराप सडक, ट्राफिक जाम, अव्यवस्थित पार्किङ, भीडभाड, प्रदूषणलगायत नै यहाँको नकारात्मक पक्ष हो। 

सकारात्मक पक्ष ?
काठमाडौैंमा सबैखाले सेवा–सुविधा पाइन्छ, यो नै यहाँको राम्रो पक्ष हो। त्यस्तै, सांस्कृतिक सम्पदा, जात्रा पर्वहरू, मठ–मन्दिर, अनुकूल मौसम यहाँको सकारात्मक पक्ष हो। 

सहरवासीको बानी कस्तो लाग्छ ? 
मलाई त सहरवासीकै गलत सोच र प्रवृृत्तिले सहर बिग्रिएजस्तो लाग्छ । सहरमा बस्ने अधिकांश आफू बसेको ठाउँप्रति गैरजिम्मेवारी छौँ । सहरवासीको बानी स्वार्थी छ । यहाँ अरुको दुःखमा साथ दिने कमै भेटिन्छन् । गाउँमा जस्तै सहरमा पनि ऐँचोपैँचो चल्ने भए सहर सुुन्दर हुन्थ्यो होला । 

आफ्नो सहरको विकासका लागि तपाईंले के गर्नुभएको छ ?
म एक्लै तातेर सहरको विकास हुने होइन । सबै सहरवासी तात्नुपर्छ । सहरका समस्या कुनै व्यक्तिसँग भन्दा पनि कुनै निकायसँग बढी सम्बन्धित छन् जस्तो लाग्छ । किनकि, सरकारी निकाय जिम्मेवार र पारदर्शी नभएका कारण सहर बिग्रिएको हो । यहाँ विकास निर्माणका काममा सधैँ राजनीति हुन्छ । कुनै पनि निकायले आफूले गर्ने दायित्व बिर्सन्छ भने त्यस्तो ठाउँमा नागरिकले दुःख पाउनु स्वाभाविक हो । 

तपाईंको विचारमा सहरको विकास कसरी होला ?
सर्वप्रथम त जसले विकास गर्छु भनेर सहरमा राजनीति गरेको छ, उसको ‘बे्रन वास’ हुनुपर्छ । अर्को कुरा नागरिकले पनि बेला–बेला सम्बन्धित निकायलाई घचघच्याइरहनुपर्छ। 

पछिल्लोे समय घुमेको सहर ? 
पछिल्लो समय लन्डन गएको थिएँ । 

उपत्यकानजिकै घुम्न जानुपयो भने कहाँ जानुहुन्छ ?
खासै घुम्न हिँड्ने बानी छैन । काममै व्यस्त भइन्छ । यहाँ घुम्नलाई राम्रो ठाउँ पनि त छैन। 

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मन भएर पनि पुग्न नपाएको सहर छैन । घुम्न मन लागेका सहरमा म पुगेको छु। 

उपत्यकाको मनपर्ने खानेकुरा ?
सबैखाले परिकार खान्छु। 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २२ पुस २०७४ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App