४ वैशाख २०८१ मंगलबार
अर्थ

धमाधम निर्माण हुँदै जलविद्युत् आयोजना

इलामको माइखोलामा निर्माणाधीन सुपरमाई जलविद्युत् आयोजनामा पेनस्टक पाइप बिछ्याइँदै ।

इलाम – जिल्लाका विभिन्न नदीहरूमा बर्सेनिजसो जलविद्युत् आयोजना निर्माण हुँदै विद्युत् उत्पादनसमेत गरिहेका छन् । जिल्लाका माई र पुवाखोलामा उत्पादन गरिरहेका आयोजना आधा दर्जन नाघेका बेला केही आयोजना धमाधम निर्माण चरणमा छन् ।

जिल्लामा एउटा आयोजनाको निर्माण कार्य चलिरहेको छ भने बाँकी दुई आयोजनाको काम सुरु हुन लाग्दैछ । क्यासकेडसहितका चार आयोजनाले दुई वर्षयता मात्रै उत्पादन सुरु गरेका थिए । जलविद्युत्को सम्भावना भएका नदीहरूमा अहिले आयोजना बन्ने लहर चलेको हो । इलाम नगरपालिका–५ बरबोटे र वडा २ सुम्बेकस्थित माईखोलामा सुपरमाई जलविद्युत् आयोजनाको काम धमाधम छ । डेढ अर्ब रुपैयाँ लगानीको आयोजना निर्माणपछि राष्ट्रिय प्रसारण लाइनमा ७.८ मेगावाट विद्युत् थपिनेछ ।

२०७८ असार १ सम्ममा विद्युत् उत्पादन गर्नेगरी गतवर्ष काम सुरु भएको हो । अहिले विद्युत् गृह, पेनस्टक पाइपलाइन निर्माणलगायत सबैजसो काम निरन्तर भइरहेको आयोजनाले जनाएको छ । ‘रन अफ दी रिभर’ प्रकारको आयोजनाबाट वर्षमा ४७.३९ गिगावाट विद्युत् उत्पादन हुने अनुमान आयोजनाको छ । सदरमुकामबाट नौ किलोमिटरमा रहेको आयोजनाको इन्टेक र बालुवा थिग्य्राउने पोखरी इनपा वडा २ मा र विद्युत् गृह चाहिँ वडा ५ मा निर्माण हुँदैछ । पावर हाउससम्मको डिजाइन बहाव ७.३४ घनमिटर प्रतिसेकेन्ड र कुल हेड १३३.३ मिटर रहेको आयोजनाका अध्यक्ष मोहनविक्रम कार्कीले जानकारी दिए ।

माइखोलाको पानी विद्युत् गृहसम्म ल्याउन तीन हजार दुई सय ३५ मिटर लम्बाइ र २.३ मिटर व्यासको हेडरेस पाइप प्रयोग गरिँदैछ । यो पानी सात मिटर व्यास र २४ मिटर उचाइ रहेको सर्ज ट्यांकमा खसालिने छ । विद्युत् गृहमा ३.९ मेगावाट क्षमताका दुई होरिजेन्टल एक्सिस भएका फ्रान्सिस टर्वाइनमा पानी खसालेर विद्युत् उत्पादन गर्ने उनले बताए । ‘धमाधम काम भइरहेको छ, सबै कुराले साथ दिए निर्धारित समयमा आयोजनाको काम सम्पन्न हुन्छ,’ उनले भने ।  

जिल्लाकै सुम्बेकमा ९.१ मेगावाटको सगरमाथा जलविद्युत् आयोजना निर्माण सुरु हुन लाग्दैछ । काम सुरु गर्न अन्तिम तयारी भइरहेको आयोजनाले जनाएको छ । पुवाखोलामा चार मेगावाटको पुवाखोला–२, माइबेनीमा ९.२ मेगावाटका आयोजना पनि काम सुरु गर्ने तयारीमा छन् ।

जिल्लामा सानिमा माई, पञ्चकन्या, हिमाल दोलखा, पुवाखोला, पुवाखोला–१ र जोगमाई आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । सानिमा माई र पञ्चकन्याका क्यासकेडसमेत सञ्चालनमा आइसकेका छन् । तर, हिउँदमा नदीमा पानीको बहाव कम भएकाले उत्पादन चाहिँ एक तिहाइ मात्रै भइरहेको ती आयोजनाले जनाएका छन् ।     

अहिले इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित काबेली करिडोरअन्तर्गतका १० आयोजनाको विद्युत् उत्पादन घटेको छ । करिडोरमा चालू रहेका १० जलविद्युत् आयोजनाको कुल क्षमता ८६.९७ मेगावाट रहेपनि ३१.३० मेगावाट मात्रै उत्पादन भइरहेको ती आयोजनाले जनाएका छन् । तीनै जिल्लामा सबैभन्दा बढी क्षमता (२९ मेगावाट) को इलाम चिसापानीस्थित सानिमा माई जलविद्युत् आयोजनाबाट अहिले ९.९८ मेगावाट विद्युत् मात्रै उत्पादन हुँदैछ । खोलामा पानी कम भएकाले क्षमताअनुसार उत्पादन हुन नसकेको आयोजनाले जनाएको छ । यसको मुख्य आयोजना २२ मेगावाट र क्यासकेड सात मेगावाटको हो ।

इलामको माइखोलामा रहेको ४.५ मेगावाट क्षमताको हिमाल दोलखा आयोजनामा १.२ मेगावाट मात्रै उत्पादन भइरहेको छ । माइखोलाकै पञ्चकन्या माई आयोजना ९.९८ मेगावाट क्षमताको रहेपछि अहिले ३.७ मेगावाट मात्रै उत्पादन भइरहेको पञ्चकन्या माई हाइड्रो पावर प्रालिका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए । आयोजनाको ६.२ मेगावाट क्षमताको क्यासकेडबाट पनि अहिले दुई मेगावाट मात्रै उत्पादन हुँदैछ । इलामकै जोगमाई खोलामा रहेको सात मेगावाट क्षमताको जोगमाई खोला जलविद्युत् आयोजनाले अहिले १.७ मेगावाट मात्रै उत्पादन गर्दैछ ।

पाँचथरको हेवाखोलामा रहेको १४.९ मेगावाटको हेवाखोला आयोजनाले ४.९ मेगावाट, ०.९९ मेगावाट क्षमताको खोरुंगाखोला आयोजनाले ०.७८ मेगावाट र पाँच मेगावाट क्षमताको ताप्लेजुङस्थित फावाखोला आयोजनाबाट अहिले ३.०९ मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको आयोजनाले जनाएको छ । इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत् इलामको गोदकस्थित सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यी तीन जिल्लामा नौ मेगावाट विद्युत्को माग छ । तीनै जिल्लाको विद्युत् व्यवस्थापन हेरिरहेको इलामस्थित वितरण केन्द्रका अनुसार इलाम र पाँचथरमा ८.६ तथा ताप्लेजुङमा पाँच सय किलोवाट विद्युत्को माग छ ।
    



 

प्रकाशित: २३ पुस २०७४ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App