८ वैशाख २०८१ शनिबार
समाज

यौन अपराधको भुंग्रोमा नाबालिका

झापा – बाबुदेखि शिक्षकसम्म, छिमेकीदेखि अन्य नातेदारसम्मका व्यक्तिबाट यौन अपराधको चपेटामा पर्ने  बालिकाको संख्या लगातार बढ्दै गएको छ । केही वर्षयता यौन अपराधको घटना धेरै हुँदै आएको झापामा सन् २०१६ मा पनि धेरै बालिका र महिला त्यस्तो पाशविक अपराधको शिकार बनेका छन्। 

कुनैबेला थियो ग्रामीण क्षेत्रका विपन्न परिवारका बालिकाहरूलाई अनेकौं प्रलोभनमा पार्ने र उनीहरूको अस्मिता लुट्ने अपराध झापामा मौलाएको थियो। तर, पछिल्लो समयमा सहरका आर्थिक रुपले सम्पन्न परिवारकै बालिकाहरु पनि यस्तो अपराधबाट पीडित हुन थालेका छन् । सूचना प्रविधिको बढ्दो दुरुपयोगले सहरी क्षेत्रमा यौन अपराधका घटना बढाएको प्रहरी अनुसन्धानको निष्कर्ष छ। झापा प्रहरीको अभिलेख अनुसार पछिल्लो वर्ष दिनभित्रैमा १६ वर्ष मुनीका १७ जना बालिका यौन अपराधको शिकार बनेका छन् । जसमा १० जना १० वर्षभन्दा मुनीका छन् । त्यस्तै १६ वर्ष माथिका १० जना पनि त्यस्तै अपराधबाट पीडित बनेका छन् । यसले सन् २०१६ भरिमा मात्रै २७ जना बालिका र महिला बलात्कारको शिकार बनेको देखाउँछ। 

‘अहिले यौन अपराधका घटना कुनै ठाउँ विशेष वा वर्ग विशेषमा मात्रै सीमित छैन’, झापा प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले भने ‘सबैतिर उस्तै देखिन्छ । प्रविधिको दुरुपयोगले अपराध बढाएको देखाउँछ ।’ उनका अनुसार विभिन्न माध्यमबाट अश्लिल साइटमा मात्रै रमाउने लत बस्दै जाँदा अपराधमा बढोत्तरी भएको हो । सहरी क्षेत्रका किशोरहरूबाट पीडित बनेका बालिकाहरुको‘केसस्टडी’ मा यस्तो देखिएको हो। दुई वर्ष अघिसम्मको तथ्यांकमा पनि ग्रामीण क्षेत्रका विपन्न बालिकाहरूलाई प्रलोभनमा पारेर यौनशोषण भएका घटना बढी देखिएको हुन्थ्यो । चिया बगान, निर्माण क्षेत्र तथा कृषि मजदुरीमा रहने अभिभावकका छोरीहरू बढी पीडित हुनेमा पर्दथे। तर, पछिल्लो वर्ष दिनका केही घटनाले सहरी क्षेत्रका कामकाजी अभिभावकका सन्तान पनि पीडित बनेको देखाएको छ।  जसमा पीडकहरुमध्ये धेरै नजिकका नातेदार छन् । केही शिक्षक र बाबुसमेत छन्। 

बिर्तामोड नगरपालिका –४ की सात वर्षीया बालिका आफ्नै शिक्षकबाट लामो समयदेखि पीडित बनेको उनका अभिभावकले त्यसबेला मात्रै थाहा पाए, जब उनीहरु छोरी लिन शिक्षकको घरैमा पुगे । घटना गएको साउन २७ गतेको हो । अरु दिन झैँ आमाबुबा कार्यालय जाने हतारोमा थिए । छिमेकमै रहेका शिक्षकको घरमा ट्युशन पढ्न पठाएकी सात वर्षे छोरी आउन ढिला भएपछि अभिभावक उनलाई लिन भनेर गए । त्यहाँ पुग्दा देखेको दृश्यले उनीहरुलाई  मरेतुल्य पार्यो । अभिभावकका अनुसार राम्ररी बोलीसमेत फुटिनसकेकी बालिकालाई ती शिक्षकले अप्राकृतिक मैथुनमा सहभागी हुन बाध्य पारेका थिए । ‘पहिल्यैदेखि त्यसो गराउँदै कसैलाई नभन्न धम्की दिएको रहेछ’, अधिकारकर्मी अर्जुन बस्नेतले भने ‘अभिभावकले भेटेपछि त्यो कुरा खुल्यो । अहिले ती शिक्षक थुनामा छन्।’ 

शिक्षक मात्रै होइन, बाबुबाटै बलात्कृत हुन अभिषप्त छोरीहरूको संख्या पनि हरेक वर्ष देखापर्छ । बिर्तामोड –४ कै एक जना बाबुले १३ वर्षे छोरीमाथि बलात्कार गरेको पाइएपछि गएको भदौ २८ मा बाबु पक्राउ परे। अर्जुनधारा नगरपालिका –७ मा सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ७० वर्षीय वृद्ध असार ८ गते पक्राउ परे । ती वृद्ध बालिकाका नजिकका नातेदार थिए । ‘आफू वरिपरिकै, अभिभावक सरहका व्यक्तिबाट पीडित बन्न बाध्य भएका घटनाले समाजमा असुरक्षाको भयावहपन देखाउँछ’, इन्सेकमा पनि कार्यरत बस्नेतले भने ‘कहाँ कसलाई विश्वास गर्ने, कसलाई शंका गर्ने भन्ने विषयमै अधिकांश अभिभावकको हैरानी छ । यो असुरक्षाको चरम अवस्था हो।’ 

एकातिर कलिला नानीहरु यौन अपराधबाट पीडित बन्न बाध्य भएका घटनाहरूको लामो फेहरिस्त तयार हुँदै गर्दा अघिल्लो बिहीबार मात्रै झापामै अर्को डरलाग्दो घटना भयो। इलामकी एक महिलालाई बिर्तामोडको चिया बगानमा बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रयास तथा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न एकजना फरार छन् । इलामबाट सुरुङ्गामा रहेका आफन्तको घरमा आएकी ती महिला इलाम फर्कने क्रममा बिहीबार दिउँसो साढे ११ बजे भाइसँग फोटो खिच्न अर्जुनधारा ११ स्थित गिरीबन्धु चिया बगान गएकी थिइन् । त्यहीबेला हातमा खुकुरी बोकेका तीन जना युवाको समूहले उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी गर्ने प्रयास तथा लुटपाट गरेको बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए। 

प्रहरीले घटनामा संलग्न भएको आरोपमा अर्जुनधारा नगरपालिका ९ का विजय बहादुर मगर र नविन डाँगीलाई पक्राउ गरेकोे छ । मगर र डाँगीकै अर्का एकजना साथी भने फरार रहेको कोइरालाले बताए। सुरुङ्गाको सिमलबाडीबाट दिदीलाई पु¥याउन आएका भाई समेतलाई चिया बगानमा फोटो खिच्दै गरेको अवस्थामा फेला पारेपछि अभियुक्तहरुले कब्जामा लिएर एकान्तमा लगेका थिए । त्यहाँ पु¥याएपछि दुई जनालाई धम्की दिदै टाँसिन, चुम्बन गर्न लगाएर फोटो खिचेका थिए । त्यसपछि फोटो सामाजिक सञ्जालमा पोष्ट गरिदिन्छु नत्र पैसा निकाल भनेर धम्क्याए। त्यसक्रममा उनीहरुसँग भएको १२ हजार २ सय अभियुक्तले लुटेका थिए । घटनापछि एटीएमबाट थप एकलाख रुपैंयाँ बैंकबाट निकालेर भएपनि दिनुपर्ने शर्त राखेपछि भाइलाई लिएर हाल फरार रहेका एकजना बिर्तामोड चोकमा आए । बिर्तामोड आएपछि पीडित युवकले अभियुक्तलाई झुक्याएर प्रहरी कार्यालयमा गएर सूचना दिएका थिए। 

प्रहरीले घटनास्थलबाट पीडित महिलाको उद्दार गर्दै दुई जना पीडकलाई पक्राउ गरेको थियो। ‘उनीहरूले हामी पुग्दा युवतीको शरिरबाट सम्पूर्ण कपडा खोलेर फोटो, भिडियो खिचेका रहेछन् ’, डिएसपी कोइरालाले भने ‘त्यो फोटो र भिडियो सामाजिक सञ्जालमा हाल्ने धम्की दिंदै मानसिक तनाव दिएर राखेका रहेछन्।’ 

यस्ता थुप्रै घटनाहरूले विगत वर्षहरुको तुलनामा झापामा यो वर्ष यौन अपराधको घटना बढेको देखाएको छ। सन् २०१६ को तुलनामा २०१७ मा १६ वर्षभन्दा मुनीका बालिकामाथि हुने अपराध दोब्बरको संख्यामा बढेको छ। सन् २०१६ मा झापा जिल्लाभर ९ जना बालिका बलात्कारको शिकार बनेका थिए। 

यो वर्ष त्यो संख्या १७ पुगेको छ । अघिल्लो वर्ष ६ जना महिला  बलात्कारबाट पीडित बनेको झापामा यसवर्ष १०  जना महिला पीडित बनेका छन् । यसलाई प्रहरीले पीडितहरु खुल्न थालेको अर्थ लगाएको छ। ‘पहिले पीडितहरु अनेक त्रासले खुल्दैनथे’, झापा प्रहरी प्रमुख केसीले भने ‘अहिले पीडकहरु धमाधम कारवाहीको दायरामा परेको, पीडितलाई राज्य तथा समाजबाट पनि संरक्षण मिल्न थालेको जस्ता कारणले पीडितहरु खुल्न थालेका छन्।’ 

प्रकाशित: २३ पुस २०७४ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App