७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

चिसोबाट कसरी बच्ने ? डा. अरुणा उप्रेतीका टिप्स

शितलहर चलेपछि वीरगञ्जमा आगो ताप्दै स्थानीय । तस्विर:नागरिक

पछिल्ला केही दिनयता राजधानी काठमाडौंसहित देशैभर अत्यधिक चिसो बढेको छ । काठमाडौंमा वायु प्रदुषणसहित चिसो बढेको छ । तराईका जिल्लाहरुमा शितलहर चलेको छ । जाजरकोटलगायतका हिमाली जिल्लाहरुमा चिसोसँगै भाइरल ज्वरोका विरामी बढेका छन् । यस्तो अवस्थामा चिसोबाट कसरी घरेलु उपायहरु अपनाएर स्वस्थ रहन सकिन्छ त ? जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका टिप्सहरुः


झोलिलो पदार्थ
चिसोमा झोलिलो पदार्थमा जोड दिनुपर्छ । तातो पानी, बेसार पानी, दुध, कालो चिया, कागती चिया, कफि तथा केहीमात्रामा दुध चिया पनि खान सकिन्छ । लगातार तातो पानी पिउने तथा वाफ लिने गर्न सकेमा चिसोबाट केहीमात्रामा सुरक्षित हुन सकिन्छ ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका टिप्सहरुः

  • झोलिलो पदार्थको सेवन अधिक मात्रामा गर्ने
  • न्यानो कपडा लगाउने
  • आगो ताप्ने
  • तेल मसाज गर्ने
  • बालबालिकालाई तेल मसाज गरिदिने
  • मर्निङ वाक नगर्ने
  • समस्या परेमा स्वास्थ्य जाँच गराउने

न्यानो कपडा 
बालबालिका, वृद्धवृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ । एकछिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ । यसर्थ न्यानो कपडा तथा टोपी निरन्तर प्रयोग गर्नुपर्छ । बालबालिकालाई उनको टोपी लगाईँदा त्यसभित्र सुतीको टोपी प्रयोग गरिदिनुपर्छ । त्यसो गर्दा उनले बिजाउने र चिलाउने कम हुन्छ ।
आगो ताप्ने 
आगो ताप्दा पनि चिसोको असर कम हुन्छ । दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिहरुले न्यानो कपडा लगाउनुका साथै आगो ताप्दा स्वास्थ्य सहजै बिग्रिन सक्दैन ।
तेल मसाज 
चिसो समयमा शरिरका विभिन्न भागहरु दुख्ने, झमझमाउने जस्ता समस्याहरु हुन सक्छन् । तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाई कम गर्छ । सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ ।
बालबालिकालाई तेल मसाज 
चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्वपूर्ण कुरा हो । चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरु देखापर्न सक्छन् । त्यसलाई कम गर्न तेल मसाज महत्वपूर्ण उपाय बन्न सक्छ । साथै बालबालिकालाई न्यानो कपडा उत्तिकै महत्वपूर्ण हुन्छ । तर धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा फेरि पनि निमोनियाको डर हुने भएकाले घाम लाग्दै जाँदा शरिरमा भएका न्यानो कपडाहरुको संख्या घटाउने तथा बेलाबेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने काम गर्नुपर्दछ । पसिना आएमा कपडा फेरीदिनुपर्छ ।
मर्निङ वाक नगर्ने
खासगरी काठमाडौंमा मर्निङवाक गर्नेहरु सचेत हुनुपर्छ । यहाँको वातावरण निकै प्रदुषित भएकाले चिसो समयमा मर्निङवाक गर्दा यसको नकारात्मक असरले विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने सम्भावना रहन्छन् । यसका कारण विहानको समयमा दौडिँदा ध्यान दिनुपर्ने अवस्था रहेको छ ।
स्वास्थ्य जाँच 
चिसोबाट घरेलुरुपमा बच्ने कोशिष गर्दा उपलब्धि नभएमा, रुघासँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । प्रस्तुतिः रविन्द्र सुवेदी

डा‍.उप्रेतीसँगको कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

प्रकाशित: २३ पुस २०७४ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App