६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

अाच्छु कस्ताे जाडाे (फाेटाे फिचर)

काठमाडौं – राजधानी लगायत देशभर कै तापक्रम कम भइरहँदा काठमाडाैँकाे तापक्रम शून्य  डिग्री सेल्सियस पुगेकाे छ। 

आइतबार बिहान राजधानीको न्यूनतम तापक्रम शून्य डिग्री पुगेको थियो । उपत्यकासहित देशभरकै तापक्रम केही दिनसम्म न्यूनतम नै रहने माैसम पूर्वानुमान शाखाले जनाएकाे छ । ‘हाम्रोले तीन दिनको अनुमान निकाल्ने हुँदा काठमाडौंको तापक्रम शून्यदेखि २ डिग्रीसम्म रहनेछ । छोटो दिन भएकाले दिउँसो कम घाम लाग्ने र राति आकाश खुला हुनाले तापक्रम अझ घट्नेछ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालले भने,‘मध्य जाडो हट्न अझ एक साता लाग्ने हुँदा मौसम सुधार हुने सम्भावना न्यून छ। पश्चिमतिरबाट आउने हावाले वायुलाई असर गर्ने हो ।’ उनका अनुसार गत वर्ष काठमाडौंको तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म रहेको थियो।

अत्यधिक जाडो बढेसँग राजधानीवासीको जनजीवन प्रभावित बनेको छ । कालिमाटी तरकारी तथा फलफूल बिक्री केन्द्रबाट तरकारी खरिद गरेर तरकारी बिक्री गर्दै आएकी कान्छीमाया तामाङका अनुसार अत्यधिक जाडोका कारण व्यवसाय प्रभावित बनेको छ ।‘कठ्यांग्रिदो जाडोमा बिहानै उठेर कालिमाटी पुगेर तरकारी खरिद गरेर बिक्री गर्न गाह्राे भएको छ । जाडोले गर्दा ग्राहकहरू तरकारी किन्न एकदम कम आउने गरेका छन् । केही साताअघि बिहानै सबै तरकारीहरु बिक्री भइसक्थ्याे । अहिले दिउँसोसम्मपनि बिहानको तरकारी बिक्री भइसकेको हुन्न,’उनले भनिन्।

यता धरहरा क्षेत्रमा जाडोको कपडा बिक्री गर्ने व्यापारीहरुलाई भने भ्याइनभ्याई हुने गरेको छ । ‘एक्कासी जाडो बढेपछि बाक्लो ज्याकेट, मोजा र टोपी लगायत कपडाहरूको बिक्री बढेको छ। सस्तो मूल्यमा बाक्लो ज्याकेट र मोजा किन्न आउने ग्राहकहरूको भिडसँग व्यापार फस्टाएको छ,’धरहरास्थित गोश्वारा हुलाक कार्यालयसँगैको फुटपाथमा व्यापार गर्ने प्रवण मिश्राले भने । उनले चार सयदेखि एक हजारसम्म मूल्यका बाक्लो ज्याकेटहरू बिक्री गरिरहेका छन्।

त्यस्तै तराई क्षेत्रमा भने बाक्लो हुस्सुको कारण जनजीवन प्रभावित छ। राजधानीबाट तराईका विभिन्न जिल्लामा छुट्ने र आउने ठूला तथा साना सवारी चलाउन समेत कठिनाइ रहेको सवारी चालक बताउँछन् । काठमाडौं–विराटनगर रुटका रात्री बस चालक साँइला आलेका अनुसार अत्यधिक चिसोले सवारी चलाउन समस्या भएको प्रतिक्रिया दिएका छन् । ‘दिउँसोको तुलनामा राति बाल्लो हुस्सुको कारण बस चलाउन समस्या भएको छ। त्यसमाथि कठ्याग्रिने जाडोले बसमा यात्रा गर्न सबैलाई समस्या भएको छ,’उनले भने। सामान्य १२ घण्टामा विराटनगरदेखि काठमाडौं पुग्ने गरेका उनी जाडोले गर्दा १५ घण्टामा काठमाडौं पुग्ने बताउँछन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App