coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

काठमाडौं- उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाको टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।
सम्झौताअनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो । यो आयोजनाको निर्माण ठेक्का सिएमसीले पाएको छ ।

इटालियन निर्माण कम्पनीलाई उपकरणलगायत समान किन्न वित्तीय संकट भएको बहाना देखाएर २६ करोड अतिरिक्त भुक्तानी दिइएको हो । यसले राज्यलाई करोडौ रुपैयाँ व्यवभार थपिएको छ ।

कानुनी छिद्रको फाइदा उठाउँदै मेलम्ची खानेपानी विकास समिति, खानेपानी तथा सरसफाइ मन्त्रालयका उच्च अधिकारीसमेतको चलखेलमा निर्माण कम्पनीलाई उपकरणलगायत समान किन्न वित्तीय संकट भएको बहाना देखाएर भुक्तानी दिइएको हो । यसले राज्यलाई करोडौ रुपैयाँ व्यवभार थपिएको छ ।
सुरुङ खन्ने र हेडवक्र्समा ९० प्रतिशत भौतिक प्रगति भएको बताउँदै आएको मेलम्ची खानेपानी विकास समितिले ९३ प्रतिशत रकम भुक्तानी दिइसकेको छ । टनेल र हेडवक्र्स निर्माण सात अर्ब ७२ करोड रुपैयाँको परियोजना हो ।
कम्पनीले वित्तीय संकट भएको भन्दै उपकरण खरिद गर्दा सात अर्ब २१ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । ९० प्रतिशत काम सम्पन्न हुँदा कुल लागतको ९० प्रतिशत ६ अर्ब ९४ करोड ८० लाख रुपैयाँ मात्र भुक्तानी दिनुपर्ने हो ।
निर्माण कम्पनीले वित्तीय समस्या देखाएर उपकरण खरिद गर्न थप रकम भुक्तानी लिएको समितिका प्रवक्ता राजेन्द्रराज पन्तले स्वीकारे । ‘टनेल निर्माण र हेडवक्र्सको काम करिब ९० प्रतिशतमात्र सम्पन्न भएको छ,’ पन्तले भने, ‘सात अर्ब २१ करोड रुपैयाँ भुक्तानी दिएका छौं ।’ काम सम्पन्न नभई किन भुक्तानी दिइयो त भन्ने जिज्ञासामा पन्तले भने, ‘कम्पनीले उपकरण खरिदमा समस्या भयो भनेपछि थप रकम दिइएको हो ।’
मोबिलाइजेसनका लागि कम्पनीले आयोजना सुरु गर्दा लिएको एक अर्ब ५४ करोड रुपैयाँमध्ये एक अर्ब रुपैयाँमात्र घटाएको छ । ९० प्रतिशत भुक्तानी हुँदा पूरै मोबिलाइजेसन रकम घटाउनुपर्ने भए पनि अझै ५४ करोड रुपैयाँ बाँकी छ । ‘निर्माण कम्पनीले मोबिलाइजेसनको एक अर्ब रुपैयाँमात्र घटाएको छ,’ पन्तले भने, ‘सबै रकम घटाउनुपर्ने भए पनि कार्यान्वनयमा आएको छैन ।’
२७.४ किलोमिटर टनेलमध्ये करिब चार सय ४० मिटर सुरुङ खन्ने काम बाँकी रहेको आयोजना प्रमुख रामचन्द्र देवकाटाले बताए । ‘खनेको सुरुङमध्ये तीन किलोमिटरमात्र फिनिसिङ भएको छ,’ देवकोटाले भने, ‘हेडवक्र्सको काम भर्खर सुरु भएको छ ।’ सुरुङमा तीन किलोमिटरमात्र फिनिसिङ गरेको छ ।
सन् २०१३ जुलाईमा सुरु भएको सो आयोजना निर्धारित समयमा सम्पन्न नभएपछि २६ मार्च २०१८ सम्मका लागि समय थप गरिएको छ । मुख्य हेडवक्र्स स्ट्रक्चर निर्माण काम बाँकी छ । हेडवक्र्स निर्माण लागत करिब ६५ करोड रुपैयाँ छ । टनेल फिनिसिङ र हेडवक्र्सको काम बाँकी रहेको पन्तले बताए । ‘समग्रमा १० प्रतिशत काम बाँकी छ,’ पन्तले भने, ‘तीन महिनमा बाँकी टनेल निर्माण गर्ने योजना छ ।’
आयोजना सम्पन्न गर्न अझै करिब डेढ वर्ष लाग्ने एक कन्सल्टेन्टले बताए । अम्बाथान–ग्याल्थुम खण्डमा निर्माणाधीन सुरुङको निर्माण कार्य (ब्रेक थू्र) भएको छ ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७ दशमलब ५ किमी सुरुङमध्ये अब ग्याल्थुमदेखि सिन्धु खण्डमा बाँकी रहेको चार सय ४० मिटर सुरुङ निर्माण काम अघि बढेको छ । सुरुङ खनेपछि भित्तो ढलान गर्ने काम भइरहेको छ ।
निर्माण कम्पनीले समितिसँग ५८ करोड रुपैयाँ थप क्षतिपूर्तिसमेत माग गरेको थियो । समितिले ठेकेदार कम्पनीलाई हेडवक्र्स बनाउन आवश्यक डिजाइन समयमा उपलब्ध नगराएको भन्दै अन्तर्राष्ट्रिय स्तरको डिस्प्युट एडजुडिकेसन बोर्ड (डिएबी) मा  उजुरी गरेपछि उक्त रकम दिन निर्देशन दिएको थियो ।
निर्माण कम्पनीले विभिन्न बहाना देखाएर समयमै काम नगर्दा समस्या भएको आयोजनाका एक परामर्शदाताले बताए । आयोजनालाई  दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । दुई खण्डमा विभाजन गरेर काम भइरहेको आयोजनामा अहिलेसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । परियोजनाको  ९२ प्रतिशत भौतिक प्रगति भएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर दिनेश अधिकारीले बताए । सुरुङ बनाउने काम ९८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । आयोजनाबाट १७ करोड लिटर पानी राजधानी ल्याउने लक्ष्य छ । साढे आठ करोड लिटर पानी ट्रिटमेन्ट प्लान्ट निर्माण भइसकेको छ भने अर्को त्यत्तिकै क्षमताको ट्रिटमेन्ट प्लान्टको काम बाँकी छ । आयोजनाले काठमाडौंमा पाइप बिछ्याउने काम पनि गरिरहेको छ ।

प्रकाशित: २४ पुस २०७४ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App