काठमाडौं- कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्धनिर्देशक कैलाश सिरोहिया र थाहा मिडियाका सञ्चालक अजयराज सुमार्मीबीच गम्भीर विवाद देखिएको छ ।
थाहा मिडियाको सञ्चालकसमेत रहेका मुक्तिश्री सिमेन्ट प्रालिका अध्यक्ष अजय सुमार्गीले कान्तिपुर प्रकाशन प्रालिविरुद्ध २५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।
थाहा मिडियाको सञ्चालकसमेत रहेका मुक्तिश्री सिमेन्ट प्रालिका अध्यक्ष सुमार्गीले कान्तिपुर प्रकाशन प्रालिविरुद्ध २५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा आइतबार गाली बेइज्जती मुद्दा दायर गरेका छन् । उनले कान्तिपुर पब्लिकेसनका प्रकाशनले लगातार आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउनेगरी समाचार प्रकाशन गरेबाट भएको आफ्नो व्यावसायिक हानीबापत उक्त रकम भराई पाउन माग गरेका छन् । यसअघि नै सुमार्गीले आफूलाई सिरोहियाले धम्की दिएको भन्दै काठमाडौंं जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा माग गरी निवेदन दर्ता गराइसकेका छन् ।
गाली बेइज्जती मुद्दामा सुमार्गीले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र प्रधान सम्पादक सुधीर शर्मालाई विपक्षी बनाएका छन् । एक दशकअघि सिरोहियासँग आफ्नो चिनजान भई व्यावसायिक सम्बन्ध सुरु भएको सुमार्गीले जनाएका छन् । त्यसै क्रममा आफ्नो आर्थिक अवस्था कठिन रहेको भन्दै सिरोहियाले काठमाडौं महानगरपालिका वडा नंं. १० स्थित कित्ता नं. ३१८ को नौ रापनी चार आना जग्गा किनिदिन अनुरोध गरेपछि आफूले उक्त जग्गा किनेको र त्यसपछि सम्बन्ध बिग्रन थालेको सुमार्गीले मुद्दामा उल्लेख गरेका छन् ।
आफूले उक्त जग्गा २३ करोड २१ लाख १२ हजार रुपैयाँमा किनेको दाबी सुमार्गीले गरेका छन् । पछि सिरोहियाले जग्गा फिर्ता मागेको तर आफूले किनेको मोलमा दिन नसक्ने बताएको सुमार्गीले उल्लेख गरेका छन् । त्यसपछि सिरोहिया आफूविरुद्ध लागेको र व्यवस्थित ढंगले आफूलाई ब्ल्याकमेल गर्न कान्तिपुर दैनिक, द काठमान्डु पोस्ट र टेलिभिजनमा आफ्नो विरुद्ध प्रचार गरेको सुमार्गीको दाबी छ ।
कान्तिपुरको पुस ९ को अंकमा ‘सुमार्गीको २२ अर्ब अवैध’ शीर्षकमा प्रकाशित समाचार कपोलकल्पित र आफूलाई बदनाम गर्न प्रकाशन गरिएको दाबी सुमार्गीको छ । ‘विपक्षीमध्येका कैलाशप्रसाद सिरोहियाले आर्थिक सौदाबाजी गरी मबाट अनुचित लाभ लिने नियत राखी कान्तिपुर मिडियाअन्तर्गत रहेका विपक्षीहरुसहितले मेरो इज्जतमा धक्का पु¥याउने नियतले जानीजानी मेरो व्यावसायिक तथा सामाजिक शाख मानमर्दन गर्ने, नेपाली जनता, नेपाल सरकार र सरकारी निकायमा कार्यरत कर्मचारीहरु र अन्तर्राष्ट्रिय छवि एवं सहकर्मीबीच रहेको मेरो मानप्रतिष्ठामा आँच पु¥याउने र सार्वजनिक रुपमा आक्षेप लगाउने कार्यबाट मेरो व्यक्तिगत चरित्रहत्या भएको छ,’ सुमार्गीको फिरादपत्रमा भनिएको छ ।
विपक्षीहरुले आफ्नो बेइज्जती गरी गाली बेइज्जती ऐन, २०१६ को दफा ३ द्वारा परिभाषित कसुर गरेको हँुदा विपक्षी कान्तिपुर पब्लिकेसन्स प्रालि, कैलाशप्रसाद सिरोहिया, स्वस्तिका सिरोहिया तथा प्रधानसम्पादक सुधीर शर्मालाई सोही ऐनको दफा ५ बमोजिम हदैसम्म सजाय गर्न पनि माग गरिएको छ ।
‘विपक्षीले मलाई गरेको गाली बेइज्जतीबाट मेरा उद्योगहरुमा नकारात्मक असर पुग्न गएको, वैदेशिक लगानी आउने वातावरण अवरुद्ध भई मैले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण र त्यसको ब्याज भुक्तानीमा करोडौं रुपैयाँ खर्च हुनुका साथै वैदेशिक लगानीकर्ताहरुमा समेत नकारात्मक सन्देश पुग्न गएकोेले घाटा नोक्सानी बेहोर्नुपरेकोले विपक्षीहरुबाट दफा १२ बमोजिम २५ करोड क्षतिपूर्ति भराई पाऊ’, फिरादपत्रमा माग गरिएको छ ।
प्रकाशित: २४ पुस २०७४ ०३:३१ सोमबार