१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

संकटालाई गोलकिपरको प्रेरणा

धनगढी- धरान फुटबल क्लबमाथि पेनाल्टी सुटआउटमा जित हासिल गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको टोली सिएमजी संकटाले आइतबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकप प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि निर्णयार्थ खेल टाई–ब्रेकरमा धकेलिएको थियो । टाई–ब्रेकरका पनि पाँच÷पाँच पेनाल्टीमा निर्णय आउन नसकेपछि खेल सडनडेथमा पुगेको थियो । सातौं पेनाल्टीमा संकटाले सफलता हासिल ग¥यो ।
कैलालीको धनगढी रंगशालामा पहिलो हाफमै पाएको पेनाल्टीमा गोल गर्न नसक्नुको मुल्य पूर्वाञ्चलदेखि सुदूर पश्चिमाञ्चलको यात्रा गरेको धरानले पहिलो खेलबाटै बाहिरिएर चुकायो । २६औं मिनेटमा प्राप्त पेनाल्टीमा प्रकाश बुढाथोकीले खेर फालेका थिए । प्रकाशको पेनाल्टी संकटाका गोलकिपर विनय श्रेष्ठले बचाएका थिए । यसवाहेक पनि निर्धारित समयमा धरानले गोलका लागि झण्डै दर्जन सुनौला मौका पाएको थियो । तर कुनैमा पनि धरानका फरवार्डहरु सफल भएनन् ।
टाई–ब्रेकरका पहिलो पाँच पेनाल्टीमा खेल ३–३ को बराबरी भएका थिए । त्यसपछि सडनडेथमा संकटाले लगातार गोल गर्दा धरानको सातौं प्रहार असफल भएको थियो । सडनडेथमा पनि विनयले पेनाल्टी जोगाएर संकटालाई क्वार्टरफाइनल पु¥याए । दुईवटा पेनाल्टी जोगाएका विनय खप्तड मेडिकल स्टडिज एन्ड हेल्थ साइन्स म्यान अफ दी म्याच भए । म्यान अफ दी म्याच भएवापत उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
पेनाल्टी सुउआउटमा संकटाका अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सुजित थापा अभिशेष रिजालले गोल गर्दा सुसिल लामा र भुष सुव्वाको प्रहार धरानका गोलरक्षक रोशन खड्काले वचाएका थिए । धरानका लागि वर्तमान राई, रोमन लिम्वु, सुरज विक र प्रकाश वुढाथोकीले पेनाल्टीमा गोल गर्दा संजय राई र रोशन खड्काको प्रहार संकटाका गोलरक्षक विनयले वचाए । सुवोश शाहीको प्रहार पोस्टभन्दा बाहिरबाट गयो ।
जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा आफ्नो टीम दबाबमा रहेको स्विकारे । लामो यात्रा गर्दा खेल्न केही समस्या भए पनि दोस्रो हाफमा राम्रो खेल्न सकेका कारण जितेको उनको भनाई थियो । धरान फुटबल क्लवका प्रशिक्षक अशोक राईले सोचे अनुसारकै प्रदर्शन गरे पनि मैदानवारे जानकारी नभएका कारण नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए ।
प्रतियोगितामा सोमबार दुई वर्षअघि भएको राष्ट्रिय लिगका प्रतिद्वन्द्वीहरु ललितपुरको रुस्लान थ्री स्टार क्लब र झापाको झापा ११बीच खेल हुनेछ । एन्फाको गल्तीका कारण छनोट चरण पार गरे पनि एएफसी कपको प्लेअफ खेल्न नपाएका कारण लामो समय कुनै पनि प्रतियोगिता नखेलेको थ्री स्टार झण्डै डेढ वर्षपछि मैदान फर्किन लागेको हो । पहिलो चरणको छनोट प्रतियोगिता पार गरे पनि एन्फाले समयमा टिम दर्ता नगराएका कारण थ्री स्टार गतवर्षको एएफसी कप प्लेअफ खेल्नबाट बञ्चित भएको थियो । त्यसकै कारण टोलीले दोषीमाथि कार्वाही र उचित क्षतिपूर्ति नपाएसम्म फुटबल नखेल्ने निर्णय गरेको थियो । एन्फाले केही महिनाअघि डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेपछि थ्री स्टार खप्तड गोल्डकपमार्फत फेरी मैदान फर्किन लागेको हो ।

प्रकाशित: २४ पुस २०७४ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App