coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दाङ– काठमाडौं हवाई सेवा सुरु

आइतबार दाङ–काठमाडौं पहिलो उडान भरेको समिट एयरको जहाज ।

दाङ – दाङस्थित टरिगाउँ विमानस्थलबाट आइतबारदेखि दाङ–काठमाडौं हवाई उडान सेवा सुरु भएको छ । पटक पटक उडान बन्द हुँदै आएको उक्त विमानस्थलमा आइतबारदेखि समिट एयरले काठमाडौंका लागि उडान भर्न सुरु गरेको हो । 

आइतबार दिउँसो एक बजेतिर समिट एयरको १८ सिटे विमान टरिगाउँ विमानस्थलमा अवतरण भएको हो । यो उडानलाई समिट एयरलाइन्सले नियमित उडान भनेको छ । समिट एयरले दाङ–काठमाडौंका लागि सातामा दुई दिन उडान भर्ने भएको छ । प्रत्येक हप्ताको आइतबार र शुक्रबार व्यावसायिक उडान भर्ने एयरलाइन्सका निर्देशक मनोज कार्कीले जानकारी दिए । 

दाङबाट काठमाडौंका लागि ६ हजार आठ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ भने काठमाडौंबाट दाङका लागि सात हजार दुई सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । उडान बन्द भएको तीन वर्षपछि आइतबारदेखि यो विमानस्थलबाट फेरि उडान सुरु भएको हो । 

२०७१ मा गोमा एयरले उडान भरेको भएपनि विविध कारणले त्यसले निरन्तरता पाउन सकेन । सानो जहाज मात्रै अहिले उडान गर्न सकिने र नियमित उडान भएको खण्डमा तथा ठूला जहाज उडान भर्न सकिने अवस्थामा भाडा पनि कम हुने एयरलाइन्सले जनाएको छ ।  

अब दाङ–काठमाडौं उडान नियमित हुने सर्वसाधारणले अपेक्षा गरेका छन् । यहाँबाट उडान नहुँदा हवाई यात्राका लागि नेपालगन्ज वा भैरहवा पुग्नुपर्ने बाध्यता थियो । तुलसीपुर उपमहानगरपालिकाको विशेष पहलमा समिट एयरलाइन्स उडान भर्न सहमत भएको हो । आइतबार पहिलो उडान भरेको समिट एयरको जहाजलाई स्वागत गर्नेहरुको विमानस्थलमा भीड नै लागेको थियो । स्थानीयले बाजागाजासहित विमान कम्पनीका पदाधिकारी, विमान चालक तथा यात्रुलाई  स्वागत गरेका थिए ।

यो विमानस्थल पहिलोपटक २०११ मा सञ्चालनमा आएको थियो । त्यो बेलादेखि सुरु भएको हवाई उडान ०४२ सम्म नियमित सञ्चालन भएको थियो । ०४२ देखि बन्द भएको उडान ०६० सम्म ठप्पै रह्यो । ०६० देखि पुनः सञ्चालन भएको उडान ६ वर्षसम्म सञ्चालन भयो । ०६६ देखि पुनः बन्द भएको हवाई सेवा ०७१ सम्म बन्द रह्यो । ०७१ देखि गोमा एयरले झन्डै एक वर्षसम्म उडान भरेर बन्द गरेको थियो । 

धावन मार्ग कच्ची हुनु र इन्धन डिपोको व्यवस्था नभएको कारण देखाउँदै विमान कम्पनीहरुले उडान बन्द गर्दै आएका थिए । नियमित उडानका लागि पाँच वर्षअघि यो विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । तर विमानस्थलको कालोपत्रे भएको धावन मार्गमा ठूला जहाज भने अवतरण हुन सक्दैनन् । इन्धन आपूर्ति र यात्रुका लागि तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गर्न जिम्मा लिएपछि समिट एयर उडान भर्न सहमत भएको हो । 


 

  

प्रकाशित: २४ पुस २०७४ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App