coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

थ्री स्टारको सुखद पुनरागमन

धनगढी – बुद्ध चेम्जोङले दुई गोल गरेपछि झन्डै डेढ वर्षपछि मैदानमा पुनरागमन जनाएको रुस्लान थ्री स्टार क्लबले सोमबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकपमा सुखद सुरुआत गरेको छ ।

धनगढी रंगशालामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा थ्री स्टारले राष्ट्रिय लिगको प्रतिद्वन्द्वी झापा ११ माथि ३–१ को सहज नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का ग¥यो । ९ मिनेटको बीचमा चार गोल वर्षा भएको खेलमा अफ्रिकी खेलाडी मार्टिन अजायीले ३४औं मिनेटमा ललितपुरे टोलीलाई अग्रता दिलाएका थिए । विपक्षी गोलकिपर किशोर गिरी पोजिसनमा नभएको मौका छोप्दै अजायीले थ्री स्टारलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि बुद्धले व्यक्तिगत गोलको खाता खोल्दै अग्रता दोब्बर पारे । तर ४१औं मिनेटमा झापाका लागि कर्ण चेम्जोङले गोल गर्दै पुनरागमनको संकेत गरे । जुन बुद्धले ४३औं मिनेटमा गोल गरेपछि असफल भएको थियो ।

मध्यान्तरपछि दुवै टोलीले गोलका थुप्रै अवसर पाए पनि गोल गर्न सकेनन् । लामो समयपछि मैदान फर्किएको थ्री स्टारको जितमा दुई गोलको योगदान गरेका बुद्ध खेलको म्यान अफ दी म्याच घोषित भए । उनले त्यसबापत पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्राप्त गरे ।

सेमिफाइनल प्रवेशका लागि थ्री स्टारले बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा मंगलबार भुटानको ड्रुक स्टार र अग्नि रूपन्देहीबीच हुने आयोजकले जनाएको छ ।

छनोट प्रतियोगितामा सफलता हासिल गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा) को  गल्तीका कारण गत वर्षको एएफसी कपको प्लेअफ खेल्न नपाएपछि थ्री स्टारले आन्दोलनस्वरूप कुनै पनि फुटबल प्रतियोगितामा सहभागिता जनाएको थिएन । एसियाली फुटबल महासंघ (एएफसी)ले बारम्बार टिम दर्ता गराउन पत्राचार गर्दा पनि एन्फाले थ्री स्टारको नम दर्ता नगराएका कारण टोली प्लेअफ खेल्नबाट वञ्चित भएको थियो ।

एएफसी कपको प्लेअफ खेल्न नपाएपछि थ्री स्टारले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै सबैखाले फुटबल गतिविधि बहिष्कार गर्दै आएको थियो । केही महिनाअघि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपूर्ति तिर्ने भन्दै एन्फा, क्लब र राष्ट्रिय खेलकुद परिषद्बीच सहमति भएपछि थ्री स्टार फेरि फुटबलमा फर्केको हो ।

प्रकाशित: २५ पुस २०७४ ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App