coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सडकमै पोखे किसानले दूध

कैलालीको लम्की चौराहामा दूध पोखेर विरोध जनाउँदै किसान ।

टीकापुर – दुग्ध विकास संस्थानले दूध खरिद नगरेको भन्दै लम्कीका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् । लम्की चौराहामा ५० लिटर दूध पोखेर किसानले सांकेतिक विरोध जनाएका हुन् । लम्कीस्थित संस्थानको चिस्यान केन्द्रले पुस १६ गतेदेखि दूध खरिद गर्न रोकेको छ । कात्तिकदेखि नै चिस्यान केन्द्रले दूध खरिदमा आनाकानी गर्दै आएको किसान इन्द्र देवकोटाले बताए । उनले संस्थानले दूध खरिद नगरेपछि आफूहरु निकै मर्कामा परेको गुनासो गरे ।

‘ऋण लिएर भैंसीपालन गर्दै आएका छौं,’ किसान देवकोटाले भने, ‘दूध नै बिक्री भएन भने कसरी ऋण तिर्ने ? कसरी घरपरिवार चलाउने ?’

यो समस्या देवकोटाको मात्रै हैन । लम्की, बौनिया, प्रतापपुर, चुहा, पथरैया लगायत क्षेत्रका सयौं किसानले यस्तै समस्या भोग्दै आएका छन् । उनीहरुले दूध बिक्री नहुँदा आर्थिक क्षति बेहोर्नु परेको दुःखेसो पोखेका छन् । लम्कीस्थित चिस्यान केन्द्रका प्रमुख किरन गिरीले ढुवानीमा समस्या भएका कारण दूध खरिद रोक्नु परेको बताए । उनले दूध ढुवानी गर्ने एउटा मात्रै ट्यांकर भएकाले समस्या उत्पन्न भएको जनाए ।

‘हामीसँग एउटा मात्रै ट्यांकर छ । त्यो ट्यांकरले काठमाडौं र पोखरासम्म दूध पु¥याउनु पर्छ,’ उनले भने, ‘यही कारण हामीले किसानको दूध खरिद गर्न सकेका छैनौं ।’

संस्थानले अत्तरियास्थित धनगढी दुग्ध आयोजनाका लागि ४६ सय लिटर क्षमताको एउटा मात्रै ट्यांकर उपलब्ध गराएको छ । जुन ट्यांकरले प्रदेश नं. ७ का सबै जिल्लाको दूध संकलन गर्नुपर्ने बाध्यता छ । अत्तरियाले दैनिक १३ देखि १५ हजार लिटर दूध संकलन गर्छ । जसमध्ये ६ देखि सात हजार लिटर मात्रै स्थानीयस्तरमा खपत हुन्छ । बाँकी रहेको दूध काठमाडौं, पोखरा लगायत सहरमा ढुवानी गरिन्छ ।

लम्कीमा संकलन भएको दूधसमेत सोही ट्यांकरमार्फत ढुवानी गर्नुपर्ने बाध्यता छ । लम्कीमा दैनिक दुई हजार लिटर दूध संकलन हुन्छ । जसमध्ये स्थानीयस्तरमा सातदेखि आठ सय लिटरमात्रै खपत हुने गरेको छ ।
बचेको दूध अन्यत्र ढुवानी गर्न नसक्दा समस्या आएको चिस्यान केन्द्रका प्रमुख गिरीले बताए । उनले आफूसँग दूध स्टोर गरेर राख्ने क्षमतासमेत नभएको बताए । लम्कीमा एक हजार लिटर दूध संकलन क्षमता रहेपनि हाल ३५ सय लिटर दूध मौज्दात रहेको छ ।

‘हामीसँग पर्याप्त दूध छ । मौज्दात रहेको दूध अन्यत्र पठाउन सकेका छैनौं,’ प्रमुख गिरीले भने, ‘यस्तो अवस्थामा दूध खरिद गरेर राख्नसक्ने अवस्था छैन ।’

राज्यका निकायले सुदूरपश्चिमलाई विभेद गरेको किसानले आरोप लगाएका छन् । उनीहरुले दूध संकलन कम हुने ठाउँमा पर्याप्त मात्रामा ट्यांकर हुनु र सुदूरपश्चिममा एउटा मात्रै ट्यांकर हुनु राज्यका निकायको विभेद भएको बताए । किसानका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा मात्रै दैनिक १२ देखि १४ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

किसानले स्वदेशमा उत्पादन भएको दूध खरिद नगरेर संस्थानले भारतीय दूध खरिद गर्ने गरेको आरोप लगाए । किसानका अनुसार संस्थानका कर्मचारीले कमिसनका आधारमा भारतको बिहारबाट दूध खरिद गर्ने गरेका छन् । संस्थानका कर्मचारी र दूध दलालका कारण स्वदेशी किसान मारमा परेको किसानको भनाइ छ ।

‘हामीसँग पर्याप्त दूध छ तर संस्थानले भारतको बिहारबाट दैनिक ४० हजार लिटर दूध खरिद गर्छ,’ एक किसानले भने, ‘यो सरासर स्वदेशी किसानलाई मार्ने षडयन्त्र हो ।’

किसानले सहज ढंगले दूध खरिद नभए संस्थानविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले स्वदेशमै दूध खरिद गर्नेतर्फ राज्यले संस्थानलाई दबाब दिन समेत माग गरेका छन् ।


 

प्रकाशित: २५ पुस २०७४ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App