१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भुटानको यात्रामा पूर्णविराम

भुटानको डुकस्टार युथ क्लबविरुद्ध गोल गरेपछि रुपन्देही ११ का अमर डंगोल ।

धनगढी – पाहुना टोली भुटानको ड्रुक स्टार युथ क्लबको नेपाल यात्रा पहिलो खेलमै टुंगाउँदै अग्नि रूपन्देही ११ ले मंगलबार नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

धनगढी रंगशालामा रूपन्देहीले भुटानको यात्रामा ३–२ को नतिजाका साथ पूर्णविराम लगाएको थियो । अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा लामो यात्रा गरेर धनगढी आइपुगेको भुटाने टोली पहिलो खेलबाटै घर फर्किनुपरेको थियो । रूपन्देहीले भने शुक्रबार हुने क्वार्टरफाइनलमा साबिक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । १२ टोली सहभागी प्रतियोगिताको अन्तिम १६ मा बाइ पाएर मनाङ सोझै क्वार्टरफाइनल पुगेको टोली हो ।

‘यो टोलीमा भुटानका राष्ट्रिय खेलाडी पनि छन् । तर त्योअनुसार खेल्न नसकेपछि हार भोग्नु प¥यो ।’

रूपन्देहीको जितमा दुई गोल गरेका अमर डंगोलले २२औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा अमरले दोस्रो व्यक्तिगत गोल गर्दै रूपन्देहीको अग्रता पहिलो हाफमै दोब्बर पारे ।
भुटानका कुएन्गा रबगाएले रूपन्देहीका रक्षकहरूको गल्तीमा फाइदा उठाउँदै गोल गरेर ५८औं मिनेटमा पुनरागमनको संकेत गरेका थिए । तर त्यसको ११ मिनेटपछि वैकल्पिक खेलाडी मनीष थापाले गोल गरेपछि रूपन्देही पुनः अग्रता फराकिलो पार्दै ३–१ ले अघि बढ्यो ।

समय सकिन एक मिनेट बाँकी रहँदा भुटानले गोलको सुनौलो मौका पाएको थियो । तर खेल सकिनै लाग्दा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न पाहुना टोली असफल रहयो । रूपन्देहीका गौतम श्रेष्ठले विपक्षी टोलीका फरवार्डलाई लडाएपछि फिफा रेफ्री श्रवण लामाले भुटानलाई पेनाल्टीको अवसर दिएका थिए । भुटानका केजङ वाङ्दीको पेनाल्टी जोगाएर रूपन्देहीका गोलकिपर सोजित गुरुङले टोलीको अन्तिम आठ यात्रामा योगदान गरेका थिए । जसका कारण इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरे पनि पुनरागमनका लागि त्यो पर्याप्त भएन । येशी दोर्जीले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोल सान्त्वनामा सीमित भयो ।

रूपन्देहीको जितमा दुई गोल गरेका अमर खेलको म्यान अफ दी म्याच भए । उनले पुरस्कारस्वरूप नगद १० हजार रुपैयाँ पाए ।

भुटानी टोलीका प्रशिक्षक कोता नाम्गेले गत वर्षको तुलनामा यसपालि बलियो टोली लिएर धनगढी यात्रामा निस्किए पनि नतिजा त्यसअनुसार आउन नसकेको प्रतिक्रिया दिए । ‘यसपालि पोहोरभन्दा राम्रो टिम ल्याएका थियौं । तर केटाहरूले खेल्न सकेनन् । दोस्रो हाफमा हामीले केही सुधारिएको प्रदर्शन गरेका थियौं । त्यहीअनुसार एकदमै प्रेसर पनि दिएको हो । तर गोल गर्न सकिएन,’ नाम्गेले खेलपछि भने, ‘यो टोलीमा भुटानका राष्ट्रिय खेलाडी पनि छन् । तर त्योअनुसार खेल्न नसकेपछि हार भोग्नुप¥यो ।’

गत वर्ष प्रतियोगिताको पहिलो संस्करणमा भुटानी टोलीले एक खेल जितेको थियो । पहिलो खेलमा वेस्ट काठमाडौंमाथि ४–१ को जित हासिल गरेको टोली दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० ले पराजित भएको थियो । गत वर्षको प्रतियोगिता मनाङले नै जितेको थियो ।

विजयी रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले स्तरअनुसारको प्रदर्शन नभए पनि जितमा सन्तुष्टि जनाए । ‘हाम्रो टोलीमा रहेका खेलाडी राम्रै हुन् । तर कसैले पनि आफ्नो स्वाभाविक खेल खेल्न सकेन । जित महत्वपूर्ण कुरा हो । त्यो पाइयो । तर आजको प्रदर्शन औसत थियो,’ सापकोटाले भने, ‘गोलकिपरको गल्तीमा दुई गोल खायौं । आगामी खेलमा आजको जस्तो गल्ती गर्ने छुट हामीसँग हुने छैन । आउँदा दिनमा गल्ती सुधार्दै प्रस्तुत हुनेछौं ।’

प्रतियोगितामा बुधबारबाट अन्तिम आठका खेल सुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा बुधबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले शहिद स्मारक ‘ए’ डिभिजन लिगको प्रतिद्वन्द्वी सिएमजी क्लब संकटासँग खेल्नेछ ।


 

 

प्रकाशित: २६ पुस २०७४ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App