८ वैशाख २०८१ शनिबार
अर्थ

तत्काल थप रकम नदिए भेरी–बबईको काम प्रभावित हुने

काठमाडौं – सरकारले तत्काल थप बजेट व्यवस्थापन नगरे भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम प्रभावित हुने भएको छ ।

राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले चालु आर्थिक वर्षको बजेटमा ८८ करोड रूपैयाँ छुट्ट्याएको छ । यसमा ६७ करोड रूपैयाँ पुँजीगततर्फको बजेट हो । आयोजनाले बजेट अपुग हुने भन्दै यही आवका लागि थप चार अर्ब रूपैयाँ मागेको छ । सोहीअनुसार सिँचाइ मन्त्रालयले थप बजेट व्यवस्थापन गरिदिन अर्थ मन्त्रालयसँग अनुरोध गरेको थियो । तर, अर्थले उक्त रकम हालसम्म उपलब्ध गराउन सकेको छैन ।

आयोजनाबाट चालु आवमा थप चार अर्ब रूपैयाँ माग भए पनि अर्थ मन्त्रालयले तत्कालका लागि एक अर्ब रुपैयाँमात्र दिने तयारी गरेको छ

‘आयोजनामा सुरूङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोगमा ल्याएयता दैनिक खर्च बढेको छ,’ सिँचाइका प्रवक्ता सागरकुमार राईले नागरिकसँग भने, ‘अहिले दैनिक करिब एक करोड ५० लाख रूपैयाँ खर्च भइरहेको छ । यही गतिमा काम भए आगामी असार मसान्तसम्म थप चार अर्ब रूपैयाँ अपुग हुन्छ ।’ आयोजनाबाट थप रकम माग भएपछि मन्त्रालयले अर्थमा पठाएको उनले बताए । उक्त रकम व्यवस्थापन गर्न नसके आयोजनाको काम नै प्रभावित हुने उनको भनाइ छ ।

‘ठेकेदारले टिबिएम मेसिन र ४–५ सय कामदार प्रयोग गरेर काम गरिरहेको छ । हामीले समयमा रकम भुक्तानी गर्न नसकेको खण्डमा काम रोकिने अवस्था आउँछ,’ प्रवक्ता राईले भने, ‘तोकिएको समयमा रकम भुक्तानी गर्न नसके ठेकेदारलाई ब्याज र हर्जनासमेत तिर्नुपर्ने हुन्छ । यसले आयोजनालाई मात्र नभई मुलुकको अर्थतन्त्रलाई नै प्रभाव पार्छ ।’ सरकारसँग स्रोत अभाव रहेको जनाउँदै अर्थले अहिले सबै रकम दिन नसक्ने बताएको उनले जानकारी दिए । माग गरिएको चार अर्बमध्ये तत्कालका लागि एक अर्ब रूपैयाँ दिने तयारी अर्थले गरेको उनले बताए ।

आयोजना प्रमुख शिवकुमार बस्नेतले ठेकेदारबाट बिल पेस भइसकेको भए पनि रकम अभावले भुक्तानी गर्न नसकिएको बताए । ‘अहिले खासै समस्या छैन । तर, अबको १५ दिनभित्र अर्थबाट रकम निकासा भएन भने सबै काम रोकिने अवस्था आउँछ,’ काठमाडौंमै रहेका उनले मंगलबार नागरिकसँग भने, ‘मन्त्रालयबाट रकम निकासामा ढिलाइ गरेपछि म आफैं आएको हुँ ।’ अर्थका अधिकारीहरूबाट तत्काल एक अर्ब रूपैयाँ दिने प्रतिबद्धता जनाएको उनले बताए । तर, यो रकमले आगामी एक महिनाका लागि मात्र पुग्ने उनको भनाइ छ ।

‘आयोजनाको लक्ष्यमा पुग्न अहिलेकै गतिलाई निरन्तरता दिन आवश्यक छ,’ उनले भने, ‘यसका लागि रकम अभाव हुन नदिने वातावरण सरकारले बनाउनुपर्छ ।’

आयोजना प्रमुख बस्नेतका अनुसार टिबिएम प्रयोग गरेयता दैनिक १५ देखि २० मिटर सुरूङ खन्ने काम भइरहेको छ । आयोजनामा गत कात्तिक २० गते (नोभेम्बर–६) बाट टिबिएम प्रयोग गरिएको हो । दुई महिनाको अवधिमा टिबिएमले करिब १३ सय मिटर सुरूङ खनिसकेको छ । सुरूङ खन्न नेपालमै पहिलोपटक अत्याधुनिक टिबिएम मेसिन प्रयोग गरिएको हो ।

सिँचाइका प्रवक्ता राईका अनुसार आगामी दुई वर्षभित्र सुरूङ खन्ने काम सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । ‘अहिलेकै गतिमा काम भए लक्ष्यमा पुग्न सकिन्छ,’ उनले भने, ‘सुरूङ खन्ने कामसँगै सिमेन्टको स्ल्याब राख्ने काम पनि टिबिएमले गरिरहेको छ ।’ सुरूङ खन्ने काम सकिएपछि भेरी बबई माथि इन्टेकमा ब्यारेज निर्माण गर्ने र तल विद्युत् पावरहाउस निर्माणको काम अघि बढ्ने उनले बताए । ‘ती कार्यको सर्भे, डिपिआर र रिभ्यूको काम अर्को वर्षबाट सुरू हुन्छ,’ उनले भने ।
भेरी नदीको ४० क्युमेक पानी बबईमा मिसाएर बाँके, बर्दियाका ८० हजार बिघा (५१ हजार हेक्टर जमिन) मा सिँचाइ सुविधा पु¥याउने तथा ४८ मेगावाट विद्युत् निकाल्ने आयोजनाको लक्ष्य छ । आर्थिक वर्ष ०६८–६९ मा निर्माण थालिएको आयोजनामा हालसम्म करिब डेढ अर्ब रूपैयाँ खर्च भइसकेको मन्त्रालयले जनाएको छ ।

भेरी नदीको पानी बबईमा मिसाउन १२ किलोमिटर सुरूङ खन्नु पर्नेछ । सुरूङ खन्ने काम सबैभन्दा जटिल र महँगो मानिएको छ । टिबिएमबाट सुरूङ खन्ने कामका लागि मात्र करिब १२ अर्ब रूपैयाँ खर्च हुने अनुमान छ । हाल साढे १० अर्ब रूपैयाँ सम्झौतामा ठेकेदारले काम गरिरहेको छ । विद्युत् उत्पादन र सिँचाइ सुविधा उपलब्ध गराउने उक्त आयोजना नेपालमै नमुना हुने अपेक्षा गरिएको छ । आर्थिक वर्ष ०७७÷७८ मा उक्त आयोजना सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य छ ।
 

प्रकाशित: २६ पुस २०७४ ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App