८ वैशाख २०८१ शनिबार
समाज

जाजरकोटमा भाइरलको प्रकोप बढ्दै, थप दुईको मृत्यु

जाजरकोट – दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । जुनीचाँदेको वडा नम्बर १, २ र ३ लगायत अन्य वडामा फैलिएको भाइरलको प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

५ वर्षमुनिका बालबालिका र दीर्घरोगीहरूमा कडा रूपमा देखिएको भाइरल ज्वरोको प्रकोपबाट अहिलेसम्म १२ जनाको ज्यान गइसकेको चिकित्सकहरूले जनाएका छन् । रुघा खोकी हुने, ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्नेजस्ता समस्याले प्रभावित उक्त क्षेत्रमा सोमबार र मंगलबार बिहान थप दुईजनाको ज्यान गएको चिकित्सक डा. पवन शाक्यले बताए । उनका अनुसार मंगलबार बिहान ज्वरो र पखालाका कारण जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्यान गएको छ भने सोमबार सोही गाउँपालिका २ मौगानका एकमहिने शिशुको  भाइरल रोगका कारण मृत्यु भएको  छ ।

मृतक शिशुमा कडा खालको भाइरल अर्थात् एच वान एन वानको संक्रमण भएको आशंका गरिएको छ । त्यसको परीक्षणका लागि खकार र सिँगान स्वास्थ्य विभागको काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा पठाइएको डा. शाक्यले जनाए । उनले परीक्षणबाट एच वान एन वान प्रमाणित भए गाउँमा भाइरलको महामारी नै हुन सक्ने बताए । त्यस्तै भाइरल प्रभावित गाउँमा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट परिचालित चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको टोलीले रोग नियन्त्रणमा ल्याउन नसकेपछि मंगलबार जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ ।

एकजना चिकित्सकसहित दसजना स्वास्थ्यकर्मी, नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले उपचारमा सहयोग गर्दा पनि प्रकोप नियन्त्रणमा आउन नसकेपछि जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा. भूपेन्द्रप्रकाश मल्ल, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकसहित अन्य स्वास्थ्यकर्मीको समूह औषधिसहित प्रभावित क्षेत्रतर्फ गएको शाक्यले बताए ।  

उनले गाउँमा भाइरल प्रभावितको संख्या बढ्दो भएकाले जिल्ला अस्पतालबाट थप औषधि र चिकित्सकको टोली मगाइएको बताए । जिल्ला अस्पताल जाजरकोटका निमित्त प्रमुखसमेत रहेका डा. मल्लले गाउँमा भाइरलको प्रकोप बढ्दै गएका कारण आफू गाउँमा बिरामीको उपचारका लागि हिँडेको बताए । स्वास्थ्यकर्मीहरूका अनुसार जिल्लाको दुर्गम तथा विकट जुनीचाँदे गाँउपालिकाको वडा नं २ र ३ मा सुरुमा देखिएको भाइरलको प्रकोप अहिले अन्य क्षेत्रमा पनि सर्दै गएको छ ।

गाउँका सबैमा रुघाखोकी र ज्वरो देखिएको डा. शाक्यले बताए । उनले  ५ वर्षमुनिका र दीर्घ रोगीमा कडा खालको संक्रमण छ भने अन्य अधिकांशमा सामान्य खालको संक्रमणको लक्षण देखिएको बताए । उनले अहिलेसम्म सात सयभन्दा बढीको उपचार गरिसकिएको र अझै दुई हजारभन्दा बढी बिरामीहरू गाउँमा भएको बताए ।  
 

 

प्रकाशित: २६ पुस २०७४ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App