coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकामा बन्दै छ भूमिगत बिजुलीको लाइन

काठमाडौं उपत्यका सडकछेउ जताततै अव्यवस्थित पोल र लतारिएका नांगा बिजुलीका तार देखिन्छन्। जसले सहरी सौन्दर्य बिगारेको मात्रै छैन, सवारीसाधन लगायत अन्य गम्भीर प्रकृतिका दुर्घटना समेत वृद्धि भइरहेका छन्। अब भने उपत्यकावासीले यस्ता समस्या भोग्नुनपर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले यस्तै समस्या समाधानका लागि नयाँ योजना अघि सारेको छ। प्राधिकरणले अघि सारेको योजना कार्यान्वयन भए अबको साढे दुई वर्षभित्रै उपत्यकामा जमिनमुनिबाट अर्थात् भूमिगत लाइनमार्फत उपभोक्ताको घर–घरमा बिजुली पुग्नेछ। प्राधिकरणले एसियाली विकास बैंक (एडिबी)सँग साझेदारी गरेर पहिलो चरणमा महाराजगन्ज वितरण केन्द्र र रत्नपार्क केन्द्रले ओगटेका क्षेत्रमा भूमिगत विद्युतीय प्रसारण लाइन विस्तार गर्न लागेको हो। 

भूमिगत बिजुलीको लाइन विस्तारका लागि ग्लोबल टेन्डर आह्वान गरेर प्राविधिक मूल्यांकनका लागि एडिबीलाई पठाइसकिएको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख मनोज सिलवालले बताए। ‘भूमिगत बिजुलीको तार विस्तारका लागि नौवटा ठेकेदार कम्पनीले प्राविधिक प्रस्ताव पेस गरेका छन्,’ उनले भने, ‘ठेकेदार कम्पनीले पेस गरेको प्राविधिक मूल्यांकन प्रस्ताव एडिबीमा पठाइसकेका छौँ। अब एडिबीले प्राविधिक मूल्यांकनको प्रस्ताव टुंगो लगाएसँगै आर्थिक प्रस्तावका लागि ग्लोबल टेन्डर आह्वान गर्छाैं।’

बोलपत्रदाता (ठेकेदार कम्पनी) ले नै भूमिगत वितरण प्रणालीको डिजाइन, सामान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने लगायत पक्ष प्राधिकरणको बोलपत्रमा समावेश गरिएको छ । सिलवालका अनुसार सबै प्रक्रिया टुंगो लागेर आगामी नयाँ वर्षदेखि भूमिगत तार बिछ्याउने कार्य सुरु हुनेछ।

पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रले ओगटेका क्षेत्रमा भूमिगत बिजुलीको प्रसारण लाइन विस्तार गर्न लागिएको प्रमुख सिलवालले बताए। ‘काठमाडौंमा जताततै नांगा तारले कुरूप भइसक्यो । त्यसैले अब भूमिगत प्रणालीअनुसार नै बिजुली वितरण गर्न लागिएको हो,’ उनले भने, ‘खुला रूपमा रहेको बिजुलीका तारलाई भूमिगतमार्फत अटोमेसन प्रणालीमा सुधार्न खोजेका हौँ।’ 

विद्युत् प्राधिकरणले मुख्य सडकमा ११ केभी र चार सय भोल्टको विद्युतीय प्रणालीलाई भूमिगत रूपमा व्यवस्थापन गर्न लागेको हो । बिजुलीका तार युटिलिटी टनेलअन्तर्गत जमिनमुनि राखिने योजना छ । जसमा विशेष प्रकारको पाइपभित्र बिजुलीको तार राखिनेछ।

प्राधिकरणले भूमिगत लाइन विस्तारका साथै अप्टिकल फाइबर बिछ्याउने, विद्युत् वितरण तथ्यांक राख्ने दुईवटा स्मार्ट केन्द्र बनाउने र ग्राहकको घरघरमा पनि स्मार्ट मिटर जडान गर्ने योजना बनाएको छ।

पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रबाट भूमिगत लाइन विस्तारको काम थालिनेछ। क्रमशः अन्य नौवटा वितरण केन्द्रमा भूमिगत वितरण प्रणाली विस्तार गरिने प्राधिकरणले जनाएको छ। एडिबीको ऋण र अनुदानमा पहिलो चरणमा भूमिगत विद्युतीय प्रसारण लाइन विस्तार गर्न लागिएको हो । नेपाल सरकार र एडिबीबीच सन् २०१७ जुनमा ५५ मिलियन अमेरिकन डलर (करिब साढे ५ अर्ब रुपैयाँ) ऋण सम्झौता भइसकेको छ। 

‘घना बस्तीमा नांगा बिजुलीका तारका कारण एकातर्फ दुर्घटना हुने उच्च जोखिम हुन्छ, अर्काेतर्फ तारैतारले सहरको सौन्दर्यमा समेत प्रभाव परेको छ,’ प्रमुख सिलवालले भने, ‘त्यसैले विश्वव्यापी रूपमा अपनाउँदै आएको सुरक्षित भूमिगत प्रणाली अँगाल्न लागेका हौँ।’ 

प्राधिकरणका अनुसार मेलम्ची खानेपानी पाइप विस्तारका क्रममा सडक खन्दा सर्वसाधारण आतंकित भएकाले भूमिगत विद्युतीय प्रसारण लाइन विस्तारका लागि  छुट्टै विधि अपनाइनेछ । ‘एक ठाउँमा खाल्डो खनेर अन्डरग्राउन्डमार्फत नै तार बिछ्याइने योजना बनाएका छौँ,’ प्रमुख सिलवालले भने, ‘मेलम्चीले पाइपलाइन बिछ्याउँदा जस्तो समस्या आउँदैन। रातको समयमा ड्रिलिङ मेसिनमार्फत विस्तार गर्नेछौँ ।’

नेपाल विद्युत्् प्राधिकरण क्षेत्रीय कार्यालय काठमाडौंका निर्देशक दीघार्यु श्रेष्ठ उपत्यकामा अव्यवस्थित पोल र लत्रिएका नांगा तारका कारण दुर्घटना भइरहेकाले भूमिगत तारको व्यवस्थापन गर्नुुपर्ने बताउँछन् । ‘प्राधिकरणले विद्युतीय प्रणालीलाई सुदृढीकरण गर्दै अत्याधुनिक प्रविधिमा लैजाने नीति अवलम्बन गर्दै आइरहेको छ,’ उनले भने । प्राधिकरणले साढे दुई वर्षभित्रै पहिलो चरणमा भूमिगत तार बिछ्याउने लक्ष्य राखेको छ । पहिलो चरणमा रत्नपार्क, असन, इन्द्रचोक, क्षेत्रपाटी, सिंहदरबार, पुतलीसडक, न्युरोड, जमल, दरबारमार्ग, महाराजगन्जलगायत क्षेत्रमा भूमिगत तारमार्फत सर्वसाधारणलाई बिजुली वितरण गरिनेछ। पहिलो चरणका यस क्षेत्रका लगभग एक लाख घरले भूमिगत तारमार्फत वितरित बिजुली उपयोग गर्न सक्नेछन्।

नांगो तार र पोलले सवारी दुर्घटना बढायो
विद्युत्् प्राधिकरण तथा दूरसञ्चार सेवा प्रदायकले अव्यवस्थित पोलमा लतारिने गरी तार राखेकै कारण काठमाडौं उपत्यकामा सवारीसाधन लगायत दुर्घटना बढिरहेको छ। उपत्यकाका विभिन्न स्थानका सडकको मध्यभागमै बिजुलीका पोल ठडिएका छन् । तिनमा ठोक्किएर बारम्बार सवारी दुर्घटना हुने गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ६० प्रतिशत सवारी दुर्घटना बिजुलीका पोल तथा अस्तव्यस्त तारका कारण हुने गर्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार गएको साढे दुई वर्षभित्र उपत्यकामा बिजुली ‘सर्ट’ भएर २३ जनाले ज्यान गुमाएका छन् । यसै अवधिमा बिजुली ‘सर्ट’का कारण भएको आगजनीबाट ९० करोड ९४ लाख चार हजार ६ सय रुपैयाँबराबरको क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ प्रहरी उपरीक्षपक पूर्णचन्द्र जोशी बताउँछन्।

प्रकाशित: २६ पुस २०७४ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App