coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानव सेवा आश्रमद्वारा २७ जनाको उद्धार

काठमाडौं- रामेछापका बलबहादुर खड्काले २०७२ सालको भूकम्पमा पत्नी र छोरा गुमाए। भूकम्पमा उनको घर पनि भत्क्यो। शनिबारका मध्याह्न उनी माछा मार्न गएका भएर मात्र बँचे। सम्पत्तीको नाममा घर बनेको त्यही सानो घडेरी मात्र थियो। परिवारका दुवै सदस्य गुमेपछि बलबहादुरको मन अडिएन। ‘बैराग चल्यो अनि म काठमाडौं हिँडे,’ आँखामा आँसु रसाउँदै भने।

भूकम्पलगत्तै काठमाडौं पसेका उनले यहाँ आएपछि भारी बोक्ने काम गरे। त्यहीबेला हर्नियाले सतायो। काम गरेर खान सकेनन् । अनि पशुपतितिर पसे।

पशुपतिको गाईगोठमा जान्थे, सकेको जति गाईको सेवा गर्थे । कहिले व्यापारीले बाँडेको खानाले छाक टार्थे । राति पाटीमा सुत्थे । केही महिनाअघि कुकुरले टोकेपछि घाउ निको हुन सकेन । कुकुरले टोकेको खुट्टाले राम्रोसँग टेक्न पनि सकेनन् ।

त्यसपछि भने उनले छाक टार्नकै लागि पशुपतिमा माग्न थाले ।  दैनिक सत्तरी रुपैयाँ जति बटुल्थे । कहिले श्रद्धालुले दिएको खाना खान्थे कहिले आफैं किनेर । छाक त जसोतसो टार्थे रात काट्न मुस्किल पथ्र्यो । ‘पाँच÷सात जना लस्करै सुत्थ्यौं, एउटा ओढ्ने तानातान हुन्थ्यो,’ उनले बितेका दिन सम्झे ।

पशुपतिमा उनले खान र सुत्नका लागि मात्रै दुःख पाएनन् । मागेर जम्मा गरेको पैसा लुट्नेको कुटाइमा पनि परे। ‘लुटेराले कन्चटमा हानेको घाउ निको भएको छैन,’ उनले घाउको डोब देखाउँदै भने । मनको घाउ निको पार्न हिँडेका उनले जिन्दगीमा धेरै कष्ट झेले।

पाँच दिनअघि भने उनको जीवनले अर्को मोड लियो । त्यो दिन मानव सेवा आश्रमका स्वयंसेवकहरू उनी भए ठाउँमा पुगे र पाँच दिनपछि लिन आउने बताए । उनीहरूले उनको नाम ठेगाना टिपे । अब पाटीमा रात काट्नु नपर्ला भनेर उनको मनमा खुसी  पलायो ।

नभन्दै शुक्रबार आश्रमका स्वयंसेवक उनलाई दिन आए । उनको नङ, कपाल काटिदिए । नुहाइदिए । नयाँ लुगा लगाइदिए । बलबहादुर भन्छन्, ‘अब आश्रममा मैले सकेजति सेवा गरेरर जीवन बिताउनेछु ।’

पाँच वर्षअघि  काठमाडौं छिरेका धादिङ ६६ वर्षीय उदय कामीको दम्पत्तीलाई पनि शुक्रबारै मानवसेवा आश्रमले उद्धार गरेको छ । उनीहरूलाई छेत्रपाटीबाट उद्धार गरेको हो । ज्यामी काम गरेर गुजारा गर्दै आएका उनीहरू पालैसँग असक्त भएपछि टोल छिमेकले खान दिएको भरमा गुजारा चलाउँदै आएका थिए । आश्रमले उद्धार गरेपछि दुवैजना सुरक्षित भएको कामीले बताए । ‘दुवै जना रोगी पनि छौं, उपचार पनि हुने कुराले खुसी लागेको छ,’ उनले भने ।

मानवसेवा आश्रमले उद्धार गरेको अर्की महिला हुन्, पनौतीकी २० वर्षीया विमला सापकोटा । घरमा झै–झगडाले बस्न नसकेपछि एक वर्षदेखि पशुपतिमै बस्दै आएकी उनलाई आश्रमले नै उद्धार गरेको हो ।

शुक्रबार आमश्रमले सामूहिक रूपमा २७ जनाको सामूहिक उद्धार गरेको हो । उद्धार गरेमध्ये १८ जना पुरुष, १० जना वृद्धा र ३ जना महिला छन् । उद्धार गरेर लिएपछि आश्रमका स्वयंसेवकले नङ काटिदिने, नुहाएर नयाँ लुगा लगाइदिएका थिए ।

मानव सेवा आश्रमले सडक पेटीमा जीवन बिताइरहेका बेसाहारालाई सहारा दिनको लागि शुक्रबार नै राममन्दिर बत्तिसपुतलीमा सामूहिक उद्धार तथा सहभोज कार्यक्रमको आयोजना गरेको थियो । सोही क्रममा उद्धार गरेर लिएका सबैलाई कार्यक्रमका अतिथिहरू काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मानव सेवा आश्रमका संरक्षक गोविन्द टण्डन र हाँस्य कलाकार तथा आश्रमका दूत मदनकृष्ण श्रेष्ठले फूलमाला लगाएर स्वागत गरे । लगत्तै उनीहरूसँगै सहभोजमा सरिक भएका थिए। आश्रमले उद्धार भएकालाई गीत र नृत्यबाट मनोरञ्जन गराएको थियो।

आश्रमले उनीहरूलाई राजधानीका कलंंकी, पशुपति, क्षेत्रपाटी, बौद्ध, चाहविल लगायतका स्थानहरूबाट उद्धार गरेको हो। उद्धार गरिएका सबैलाई शुक्रबार नै बुढानीलकण्ठस्थित मानवसेवा आश्रममा राखिएको छ । राखिएकाहरूको आवश्यक उपचार, पारिवारिक पुर्नमिलन गराउने जस्ता सेवा दिनेछ । वेसहाराको हकमा भने आश्रय दिने आश्रमले जनाएको छ।

पाँच वर्षअघि स्थापना भएको मानवसेवा आश्रमले देशभरका ९ जिल्लामा यसका शाखाहरू स्थापना भइसकेका छन्। देशभरका १४ वटा आश्रममा गरी ६ सय जनाले आश्रय लिइरहेको आश्रमले जनाएको छ । नेपाल नाथैनाथको देश भए पनि सडकमा अनाथ भएर कष्टपूर्ण जीवन बिताइरहेकाहरूलाई आश्रय दिने आश्रमको उद्देश्य रहेको आश्रमले जनाएको छ । शुक्रबार उद्धार गरिएकाहरूको लागि काठमाडौं महानगरपालिकाले बुढानीलकण्ठमा घर भाडामा लिएर सहयोग प्रदान गरेको हो । आश्रमको लागि विभिन्न संरक्षकहरूले सहयोग उपलब्ध गराएका छन् । सो क्रममा कलंकीकी माता शान्ति खड्गाले म्याटे«स सहयोग गरेकी छन् ।

कार्यक्रममा बोल्दै आश्रमका संरक्षक गोविन्द टण्डनले आश्रम कुनै धर्म, समूह जातजातिको लागि भेदभावरहित रहेको बताए । सडकलाई अनाथमुक्त बनाएर मानव सेवमा लाग्नु नै आश्रमको उद्देश्य रहेको र यसलाई पूरा गर्ने दायित्व सबैको रहेको जनाए ।

 

 

 

प्रकाशित: २६ पुस २०७४ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App