coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौंको कोर सिटीमा चार पाङग्रे सवारी निषेध

काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौंको ‘कोर एरिया’ (भित्री सहर)मा चार पाङ्ग्रे सवारीसाधन निषेध गर्ने भएको छ । महानगरपालिकाले कोर एरियामा सवारीको अत्यधिक चाप र भीडभाडसँगै सम्पदा क्षेत्र अस्तव्यस्त भएकाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चार पाङग्रे सवारीसाधन चलाउन निषेध गर्न लागेको हो। 

काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरीको अगुवाइमा माघ २ गते देखि चार पाङग्रे सवारी निषेध कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाएका छन् । महानगरपालिका उपमेयर हरिप्रभा खड्गीले काठमाडौंको कोर एरियामा सवारीसाधनको भद्रगोल भएकाले नै चार पाङग्रे सवारीसाधन निषेध गर्न लागेको बताइन्।

‘काठमाडौंको कोर एरिया ऐतिहासिक सम्पदाले भरिपूर्ण छ । त्यसैले व्यवस्थित गर्नको लागि सवारी निषेध गर्न लागिएको हो,’ उनले भनिन्,‘विदेशीमुलुकमा पनि सम्पदा क्षेत्रमा पैदलयात्रा नै गरिन्छ । त्यसैलाई अबलम्वन गरेर कोर एरियालाई हिँडेर नै घुम्ने परम्परा बसाल्न लागेका हौं ।’ महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी निरीक्षक विदुर कुमार थापाले छुट्टाछुटै रुटको व्यवस्थापन गरेर कोर एरियामा चारपाङग्रे सवारी निषेध गर्न लागेको बताउँछन्।

उनका अनुसार इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटु लगायतका स्थानमा चार पाङग्रे सवारी गुडाउन निषेध गरिएको छ। त्यस्तै गरी भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन रोक लगाइएको छ। नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी मात्रै सवारीचालन चलाउन पाइनेछ । त्यस्तै गरी टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोकसम्म जान  मात्रै  सकिनेछ।

 क्षेत्रपाटीबाट ठहिटी हुदैँ नघःल बांगेमुढा भेडासिंह हुँदै ईन्द्रचोकसम्म एकतर्फी रुपमा सवारी चलाउन पाइनेछ। काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७  लगायतका  भित्री क्षेत्रलाई व्यवस्थित गर्न लागिएको हो । ‘काठमाडौंको कोर एरियामा सवारीको अत्यधिक चाप र भीडभाड बढेकाले नै सवारी निषेध गर्न लागिएको हो,’ काठमाडौं महानगरपालिका वडा नं २५ का अध्यक्ष निलकाजी शाक्यले भने, ‘सम्पदा नै सम्पदा भएको सहर अस्तव्यस्त र असरल्ल देखियो। त्यसैले कोर एरियामा सवारी निषेध गरेर व्यवस्थित गर्न लागेका हौं।’ 

महानगरपालिकाले चार पाङग्रे सवारी निषेध गरेसँगै पार्किङको लागि खुल्लामञ्च, मखनचोक, आर्मी ब्यारेक नरदेवी जाने मन्दिर नजिक पार्किङ गर्न सकिने जनाएको छ। ‘यो एरिया ऐतिहासिक मठ मन्दिरले भरिएको क्षेत्रको साथै प्राचिन व्यापारिक केन्द्रका रूपमा प्रख्यात छ,’ उनले भने, ‘अत्यधिक सवारी चापले हिँडडुल गर्न समेत मुस्किल छ, कहिलेकाहीँ बिरामी बोकेको एम्बुलेम्स समेत गुड्न सक्ने अवस्था छैन् । त्यसैले व्यवस्थित गर्न सवारी निषेध गर्न लागेका हौं ।’ 
महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी निरीक्षक विदुर कुमार थापाले निषेध गरिएको स्थानमा अनाधिकृत रुपमा सवारीसाधन चलाएरमा कारवाही गर्ने बताउँछन् ।‘निषेधित गरेको ठाउँमा सवारी चलाएको पाइएमा ट्राफिक नियम उल्लघंन वापत कारवाही गरिनेछ ।’ 

ट्राफिक नियम उल्लघंन गर्नेलाई ५ सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गरिनेछ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले काठमाडौंमा व्यवस्थित पार्किङ स्थलको खोजी कार्य जारी रहेको बताउँछन।

‘उपत्यकामा व्यवस्थित पार्किङ स्थल अत्यावश्यक भइसक्यो’ उनले भने, ‘महानगरपालिकाले भूमिगत पार्किङस्थलको योजना बनाइरहेको छ । अब सम्भवत् छिट्टै सार्वजनिक गर्नेछौं ।’ वडाध्यक्ष  शाक्यका अनुसार एम्बुलेन्स, शव वाहन, खानेपानी, दुध बोकेका सवारी साधन, बिरामी तथा अशक्त  बोेकेका  सवारी साधनलाई जुनसुकै समयमा गुड्न दिइनेछ । यस्तै पास लिएर चलाएका निजी सवारीसाधनलाई समेत आपतकालीन समयमा गुड्न दिइनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि ठमेल र पशुपति क्षेत्रमा सवारीसाधन निषेध गरिसकेको छ । ‘कोर एरियामा प्रदुषण तथा अस्तव्यस्त भएकाले नै सवारी निषेध गर्न लागेका छौं,’ उनले भने, ‘सम्पदा भएको स्थलमा पैदल आउजाउ गर्न समेत उपयोगी हुने देखिन्छ।’

उनका अनुसार काठमाडौं महानगरपालिका वडा नं १७ का अध्यक्ष नवीन मानन्धरले कोर एरिया सम्पदा नै सम्पदाले भरिएको सहर भएकाले नै चार पाङ्ग्रे सवारी निषेध गर्न लागेको बताउँछन्। 

प्रकाशित: २६ पुस २०७४ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App