८ वैशाख २०८१ शनिबार
अर्थ

सुख्खा क्षेत्रको प्राथमिकताको खानेपानी आयोजनामा ढिलाई

पाँचथर – सरकारले सुख्खा क्षेत्र घोषण गरी  कुम्मायक गाँउपालिकाको यासोक, रानीगाँउ र स्याबरुम्बामा खानेपानी व्यवस्थापनाका लागि तमोर नदीको पानी गाँउमा ल्याउने गरी अघि  बढाइएको लिफ्ट प्रविधिको खानेपानी आयोजनाको काममा ढिलाई भएको छ। नेपालकै नमुना आयोजना मानिएपनि विभिन्न वाहाना देखाउदै आयोजनाको काममा लापरवाही हुँदा खानेपानीको चरम अभाव खेपिरहेका स्थानिय वासिन्दा असन्तुष्ट बनेका छन्।

मुख्य प्रसारण लाईन (तमोरको पानी लिफ्टबाट गाँउमा ल्याउने) काम निर्धारित समयमा नसकिएपछि म्याद थपको प्रक्रिया अघि बढेको छ। पुस १५ भित्र सक्नुपर्ने मुख्य प्रसारण लाईनको काम नसकिएपछि एक बर्ष म्याद थप्न माग गरी निवेदन पेश भएको खानेपानी डिभिजन कार्यालय फिदिमका प्रमुख शुरतलाल चौधरीले जानकारी दिए। खानेपानी मुहान विवाद लगायतका कारण देखाउदै थम म्याद मागिएको उनले जानकारी दिए। म्याद थप्ने प्रक्रिया अघि बढेको उनले जानकारी दिए।

सुरुवातमा लोरिपा दोभानवाट पानी ल्याउने स्टीमेट थियो। सडक नभएको भन्दै झण्डै सात महिना जिम्मा प्रेरणा स्वमीनारायण जेविले काम गरेको थिएन। सडक नभएकाले समान लैजान नसक्ने भन्दै काम अघि बढेको थिएन। सम्झौता भईसकेपछि पनि सडक नभएको भन्दै स्टीमेट परिवर्तन गर्न लविङ भएको थियो । आफैले स्वीकृत गरेको स्टीमेट डिभिजन कार्यालय र खानेपानी विभागले संसोधन गरी लुमघाटबाट पानी ल्याउने बनाएको थियो। मल्टीडिसिप्लिनरी कल्सन्टेन्सिले स्टीमेट बनाएको थियो। स्थान परिवर्तन भएपछि पुरानै ठाँउबाट खानेपानी ल्याउन पर्ने भन्दै केहि स्थानियले विरोध जनाएपछि काम रोकिएको थियो। गाउँतिर काम भएपनि मुहान क्षेत्रमा काम हुन सकेको थिएन। स्टीमेट परिवर्तन गर्दा १ करोड ३९ लाख रुपैयाँ लागतमा समेत बृद्धि भएको थियो।

आयोजना सम्पन्न गर्नुपर्ने म्याद सकिदा ४० प्रतिशतमात्र काम सकिएको चौधरीले जानकारी दिए। म्याद थप्ने तयारी भइरहेको छ। मुहान जाने सडक नहुँदा तथा मुहान विवाद हुदा काममा ढिलाई भएको निर्माण कम्पनीका सन्तोष बस्नेतले बताए। थपिएको म्यादमा काम सक्ने उनको भनाई छ। ४ केजीको कमशल पाईप वितरणलाईनमा प्रयोग भएको भन्दै विरोध आएपछि यसलाई परिवर्तन गरिने भएको छ। यसका लागि पनि स्टीमेट संशोधन गर्नु पर्छ।

कुम्मायक गाँउपालिकाका विभिन्न गाँउहरुका वासिन्दाले खानेपानीको चरम अभाव खेपिरहेका छन्। घण्टौ लगाएर एक गाग्रो पानी पाउन निक्कै सकस व्यहोर्नु पर्छ। सरकारले सुख्खा क्षेत्र घोषणा गरेको तमोर नदीमा पानी बगेको देखिने गाउँहरुमा पर्ने खानेपानीको चर्को अभाव छ। कुल ५१ करोड ३० लाख २० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनमा मुख्य प्रसारलाईन र वितरण लाईनको घटाघटमा छुट्टा छुट्टै ठेक्का लगाइएको थियो। मुख्य प्रसारण लाईनको प्रेरणा स्वामीनारायण जेवीले २० करोड २४ लाख ९९ हजारमा ठेक्का लिएको छ। यस्तै वितरण लाईनको २२ करोड १० लाखमा कन्काई–महादेव खिम्ती–स्वामीनारायण जेविले ठेक्का लिएको छ। वितरण लाईनको काम भने २०७५ भदौँ महिनामा सक्नुु पर्छ।

मुख्य प्रसारण लाइनका ११ वटा ट्याकि मध्ये सातवटाको काम सकिएको बताइएको छ। सातवटा स्टेशनमार्फत गाँउमा पानी ल्याउने योजना रहेको छ। वितरण लाईनको काम धमाधम भएको ठेकेदार कम्पनीको भनाई छ। निर्माण क्षेत्रमा ३ सय मजदुर तथा कर्मचारी खटाइएको बस्नेतले दाबी गरे। प्रतिसेकेण्ड २० लिटर पानी ल्याउने योजना छ। १६ किलोमिटर ट्रासमिसन पाईप लाईन र एक सय ९२ किलोमिटर वितरण लाईन बन्ने छ। तमोर नदिमा १५ फिट गहिरो इनार खनी यहाँ रसाएको पानी लिफ्ट मार्फत  गाउँ ल्याइने छ । सात स्टेशन छन। यसका लागि १० वटा रिर्जभ वायर ट्याङ्की बन्ने छन भने ब्रेक प्रेसर ट्याङ्क एक सय ८९ वटा हुने छन।

सरकारद्वारा सुख्खा क्षेत्र घोषित खानेपानीको चरम अभाव छ। खोल्सिको पानी किनेर, भएका धारोमा घण्टौँ कुरेर पानी थाप्नु पर्ने अवस्था छ। बसाई सराई दर उच्च छ। यहि समस्यालाई दृष्टिगत गरी ठूलो रकमको आयोजना अघि बढाइएको हो । ३ हजार ४५ घरधुरीका जनतालाई खानेपानी सुविधा पु-याउने लक्ष रहेको छ । लिफ्ट सञ्चालनका लागि दैनिक चार सय ५० किलोवाट विद्युतको आवश्यकता पर्छ। यसका लागि यासोक बजारदेखि देभानसम्म ८ दशमलव ५ किलोमिटरको ११ केवी विद्युत प्रसारण लाईन बनाउनुपर्छ। यो काम मुख्य प्रसारण लाईनको ठेकदारको जिम्मा छ। 

प्रकाशित: २६ पुस २०७४ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App