मड्रिड एए– कर छलीको मुद्दा खेपिरहेका रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिचले १ करोड युरो जरिवाना तिरेको स्पेनी अधिकारीहरूले बताएका छन् । स्पेनी अधिकारीले क्रोएसियाका मिडफिल्डर मोडरिचमाथि सन् २०१३ देखि २०१४ सम्ममा लक्जेम्बर्गमा नक्कली क्लब स्थापना गर्दैै १ करोड ४ लाख डलर कर छली गरेको आरोप लगाएका थिए ।
मोडरिचले मंगलबार कर अधिकारीसमक्ष १ करोड युरो बुझाएको बताइएको छ ।
मोडरिच सन् २०१२ मा टोटेनह्यामबाट मड्रिडमा आबद्ध भएका थिए । स्पेनमा केही वर्षको अवधिमा कर छलीको आरोप खेप्ने मोडरिच पछिल्ला विदेशी खेलाडी हुन् । नोभेम्बरमा मार्सेलोमाथि पनि ४ लाख ९० हजार ९ सय १७ युरो कर छलीको आरोप लागेको थियो ।
यसअघि रियालकै स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि पनि कर छलीको आरोप लागेको थियो । रोनाल्डो जुनमा सन् २०११ देखि २०१४ को बिचमा १४ करोड ७० लाख युरो कर छली आरोपको बयानका लागि अदालत उपस्थित भएका थिए ।
त्यस्तै बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी र रक्षक ह्याभियर मास्चेरानोमाथि कर छलीको आरोपमा २१ महिनाको जेल सजाय भएको थियो । तर पछि अदालतले मेसीले जेल सजायको सट्टा २ लाख ५२ हजार युरो तिरे पुग्ने निर्णय सुनाएको थियो ।
प्रकाशित: २७ पुस २०७४ ००:५१ बिहीबार