७ वैशाख २०८१ शुक्रबार
खेल

बाह्र वर्षअघिको कीर्तिमानमा सुधार

काठमाडौं – नेपाल प्रहरीकी संगीता राईले राखेप च्याम्पियनसिपअन्तर्गत  २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । ४८ केजी तौलसमूहको क्लिन एन्ड जर्कमा राईले ६६ केजी भार उठाई नीता थापाको नाममा रहेको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

नीताले २०६२ सालमा वीरगन्जमा आयोजना भएको राधिका स्मृति कपमा राखेको ६५ केजी तौललाई भंग गर्दै राष्ट्रिय कीर्तिमान राखेकी हुन् । उनले स्न्याचतर्फ ५२ केजीका साथ कुलमा १ सय १८ केजी उठाउँदै स्वर्ण पदक प्राप्त गरिन् । सेनाकी मनीष रानाभाटले रजत पाइन् । उनले स्न्याचमा ५१ र क्लिन एन्ड जर्कमा ६३ केजी गरी कुल १ सय १४ केजी उठाइन् । झापाकी करिना चौधरीले स्न्याचमा ३५ केजी र क्लिन एन्ड जर्कमा ५१ केजीका साथ कुलमा ८६ केजी उचाल्दै कांस्य पाइन् ।

पोखराको उद्योग वाणिज्य संघको हलमा भएको प्रतियोगितामा ५३ केजी तौलमा सन्जु चौधरीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन् । उनले स्न्याचमा २०१७ मा कोरियामा सम्पन्न एसियन क्लब तथा एसिया कपमा राखेको ६१ केजी तौललाई सुधार गरी ६३ केजी भार वहन गर्दै स्वर्ण पाइन् । यस्तै उनले क्लिन एन्ड जर्कमा ८२ केजी भार वहन गर्दै सुनीललाल जोशी स्मृति कप २०७४ मा राखेको ८१ केजीलाई सुधार गर्दै अर्को कीर्तिमान राखिन् । यस्तै उनले कुलमा पनि कोरियामा राखेको १ सय ४० केजीमा सुधार गर्दै १ सय ४५ केजीका साथ स्वर्ण पाइन् । 

नेपाल प्रहरीकी देवीकुमारी चौधरीले स्न्याचमा ६२ केजी, क्लिन एन्ड जर्कमा ७५ र कुलमा १ सय ३७ केजीका साथ रजत र सप्तरीकी काजल यादवले स्न्याचमा ४५, क्लिन एन्ड जर्कमा ५० र कुलमा ९५ केजी भार वहन गर्दै कांस्य पाइन् । महिलाकै ५८ केजी तौलमा सेनाकी कमला श्रेष्ठले स्न्याचमा ६५ केजी उठाइन् । उनले क्लिन एन्ड जर्कमा ८६ केजीका साथ नयाँ राष्ट्रिय कीर्तिमान राखिन् । उनले ललितपुरमा सम्पन्न एसियन युथ तथा जुनियर च्याम्पियनसिपमा ८५ केजीको कीर्तिमान राखेकी थिइन् । उनले कुलमा पनि १ सय ५१ केजीका साथ स्वर्ण पाइन् ।

यस्तै पुरुषतर्फको ५२ केजी तौलमा प्रहरीका गणेश रानाभाटले स्वर्ण प्राप्त गरे । उनले स्न्याचमा ६७ केजी र क्लिन एन्ड जर्कमा ८२ गरी कुल १ सय ४९ केजी भार वहन गर्दै स्वर्ण पाए । त्यस्तै सप्तरीका लालबाबु पासवानले स्न्याचमा ६५ र क्लिन एन्ड जर्कमा ८१ गरी कुल १ सय ४६ केजीका साथ रजत र सिराहाका बच्चुलाल चौधरीले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ६६ केजीका साथ कुल १ सय २६ केजी उठाउँदै कांस्य पाए ।

पुरुषकै ५६ केजीमा सेनाका तुलाराम महतोले स्न्याचमा ८३ केजी र कुलमा १ सय ७९ केजीका साथ स्वर्ण पाए । उनले क्लिनमा ९६ केजी भार वहन गर्दै रजतमा चित्त बुभाए । उनलाई क्लिनमा सप्तरीका मनोज यादवले १ सय केजी उठाएर दोस्रो स्थानमा चित्त बुझाउन बाध्य पारे । यादवले स्वर्ण पाए । क्लिन र कुलमा ७६ र १ सय ७६ केजीका साथ रजत पाए । तेस्रो स्थानमा रहेका सप्तरीकै रामकुमार यादवले स्न्याच, क्लिन र कुलमा ७०, ९० र १ सय ६० केजीका साथ कांस्य पाए ।
 

प्रकाशित: २७ पुस २०७४ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App