८ वैशाख २०८१ शनिबार
खेल

एपिएफको जितमा अन्जन नायक

धनगढी – नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर अन्जन विष्टको दुई गोलप्रेरित नेपाल एपिएफ क्लब बुधबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले कैलालीको धनगढी रंगशालामा बुधबार भएको क्वार्टरफाइनलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको प्रतिद्वन्द्वी सिएमजी क्लब संकटामाथि २–० को विजयी नतिजा निकालेको थियो ।

 ‘मैदानको बारेमा हामीलाई पहिलो खेलबाट राम्रो जानकारी भयो । त्यसैले पहिलो खेलभन्दा आज टिमले राम्रो खेल्यो ।’

एपिएफलाई सेमिफाइनलको बाटोमा डो¥याउन म्यान अफ दी म्याच अन्जनले २३औं मिनेटमा गोलको खाता खोलेपछि समय सकिन पाँच मिनेट बाँकी रहँदा अर्को गोल गरेका थिए । एपिएफको सेमिफाइनल यात्रामा नायक बनेका अन्जनले म्यान अफ दी म्याचको पुरस्कारस्वरुप नगद १० हजार रुपैयाँ हासिल गरे ।

आइतबार हुने सेमिफाइनलमा एपिएफले आयोजक सुदूर पश्चिम ११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आयोजकले सहिद स्मारक ‘ए’ डिभिजन लिगको टोली च्यासल युथ क्लबमाथि पेनाल्टी सुटआउटमा जित हासिल गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । श्याम नेपालीको पासलाई युवराज खड्काले भेट्टाउन नसकेपछि अन्जनले हेडमार्फत गोल गरेर एपिएफको खाता खोलेका थिए ।

खेल अवधिभर दुवै टोलीले गरी गोलका झन्डै दर्जन अवसर खेर फालेको दिन अन्जनले अन्तिम समयमा दोस्रो व्यक्तिगत गोल गरेर एपिएफको जित सहज बनाए । उनले दोस्रो गोल एकल प्रयासमा गरेका थिए ।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो खेलको तुलनामा बुधबार राम्रो प्रदर्शन भएको बताउँदै उपाधि जित्ने दाबी गरे । ‘मैदानको बारेमा हामीलाई पहिलो खेलबाट राम्रो जानकारी भयो । त्यसैले पहिलो खेलभन्दा आज टिमले राम्रो खेल्यो,’ महर्जनले खेलपछि पत्रकारहरूसँग भने, ‘केटाहरूले सुरुदेखि राम्रो खेलेर विपक्षीलाई दबाबमा राखे । हामीले विपक्षीलाई कुनै पनि बेला प्रभावकारी रूपमा खेलमा फर्किने मौका दिएनौं । अब सेमिफाइनलमा आयोजकलाई घरेलु मैदानमा हराएर फाइनल पुग्नका लागि हाम्रो ध्यान केन्द्रित हुनेछ । यसपालि धनगढीबाट उपाधि लिएर फर्किने हाम्रो लक्ष्य हो ।’

पहिलो खेलमा एपिएफले पोखराको सहारा फुटबल क्लबमाथि पेनाल्टी सुटआउटमा विजय हासिल गरेको थियो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्ना खेलाडीहरू थकित देखिँदा धेरै मौका चुकेको प्रतिक्रिया दिए । ‘केटाहरू थाकेजस्ता भए । आज राम्रो खेल्नै सकेनन् । गोलका अवसर सिर्जना गरे पनि उपयोग भएनन्,’ उनले भने, ‘एपिएफ नेपाली फुटबलको सदाबहार राम्रो टोली हो । उनीहरूले पहिलो खेलको दाँजोमा राम्रो खेल्दै सुरुमै गोल गरे । हामीचाहिँ पहिलो खेलको जत्ति पनि खेल्न सकेनौं । पहिलो हाफमा उनीहरूले धेरै राम्रो खेले । हामीले दोस्रो हाफमा पुनरागमन प्रयास गर्दा धेरै दबाब सिर्जना गरे पनि गोल गर्न सकेनौं ।’

साबिक उपविजेता संकटाले पहिलो खेलमा पेनाल्टी सुटआउटमा धरान फुटबल क्लबमाथि विजय हासिल गर्दै अन्तिम आठको यात्रा गरेको थियो । गत वर्ष फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग १–० ले स्तब्ध हुँदै उपाधिबाट विमुख भएको संकटाको यात्रा यसपालि भने क्वार्टरफाइनलमै टुंगियो ।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा बिहीबार ‘ए’ डिभिजनका दुई टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच खेल हुनेछ ।


 

प्रकाशित: २७ पुस २०७४ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App