१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

काठमाडौं- निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि माघ ७ गते मतदाता नामवली प्रकाशन गर्ने कार्यक्रम छ । राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहअन्तर्गतका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ छ ।
निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते मतदाता नामवली प्रकाशित भएपछि सोही दिन प्रकाशित नामवलीउपर दाबीविरोधको उजुरी दिन सकिने छ । मतदाता नामवलीमा परेका उजुरीउपर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी माघ ९ गते अन्तिम नामवली प्रकाशित गर्नेछ ।
आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदवारको उम्मेदवारी दर्ताका लागि माघ १० गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकेको छ । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्नेछ । उम्मेदवारको विरोधमा माघ ११ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ । निर्वाचन अधिकृतको कार्यालयले उजुरीउपर छानबिन गरेपछि कायम रहेका उम्मेदवारको नामवली १४ गते प्रकाशन गर्नेछ । सोही दिन उम्मेदवारी फिर्ता लिन समेत समय तोकिएको छ । माघ १५ गते उम्मेदवारको अन्तिम नामवली प्रकाशन भएपछि सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता ढकालले बताए । त्यसपछि माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यले तोकिएको मतदान केन्द्रमा गई मतदान गर्नेछन् । मतदान सम्पन्न भएर सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि सोही दिन अपराह्न ४ बजेपछि मतगणना कार्य सुरु गरिने कार्यतालिकामा उल्लेख छ ।
राष्ट्रपतिबाट राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएपछि पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय गरेको थियो । संविधानअनुसार स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रियसभा सदस्यका लागि ५६ जना निर्वाचित हुनेछन् ।
निर्वाचनका लागि निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट निर्वाचित हुन आवश्यक पर्ने मत प्राप्त गर्ने तीन महिला, एक दलित, एक अपांग वा अल्पसंख्यक समुदायबाट र अन्य तीन गरी आठजना सदस्य निर्वाचित हुनेछन् । आयोगले प्रदेशगत रुपमा मतदाता नामवली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाउने र दाबी विरोधलगायतका सम्पूर्ण प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले सञ्चालन गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।
आयोग बैठकले राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक प्रदेशमा एकजनाका दरले सातजना न्यायाधीशलाई बिहीबारदेखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्ला सदरमुकाममा पुस २९ गते स्थापना गर्ने निर्णय गरेको ढकालले जानकारी दिए ।

प्रकाशित: २७ पुस २०७४ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App