८ वैशाख २०८१ शनिबार
समाज

कैदी थपिँदा कारागारमा समस्या

बाँके – सात दसकअघि निर्माण भएको नेपालगन्ज कारागारमा क्षमताभन्दा अधिक कैदीबन्दी राख्ने गरिएको छ । कुनै बेला तुलनात्मक रूपमा पूर्वाधारलगायत हरतरहले सुविधासम्पन्न मानिएको यो कारागारमा कैदीबन्दीको संख्या बढेसँगै समस्या थपिँदै गएका छन् । अहिले कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी छन् ।

सहरको बीचमा रहेको कारागारको क्षेत्रफल १७ बिघा ५ धुर छ । महिला र पुरुष कैदीका लागि छुट्टाछुट्टै ठाउँमा दुइटा दुईतले भवन छन् । तर, क्षमताभन्दा धेरैलाई राखिँदा खानेपानी, चर्पी, सरसफाइ, बस्ने ठाउँजस्ता कुरामा कठिनाइ भोग्नुपरिरहेको कैदीहरू बताउँछन् ।

‘कारागारको क्षमता तीन सयजनासम्मको हो । तर, अहिले ६ सय ४२ जना कैदीबन्दी छन्,’ कारागार कार्यालय नेपालगन्जका निमित्त प्रमुख श्यामलाल लामिछाने बताउँछन् । क्षमताभन्दा बेसीलाई राख्नुपर्ने बाध्यताका कारण कारागार परिसरभित्र अस्थायी टहरा बनाइएका छन् । टिनले छाएको २ टहरामा करिब सयको संख्यामा कैदीबन्दी छन् । कारागार परिसरमै रहेका मन्दिर र मस्जिदमा पाल टाँगेर २०–२० जना बस्ने व्यवस्था गरिएको छ ।

कारागारमा ५९ महिला कैदीबन्दी छन् । महिला र पुरुष बस्ने दुवै भवनमा पहिलो र दोस्रो तलामा गरी १६ कोठा छन् । बस्न समस्या भएका कारण अस्थायी टहरा बनाएर कैदीबन्दी राख्नुपरेको बताउँछन् लामिछाने ।  

शैचालय जानका लागि बिहान लाइन लाग्नुपर्ने बाध्यता रहेको महिला नाइके ललिता रेग्मीले बताइन् । उनले भनिन्, ‘चर्पी र पानीको समस्या छ । चर्पी जान बिहान लाइन लागेर बस्नुपर्छ । चर्पीमा प्रयोग हुने र खानेपानी एउटै छ । यसले दैनिक सरसफाइ तथा स्वास्थ्यमा समस्या आइरहन्छ ।’

चिसो मौसमको तुलनामा गर्मीमा कारागारमा धेरै समस्या आउने गरेको कारागार आन्तरिक प्रशासनका चौकीदार युनुस खानले बताए । नेपालगन्ज कारागार भेरी अञ्चल अस्पतालको कम्पाउन्डसँगै जोडिएको छ । सुविधाका कारण नेपालगन्ज कारागारमै बस्न रुचाउनेको संख्या अत्यधिक भएकाले कैदीको संख्या बढिरहेको युनुसको भनाइ छ । अहिले कारागारमा ५९ विदेशी छन् । त्यसमा ५७ भारतीय र २ बंगलादेशी छन् । कैदीबन्दीहरूले यसै कारागारमा बस्नका लागि राजनीतिक पार्टीका नेताबाट दबाब दिन लगाउने गरेको निमित्त प्रमुख लामिछानेले बताए ।

उनले भने, ‘क्षमताभन्दा बढी कैदी भएर हामीलाई समस्या भइरहेको छ । तर, सजाय काट्न यहाँ आउन चाहनेले राजनीतिक पार्टीको दबाब दिन लगाउँछन् ।’ कैदीको संख्या थपिँदै गए अझै समस्या आइपर्ने लामिछानेले बताए । कारागार व्यवस्थापनका लागि १६ जनाको दरबन्दी भए पनि १० कार्यरत छन् । त्यसमा १० सहयोगी छन् ।

एक महिनाअघि नेपालगन्ज उपमहानगरपालिकाले कारागारलाई १ लाख ५० हजार रकम छुट्याएको छ । डुडुवा गाउँ पालिकाका प्रमुखले कारागारलाई १ लाख ५० हजार दिने प्रतिबद्धता जनाएको लामिछानेले बताए । कारागार परिसरमा नयाँ भवन बनाउन समस्या छ । सहयोग रकम पानी टयांकी र पुस्तकालयमा खर्च गर्ने कारागार प्रशासनको योजना छ ।

कारागारमा अहिले पुरुषका लागि तीन सय र पाँच सय लिटर क्षमताका गरी तीनवटा टयांकी छन् । महिलाका लागि भने पाँच सय लिटर क्षमताको एउटामात्र छ । पुरुषका लागि पिउने पानीसँगै बस्ने समस्या पनि रहेको खानले बताए ।

 

 

 

   

 

प्रकाशित: २७ पुस २०७४ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App