पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि यस क्षेत्रमा भएका अनेकौँ साना राज्यहरूका जनता अत्यन्त निरंकुश शासनमा जकडिएका थिए । जब साना राज्य सबै मिलाएर एकीकरण भयो त्यसपछि साना राज्यका रैती र सबै जातजातिले स्वतन्त्रता प्राप्त गरेको महसुुस गरे । ‘जग्गामाथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीतिले सबै राज्यहरूमा ठूलो प्रभाव परेको थियो । अर्कोतर्फ नेपालको एकीकरणपछि सबै राज्यका जातजातिहरूको रीतिथिति, संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिका रूपमा ग्रहण गराइयो । अनेकौँ जातीय भाषाहरूको बीचमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीहरूको साझा भाषाका रूपमा राज्यको सरकारी भाषाका रूपमा स्वतः रूपान्तर हुँदा नेपालको राष्ट्रिय एकतामा थप बल पुग्न गयो । विशाल नेपालको एकीकरणपछि नेपालको राष्ट्रियता, स्वतन्त्रता र समानताका लागि मार्गदर्शन गर्दै पृथ्वीनारायण शाहले नेपाल राज्यको जिम्मा नेपाली सन्ततिहरूलाई छोडेका थिए ।
उनले भनेका थिए, ‘यो राज्य दुई ढुङ्गाको तरूल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध) राख्नु, दषिनको समुन्द्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ ।’ राष्ट्रनिर्माताका दिव्य उपदेश सम्पूर्ण नेपालीहरूका लागि सधँै अजरअमर छन् । नेपालको राष्ट्रिय एकीकरणको अभियानमा काठमाडौँ उपत्यका विजयपछि शाक्यवंशकी कुमारीको हातको टिका लगाएर नेवार, मगर, गुरुङ, खस, ठकुरी, ब्राह्मण लगायत कामी, दमाई, सार्की आदि जातिहरूबाट सहयोग पुग्न गएकाले सम्पूर्ण जातजातिहरूले आत्मसात् गरेर सहयोग गर्नपुगेका थिए । यस क्षेत्रका सबै जातजातिको नेपाल एक साझा भूमि हो ।
एकीकृत नेपालको पूर्व र पश्चिमका सबै साना राज्यहरू मिथिला क्षेत्र, सेनवंशी राज्यहरू तथा लुम्बिनी क्षेत्रका हिन्दु र बौद्ध धर्मका अनुयायी भएकाले नेपालको एकीकरणमा थप सहयोग पुग्न गएको थियो । भौगोलिक र सांस्कृतिक हिसाबले हाम्रो देश भारतसँग नजिक छ । भारतीय जनता र नेपाली जनताबीच युगौँयुगदेखि सांस्कृतिक, धार्मिक हिसाबले सुमधुर सम्बन्ध छ । तर नेपालको एकीकरण भएको बेलादेखि नै नेपाललाई दक्षिणतर्फबाट अनेकौँ षड्यन्त्रहरू अपनाएर थिचोमिचो गर्ने कार्य हुँदै आएका छन् । यसले नेपाल भारत दुवै देशको हित गर्दैन ।
फ्रान्समा निरंकुश राजतन्त्रको अन्त्य (सन् १७७९) हुनुभन्दा अगाडि नै पृथ्वीनारायण शाहले सन् १७६८ मा नेपालको एकीकरण गर्दै उसैबेलामा प्रजातान्त्रिक मूल्य तथा मान्यता स्थापित गर्न खोजेका थिए । नेपालको एकीकरण भएका बेला अहिलेको विश्वका प्रभावशाली राष्ट्रहरू टुक्राटुक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको १०० वर्ष पछाडि टुक्राटुक्रामा विभाजित जर्मनीलाई विस्मार्कले एकीकरण गरेका थिए । नेपालको एकीकरण हुनुभन्दा १०० वर्ष पछाडि जर्मनीजस्तै टुक्राटुक्रामा विभाजित इटाली कबुर र ग्यालिभर्दीजस्ता सपूतहरूको नेतृत्वमा विशाल इटलीमा परिणत भयो । त्यस्तै नेपालको एकीकरण भएको १०० वर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापानमा मेजी रेस्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बन्यो । नेपालको एकीकरण हुनुभन्दा २०–२५ वर्षसम्म पनि अमेरिकामा बेलायतको उपनिवेश थियोे । अमेरिका, जर्मन, इटाली, जापान लगायत यस्ता कैयौँ देश अन्धकारमा रहेका अवस्थामा पनि अंग्रेजले यसक्षेत्रलाई आफ्नो कब्जामा राख्न सकेको थिएन ।
पृथ्वीनारायण शाहको व्यापार नीति भोटबाट सुन खरिद गर्ने र उक्त भारतमा सुन लगेर बिक्री गर्ने र त्यहीबाट सस्तोमा चाँदी खरिद गरी उक्त चाँदीको टक बनाई तिब्बतमा पठाउने नीति ल्याएका थिए । चाँदीका नेपाली टक तिब्बतमा प्रचलित थियो । महेन्द्र मल्लका पालादेखि चलेको चाँदीका मोहर केही पछि देखि खोटा मोहर बन्न लागेकामा टक्सार पनि चोखो चलाउनु भन्दै शुद्ध मोहर मात्र तिब्बतमा पठाउन आदेश गरेका थिए । पृथ्वीनारायण शाहले उद्योग तथा सिँचाइ बारेमा देशलाई स्वाबलम्बन बनाउनका लागि भाइ–भारदारहरूलाई निर्देशन गरेको थिए, ‘खानी भएका ठाउँमा गाउँ भए पनि गाउँ अरू जग्गामा सारीकन पनि खानी चलाउनू । खेतीयोग्य जग्गामा घर भए पनि घर अरू जग्गामा सारी कुुलो काटी खेत बनाई आवाद गर्नु ।’ नाचगान बारेमा पृथ्वीनारायण शाहले दिव्य उपदेशमा उल्लेख गरेका छन्, ‘राग–तानमा बढो ठूलो मोह हुन्छ र दौलत पनि रित्तिन्छ, देशको भेद पनि तिनै नाचगान गर्ने मुग्लानीयाले लैजान्छन् र हरीपले दगा गर्छ । देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने कुरा उनले आफ्ना उपदेशमा उल्लेख गरेका थिए । पृथ्वीनारायण शाहले भनेका थिए, ‘आफ्नो शोखसयललाई शास्त्रबमोजिमको तीन सहर नेपालका नेवारहरूका नाच भिकाई हेरे पनि हुन्छ । यिनमा दिएको पनि आफ्नै देशका रहन्छ । यसो भए आफ्नो देश सुरक्षित हुन्छ ।’
पृथ्वीनारायण शाहले हिमवत् खण्डका स–साना हिन्दु राज्यहरूको एकीकरण गर्नमा पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा पूर्वमा टिष्टा र पश्चिममा सीमलासम्मका संकटमा पर्न लागेका ५४ भन्दा बढी हिन्दु राज्यहरू एकीकरण गरेर विशाल नेपालको सिर्जना भई विश्वको एक मात्र हिन्दु अधिराज्यका रूपमा स्थापित हुन सकेको हो । पृथ्वीनारायण शाहको नेतृत्वले गर्दा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत् खण्डको मौलिकतालाई जीवन्त राखियो । यसरी पृथ्वीनारायण शाहबाट भएका त्याग र बलिदानबाट नेपालको एकीकरण जसरी भयो त्यसरी नै हामी नेपालीहरूले यो राष्ट्रको संरक्षणमा समर्पित हुनसक्नु पर्छ । राष्ट्रनिर्माताको सन्देश– ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने उपदेशलाई सबैले मनन गरौँ ।
प्रकाशित: २७ पुस २०७४ ०४:०९ बिहीबार