७ वैशाख २०८१ शुक्रबार
अर्थ

राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा सामुदायिक ‘होम स्टे’

पाल्पा– राष्ट्रपति चुरे संरक्षण क्षेत्र तिनाउँ गाउँपालिका–४, कोल्डाँडाको लगाढमा घरबास ‘होम स्टे’ (घरबास) सुरु भएको छ । चिच्याएर वर माग्ने मेला लाग्ने स्थान सत्यवति ताल नजिकै मगर समुदायमा ‘सत्यवती ताल सामुदायिक होम स्टे’ सुरु गरिएको हो ।
‘होम स्टे’ उद्घाटन गर्दै राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य डा. मोति रिजालले पर्यापर्यटनलाई प्रचारप्रसार गर्न कार्यक्रम सुरु गरिएको बताए । उनी भन्छन्, ‘प्राकितिक, धार्मिक तथा साँस्कृतिक पहिचान स्थापित गरेको सत्यवति क्षेत्रमा मगर समुदायको आफ्नै मौलिकता छ । यहाँको स्थानीय परिकार र आतित्यथासँगै स्वच्छ प्राकृतिक वातावरणमा रमाउन पाइनेछ ।’ उनले होम स्टे सत्यवतितालसँग सम्बन्धित भएकाले यसको दिगोपन तथा प्रचारप्रसारका लागि स्थानीयहरु लाग्नुपर्ने बताए ।
जिल्ला वन अधिकृत दधिलाल कंडेलले तेजपातको राजधानीको रुपमा पहिचान बोकेको सत्यवति क्षेत्रमा होम स्टे कार्यक्रमले पर्यटन व्यवसायमा थप टेवा पुग्ने बताए । ‘प्राकृतिक रुपमा भरपुर सम्भावना भएको स्थानमा यहाँको मेला अवलोकन तथा सत्यवति बज्यैको मन्दिर दर्शन गर्न आउने पर्यटकलाई सहजता हुने भएको छ । स्थानीय परिकार, स्थानीय उत्पादनबाटै बनाएर यहाँको सँस्कृतिको प्रस्तुति गरेर धार्मिक क्षेत्रको प्रवद्र्धन हुनेछ,’ कँडेलले भने । उनी भन्छन्, ‘यहाँको तेजपात र दालचिनीको बजारीकरण गर्ने हो भने जीविकोपार्जनमा समेत टेवा पुग्नेछ ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र दोभान गाउँपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन समन्वय समितिको समन्वयमा होमस्टे सुरु गरिएको हो । समितिले यस क्षेत्रको संरक्षणका लागि दुई वर्षको अवधिमा नौ लाख रुपैयाँ र होम स्टे सुरु गर्न दुई लाख रुपैयाँ सहयोग गरेको समितिका उपसचिव टोपबहादुर श्रेष्ठले बताए । उनी भन्छन्, ‘चुरे क्षेत्रको संरक्षण तथा संवद्र्धनमा होम स्टेले थप मद्दत पुग्नेछ ।’
‘पर्यटक पाहुना हुन् । उनीहरुलाई खाना, बास, स्वागत तथा सुरक्षा जस्ता कुराहरुमा हामीले ध्यान दिनुपर्छ । संस्कृतिको जगेर्नासँगै राम्रो आयआर्जनको माध्यम बन्ने विश्वास लिएका छौं,’ तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले भने, ‘धार्मिक वन क्षेत्रको व्यवस्थापन, स्थानीय संस्कृति मगर नृत्य करुवा, मारुनी झाम्म्रे, ठूलो नाच जस्ता नृत्य यहाँ हुन्छ । यसको पनि संरक्षण हुनेछ ।’
सत्यवति क्षेत्रमा रहेका ४० घरहरुमा होमस्टे सञ्चालन गर्ने योजना रहेपनि अहिले पाँच घरबाट सुरु गरिएको सत्यवती ताल सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश गाहाले बताए । उनले होम स्टेसँगै यस क्षेत्रको हरेक पक्षको विकासका लागि आफूहरु लागि परेको बताए । उद्घाटनका अवसरमा विभिन्न मगर सँस्कृतिको प्रदर्शनसमेत गरिएको थियो ।
कार्तिक शुक्ल पूर्णीमाको दिन यस क्षेत्रमा चिच्याएर बर मागिने सत्यवती बज्यैको मेला तीन दिनसम्म लाग्ने गर्छ । ‘सत्यवति मेला’ सत्यवति बज्यै बैरी छन् । बैरी देवीले सुन्ने गरी बर माग्नुपर्छ । त्यो बर एउटामात्र माग्नुपर्छ । देवीले सुनेमा भाकल पूरा हुन्छ भन्ने जनविश्वासका कारण ठूलो संख्यामा दर्शनार्थिहरु यस क्षेत्रमा पुग्ने गर्छन् ।

प्रकाशित: २७ पुस २०७४ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App