coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धुर्मुसको एकीकृत बस्ती निर्माणमा आर्थिक अभाव

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेकाे राैतहटकाे सन्तपुर बस्तीकाे घर । तस्बिर साैजन्य : धुर्मुसकाे फेसबुक

काठमाडौँ – धुर्मुस सुन्तली फाउण्डेसनले बनाइरहेको रौतहटको एकीकृत नमुना सन्तपुर बस्ती निर्माण कार्य सम्पन्न हुन केही बाँकी रहँदा निर्माणका लागि रकम अपुग भएको छ। 

गत साउन २८ गते आएको बाढीले सन्तपुर बस्ती डुबानमा पारेपछि पुनः निर्माणमा जुटेका हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुसले उक्त बस्ती निर्माणका लागि १ करोड ५० लाख अपुग भएको बताए। 

बस्ती निर्माणका लागि ५ करोड ९५ लाख अनुमानित लागत रहेकोमा ४ करोड ३१ लाख भन्दा बढी खर्च भैसहेको र बाँकी रकम अपुग भएको उनले जनाए। 

माघ २४ गते बस्ती हस्तान्तरण गर्ने संकल्प लिएको भए पनि माघ २१ गते अगावै बस्ती हस्तान्तरणको तयारीमा रहेका उनले आर्थिक संकटले गर्दा तोकिएको दिनमा हस्तान्तरण गर्न असहज भएको बताए । साथै उनले अझै केही दिन बाँकी रहेकोले आर्थिक सहयोग जुट्नेमा आशावादी रहेको बताए।  

हाल शीतलहर पीडितलाई कम्बल वितरणमा व्यस्त उनले भने, ‘हालसम्म हामीले बस्ती निर्माणको लगभग लगभग सबै कार्यहरू सम्पन्न गरिसकेका छौँ, तर सबै कार्यको रकम भुक्तानी गर्न सकेका छैनौँ,  अब १ करोड ५० लाख रकम अपुग छ त्यो पनि हामीलाई सहयोग मिल्छ भन्नेमा पूर्ण आशावादी छौँ।’

उनका अनुसार हाल ४ कोठा भएको २ तले आवासीय घर ४७ वटा,  ४० फिट अग्लो भ्यू टावर, क्लबघर, एउटा सामुदायिक भवन, प्राथमिक विद्यालय, मन्दिर, चिल्डेन पार्क, सहयोगीको नाम राखिएको स्तम्भ निर्माण भइसकेको छ भने धारा निर्माण, बिजुली बत्ती जडान, भित्री सडकमा ढुंगा छाप्नेलगायतको काम भइरहेको छ। 

यसअघि काभ्रे, सिन्धुपाल्चोक र बर्दिवासमा एकीकृत बस्ती निर्माण गरिसकेका उनले यो बस्ती निर्माणमा पनि आर्थिक सहयोग जुटेकोमा खुसी व्यक्त गर्दै भने, ‘ लगभग लगभग सबैले भुलिसकेको बाढी पीडितको यो बस्ती निर्माणमा हाम्रो फाउण्डेसनलाई विश्वास गरी देश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई भित्री हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । निर्वाचन तथा अन्य विषयले गर्दा ओझेलमा परेको बाढी पीडितको बस्ती निर्माणमा पनि हाम्रो फाउण्डेसनलाई विश्वास गरी सहयोग गर्नुभएको छ । अब बाँकी रकम पनि चाँडै नै जुट्छ भन्नेमा पूर्णरुपमा आशावादी छु।’

साथै उनले हाल शीतलहर तथा चिसोबाट ग्रसितहरूलाई एनआरएनए आरसीसी चाइनाको सहयोगमा कम्बल वितरण गरिरहेको जानकारी दिए। फाउण्डेसनले अहिलेसम्म बारा, रौतहट, सर्लाही, सिरहा, सप्तरीका पीडितहरूलाई कम्बल वितरण गरिसकेको छ भने मोरङ र सुनसरीमा पनि वितरण गर्ने तयारीमा रहेको छ। 

प्रकाशित: २७ पुस २०७४ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App