८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

भाइरल नियन्त्रण गर्न स्वास्थ्य शिविर र चेतना फैलाउन अभियान तिव्र

जाजरकाेट जुनीचाँदेको  वडा नम्वर २ मजकोटमा  भाइरलका विरामीको उपचार  गर्दै  डाक्टर पवन शाक्य । तस्विर:नागरिक

जाजरकोट– तीन सातादेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रण गर्न जिल्लाका विभिन्न गाउँहरुमा  स्वास्थ्य शिविर र चेतनामुलक अभियान तिव्र पारिएको छ ।  भाइरलबाट अहिलेसम्म १२ जनाको मृत्यु भइसकेपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मीहरुले उपचार र जनचेतना फैलाउने अभियान तिव्र पारेका हुन् । 

जाजरकोट भाइरल अपडेट

  • तीन सातामा १२ को मृत्यु
  • भाइरल पीडित २५ सय मध्ये अझै हजार जना उपचारको पर्खाइमा
  • तीन ठाउँमा स्वास्थ्य शिविर
  • जनचेतना अभियानका लागि ६ वटा समूह खटाइए
  • नेपाली सेना, रेडक्रस र स्थानीय प्रतिनिधि विरामीको उपचार र  भाइरलवाट वच्ने उपाय सिकाउँदै
  • जुम्लाबाट पनि स्वास्थ्यकर्मी झिकाइए, शुक्रवार भाइरल प्रभावित क्षेत्रमा पुग्ने

बिहीवारसम्म भाइरलका १५ सय विरामीको उपचार भइसकेको र हजार वढी विरामीहरु उपचारको पर्खाइमा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । भाइरल ज्वरोवाट प्रभावित जुनीचाँदे गाउँपालिकाका  वड्कुले, मौगान, डाडाकोट, आली, वेसीपाटा, कोर्ताङ,पराले, मजकोट, भैरवटोल, स्याला, लगाएतका  गाउँहरुमा  फैलिएको भाइरल ज्वरो नियन्त्रणका लागि तीन स्थानमा स्वास्थ्य शिविर र स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिका ६ वटा समुहलाई  गाउँगाउँमा स्वास्थ्य शिक्षा दिदै, औषधी र उपचार गर्दै परामर्श गर्न मोवाइल शिविर चलाउन व्यस्त रहेको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रामवहादुर नेपालीले वताए। उनले प्राथमिक  स्वास्थ्य केन्द्र गर्खाकोटका  प्रमुख डाक्टर पवन शाक्यले जुनीचाँदेको मजकोटस्थित भैरव मावि र जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर भुपेन्द्र प्रकाश मल्लले  डाडाकोट र स्वास्थ्य चौकी वड्कुलेवाट एच ए लक्ष्मण शाहले शिविर मार्फत विरामीको उपचार गरिरहेको वताए ।   
जाजरकोटका जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले वुधवारसम्म एक हजार २ सय ३९ जनाको उपचार भइसकेको र विहिवार पनि दुइ सय बढीको उपचार गरिएको वताए । गाउँमा प्रकोप नियन्त्रण गर्न  र  विरामीहरुको ज्यान वचाउनका लागि दुई जना चिकित्सकसहित १५ जना स्वास्थ्यकर्मीहरुलाई पुर्ण रुपमा परिचालन गरिएको प्रमुख नेपालीले वताए । 

गाउँमा जता गएपनि  विरामीहरु भेटिन गरेको र उनीहरुको उपचारका लागि आफुहरु वस्तीवस्तीमा पुग्ने गरेको  प्रभावित क्षेत्रमा  खटिएका  प्राथमिक स्वास्थ्य केन्द्रका  डाक्टर पवन शाक्यले वताए । पर्याप्त औषधी पुर्याउन नसके प्रकोप अझै बढ्न सक्ने शाक्यले बताए । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयवाट खटिएका  डाक्टर भुपेन्द्र मल्लले पनि  गाउँका जनतामा चेतनाको अभाव रहेका कारण भाइरलको प्रकोप बढेको वताए । 

प्रकोप प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल रेडक्रस र स्थानीय जनप्रतिनिधिहरुले विरामीको उपचार र भाइरलवाट वच्ने उपायाहरु सिकाउने अभियान चलाएको स्थानीय रेशमवहादुर खड्काले बताए। सुरुमा भाइरल नियन्त्रणका लागि खटिएका डाक्टर पवन र अन्य स्वास्थ्यकर्मीहरुलाइ काम गर्न समस्या परेपछि जिल्ला स्वास्थ्य कार्यालयवाट डाक्टर  मल्ल  रेडक्रसका स्वयंसेवकहरुसहित प्रभावित क्षेत्रमा खटिएका छन् । त्यस्तै  जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा  विरामीको उपचारमा  सघाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका वालरोग विशेषज्ञ नम्रता सिन्दान र मेडिकल अधिकृत सुर्य चौधरी पनि जाजरकोट पुगेका छन् । उनीहरु शुक्रवार मात्र प्रभावित क्षेत्र जुनीचाँदेमा पुग्ने जिल्ला  स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन कृष्णवहादुर खत्रीले वताए । उनका अनुसार गाउँमा वालवालिका र वृद्धवृद्धाहरुमा भाइरलको प्रकोप देखिएपछि प्रतिष्ठानका विशेषज्ञहरु वोलाइएका हुन् । 

 

 

प्रकाशित: २७ पुस २०७४ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App