८ वैशाख २०८१ शनिबार
कला

हनिमुनमा हिमपात

मुम्बई – फिल्म ‘हेट स्टोरी’बाट बलिउड फिल्ममा डेब्यु गरेकी  बंगाली नायिका पाओली दमले पहिलो फिल्ममा दिएका उनको बोल्ड दृश्यले रातारात चर्चामा आइन् । तर, उत्तेजक सिन दिए पनि अभिनेत्रीको रुपमा उनको करिअर खासै गति लिन सकेन ।  गत महिनामात्र उनले विवाह गरेर फिल्मलाई ‘गुडबाई’ गरेकी थिइन् । तर, हनिमुनका क्रममा स्विजरल्यान्ड पुगेको जोडी त्यहाँ फसेपछि फेरि चर्चाको केन्द्रमा आएको छ । 

गत डिसेम्बर ४ मा गुवाहाटीका रेष्टुरेन्ट मालिक अर्जुन देवसँग पाओलीले विवाह गरेकी थिइन् । उनको विवाहमा उनको परिवारका सदस्य, केही आफन्त र साथीको मात्र सहभागिता थियो । विवाहपछि यो जोडी हनिमुन मनाउन स्विट्जरल्यान्डको हिउँ ढाकिएको इलाकामा पुगेको थियो । रोमान्सका लागि उपयुक्त थलो मानिएको यो ठाउँ पाओली जोडीका लागि भने पीडादायी बन्यो ।

हनिमुन मनाउन गएको यो जोडी भीषण हिमवर्षाको चपेटामा परेपछि  मुस्किलले ज्यान बचाएर फर्किएको छ । भारतीय सञ्चारमाध्यमले अत्यधिक हिमपातका कारण सो क्षेत्र संकटग्रस्त बनेपछि सरकारले सो क्षेत्र खाली गराएको बताएका छन् । समाचारमा उल्लेख भए अनुसार पाओली श्रीमानका साथ त्यहाँको  स्की रिसोर्टमा बसेका थिए । हिमपातका कारण उनीहरूको सञ्चार सम्पर्कसमेत टुटेको थियो । हिउँ पर्ने क्रम नरोकिएपछि रेल्वे ट्रयाकको बाटो पनि पूर्ण रूपमा बन्द भएपछि सरकारले सो ठाउँमा बसेका सबैको उद्धार गरेको थियो ।

चिसोकै कारण बिरामी भएकी पाओलीलाई त्यहाँको सरकारले हेलिकप्टरबाट उद्धार गरेको जनाएको छ ।  पाओली र उनका पतिसँगै त्यहाँ फसेका पर्यटकलाई पनि सुरक्षित स्थानमा लगिएको थियो । पाओलीले ‘अंकुर आरोरा मर्डर केस’, ‘यारा सिलीसिली’आदि फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु रहेको ‘हेट स्टोरी’ हिट फिल्म मानिन्छ ।
 

प्रकाशित: २८ पुस २०७४ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App