६ वैशाख २०८१ बिहीबार
अर्थ

‘उत्पादनमा अनुदान दुग्ध उत्पादक किसानका लागि उत्तम,’

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको बुधबार सम्पन्न साधरण सभामा सहभागी । तस्बिर ; नागरिक

चितवन- दूध उत्पादन गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको दूधमा नै अनुदान दिनु लाभदायक देखिएको बुधबार भरतपुरमा सम्पन्न एक कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औं वार्षिक साधरणसभामा बोल्ने वक्ताहरुले त्यस्तो धारणा राखेका हुन् । वक्ताहरुले अनुदानको दर र दायरा बढाउन सरकारसँग माग पनि गरे ।
आव ०७३-७४ बाट सरकारले सहकारीमा दूध बेच्ने किसानहरुलाई उनीहरुले पाएको मूल्यमा थप एक रुपैयाँ अनुदान दिने नीति लिएको थियो । दुग्ध उत्पादक केन्द्रीय सहकारी संघको विशेष पहलमा सरकारले यस्तो व्यवस्था थरेको साधरण सभामा बोल्दै दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका सञ्चालक भागिरथ तिमिल्सिनाले बताए ।

दिनमा एक हजार लिटरभन्दा बढी दूध संकलन गर्ने सहकारीमा दूध बेच्ने किसानका लागि सरकारले अनुदानको व्यवस्था गरेको थियो । अहिले दिनमा तीन सय लिटर दूध संकलन गर्ने सहकारीले पनि यस्तो अनुदान पाउनुपर्छ भन्ने माग आफूहरुको रहेको तिमिल्सिनाको भनाइ छ । दूधमा यसरी अनुदान दिन सरकारले अघिल्लो आवमा सात करोड रुपैयाँ छुट्याएको थियो ।

जसमध्ये चितवनमा दुई करोड ४८ लाख रुपैयाँ अनुदानको रुपमा आएको थियो । सरकारले यो वर्ष अनुदानका लागि १० करोड रुपैयाँ छुट्याएको केन्द्रीय सञ्चालक तिमिल्सिनाले जानकारी दिए । साथै यस्तो अनुदानको रकम प्रतिलिटर प्रतिवर्ष एक रुपैयाँ थप हुँदै जानुपर्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटडका अध्यक्ष हरिहर सुवेदीले माग गरे ।

‘अन्य तरिकाले अनुदान दिनुभन्दा किसानका लागि उनीहरुले उत्पादन गरेर बिक्री गरेको दूधमा नै अनुदान दिनु राम्रो र प्रभावकारी देखिएको छ । यस्तो अनुदानले किसान प्रोत्साहित भएका छन् । तर अनुदानको दर र दायरा भने फराकिलो बनाउँदै लैजानुपर्छ,,’ अध्यक्ष सुवेदीले भने । दुग्ध व्यवसायमा लागेका किसानले राहत अनुभव गर्ने कार्यक्रम बढाउने पनि उनले सरकारसँग माग गरे ।

दुग्ध उत्पादनमा संलग्न किसानको अनुसार सहकारीले किसानको दूधलाई सरदर प्रतिलिटर ५० रुपैयाँ तिर्दै आएका छन् । त्यसमा सरकारले एक रुपैयाँ अनुदान दिदा पनि ठूलो राहत अनुभव गर्नु पर्ने अवस्था रहेको उनीहरु बताउँछन् । दैनिक हजार लिटरभनदा माथि दूध संकलन गर्ने सहकारी थोरै नै थिए । त्यसैले तीन सय लिटर संकलन गर्नेले पनि अनुदान पाए धेरै राम्रो हुने सहकारीका पदाधिकारीको भनाइ छ ।
यसका साथै किसानले दूधको उचित मूल्य अझै पाउन नसकेको गुनासो पनि उनीहरुले गरे । ‘दूधको लागत मूल्य बढ्दो छ । त्यो अनुसारको बिक्री मूल्य किसानले पाएका छैनन् । लागत के कसरी घटाउन सकिन्छ यसमा पनि चिन्तन मनन हुन आवश्यक छ । साथै किसानका प्रतिनिधि, डेरी उद्योगी र सरकारका प्रतिनिधि रहेको अधिकार सम्पन्न मूल्य निर्धारणा आयोग गठन हुनु पर्छ,’ संघका चितवन अध्यक्ष हरिहर सुवेदीले माग गरे ।

चितवनमा दूध उत्पादनमा सक्रिय एक सय ४६ वटा सहकारी संस्था छन् । यी सहकारीमा दैनिक दुई लाख लिटरको हाराहारीमा दूध संकलन हुन्छ । एकजना व्यक्तिले दिनमा औसतमा दुई सय ५० ग्राम दूध खानुपर्ने हुन्छ । तर अहिले नेपालमा एक सय ४४ ग्राम खाने गरेको अध्यक्ष सुवेदीले बताए । त्यसैले दूधको उत्पादन बढाउन आवश्यक देखिन्छ । तर किसानले उत्पादन गरेको दूधले राम्रो मूल्य नपाउने मात्रै होइन बिक्री नै हुन पनि गाह्रो छ ।

खासगरी नेपालमा धुलो दूध उत्पादन गर्ने राम्रो कारखाना नहुँदा कुनै समयमा किसानले उत्पादन गरेको दूध बिक्री हुन गाह्रो हुने गरेको छ । ‘यो समस्या हटाउनका लागि धुलो दूध कारखाना राम्रोसँग चलाउन आवश्यक छ । तर नेपालमा सथापना भएको एउटा ठूलो धुलो दूध काराखान चितवन मिल्क लामो समयदेखि बन्द छ । यसलाई चलाउन हामी माग गर्दछौं,’ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष सुवेदीले भने ।


चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको बुधबार सम्पन्न साधरण सभामा सहभागी ।

 

प्रकाशित: २८ पुस २०७४ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App