१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रत्ननगर र गैंडाकोटमा महोत्सव सुरु

चितवन- रत्ननगर उद्योग वाणिज्य संघको आयोजानमा टिकौली जंगल नजिकको चौरमा बिहीबारबाट नवौं रत्ननगर महोत्सव सुरु भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको महोत्सव १० दिन अर्थात माघ ७ गतेसम्म सञ्चालन हुने छ । महोत्सव परिसरमा बाँस र कपडा प्रयोग गरेर निर्माण गरेको धरहरा रत्ननगर महोत्सवको मुख्य अकर्षण बनेको छ । रत्ननगर महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाका चार सय ५० स्टल रहेका छन्  । पाँच लाख दर्शकले महोत्सव हेर्ने र  करिब ५० करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।

महोत्सव अवधिमा वृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, पोली हाउससहितको थोपा सिँचाइ प्रविधि प्रदर्शन, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविरजस्ता गतिविधि हुने छन् । महोत्सवमा पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई प्रवद्र्धन गर्न विशेष जोड दिएको कृषि प्रवद्र्धन समितिका संयोजक इश्वरीप्रसाद अर्यालले बताए ।

स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबिजन प्रदर्शनको व्यवस्था गरिएको छ । माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर छन्  । माछा, च्याउ र केराको विभिन्न परिकार बनाई महोत्सव परिसरभित्रै बिक्री गरिने छ ।

माछापालन व्यवसायको प्रवद्र्धनका लागि महोत्सवमा माछाको भूरा प्रदर्शनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल, चेतनामुलक सामग्री, श्रव्यदृश्य तथा सेमिनारसमेत अयोजना हुने छ । रत्ननगर अर्थात पूर्वी चितवन, माछा, मह र केरा उत्पादनका लागि राम्रो क्षेत्रको रुपमा विकशित हुँदै गएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा बाँसबाट बनेको धरहार ७५ फिट अग्लो छ । धरहराको ३० फिटबाट बाहिर हेर्न मिल्ने छ । महोत्सवको अर्को आकर्षणको रुपमा परापूर्वकालमा राजामहाराजाले चढने रथ (बग्गी) र घोडा चढ्ने व्यवस्था मिलाइएको छ ।

महोत्सव अन्र्तगत माघ २ गतेदेखि ६ गतेसम्म रत्ननगर टाँडी बजार क्षेत्रमा बंगुरपालन व्यवसाय  प्रवद्र्धनका लागि बंगुरका मासुका परिकारको स्टल रहने छ । बंगुरपालन व्यवसाय प्रवद्र्धनका लागि बंगुरसँग सम्बन्धित मासुको खपत बढाउन, उपभोक्तालाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकारसहित पोर्क, पोल्ट्री, कृषिका खाद्य परिकारसहित चौथौ राष्ट्रिय पोर्क फुड फेस्टिबल कार्यक्रम आयोजना गरिएको संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए । फुड फेस्टिबलमा ५० वटा स्टल रहने छन् ।

गैंडाकोटमा पनि महोत्सव सुरु
चितवन नारायणगढसँग जोडिएको नवलपुरको गैंडाकोटमा पनि बिहीबारबाटै गैंडाकोट महोत्सव सुरु भएको छ । गैंडाकोट उद्योग वाणिज्य संघले पुलचोक नारायणी नदी किनारमा आयोजना गरेको महोत्सव उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबाट भएको हो । गैंडाकोट महोत्सव माघ ८ गतेसम्म चल्ने छ ।

महोत्सवमा तीन सय २० स्टल रहेका छन् । महोत्सवका प्रमुख आकर्षणमा स्थानीय उत्पादनका सामग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, व्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान रहेका छन् । महोत्सवमा बंगलादेश, श्रीलंका, भारत, भुटान, पाकिस्तानका अन्तर्राष्ट्रियका साथै स्वदेशी उत्पादनका स्टलसमेत रहेको आयोजक संस्था उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए ।

खिचरा महोत्सव पनि हुँदै
चितवनकौ मैदानी क्षेत्रमा थारु समुदायको बाक्लै बसोबास छ । आदिवासी समुदाय थारुहरुले माघे संक्रान्तिलाई माघी पर्व भन्दछन् । माघीलाई थारु समुदायले विषेश पर्वको रुपमा मनाउने गर्छन् । माघीको अवसर पारेर आज शुक्रबारदेखि पुर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुँदैछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले महोत्सव आयोजना गरेको हो । यो पाँचौं खिचरा महोत्सव हो ।

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान’ भन्ने नारासहित आयोजना हुने खिचरा महोत्सव पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा हुने छ । महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले पहिलेको भन्दा यसपटक महोत्सवको आकर्षण थपिएको जानकारी दिए ।


उनले थारु संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको बताए । यसवर्ष महोत्सवको अर्को आकर्षणको रुपमा थारु जतिको मुख्य खानाको परिकार ‘घोङघी’ र ‘चिच्चर’को पाँच फिटको विशाल मूर्ति प्रदर्शनमा राखिने छ ।


महोत्सवमा करिब दुई सय व्यावासायिक स्टल राखिने छन् । महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्वसवमा करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले बताए ।

रत्ननगर महोत्सवमा बनाइएको धरहराको स्वरुप । बाँसले बनाएर कपडाले बेरेको यो धरहरा चढ्न पनि मिल्छ ।

प्रकाशित: २८ पुस २०७४ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App