पृथ्वीनारायणको गल्ती के ?

शुक्रबार, २८ पुष २०७४, १० : ३४ युवराज गौतम


नेपाल राष्ट्रको इतिहास, प्राचीन धर्म–संस्कृति, परम्परा, राष्ट्रिय सुरक्षा, मूल्यमान्यता, जातीय एवं क्षेत्रीय सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालगायत राष्ट्रलाई जोडेर राख्ने हरेक पक्षमा आज पक्षघात भएको देखिन्छ । राष्ट्रियतालाई शिथिल, छिन्नभिन्न र पंगु बनाउन उग्र वामपन्थीहरूलाई प्रयोग गरेर विदेशीहरूले पहिचानका नाममा जातीय, क्षेत्रीय र साम्प्रदायिक संकीर्णतालाई प्रोत्साहन दिन थाले । माओवादीको एजेन्डा स्वीकार गर्दै संसदीय पद्धतिमा विश्वास गर्ने दलहरूले समेत राष्ट्रियता कमजोर बनाउने खेलमा साथ थिए । त्यसमा बाह्य शक्तिको ठूलो लगानी रहेका संकेत देखिएका छन् । विदेशीको स्वार्थका लागि संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता रणनीतिक क्षेप्यास्त्रहरू प्रयोग गरियो । संविधानमा यही विखण्डनवादी चिन्तनलाई ‘ब्रह्मा, विष्णु, महेश’ बनाइयो । त्यसैले संविधानलाई अमर बनाउने कि राष्ट्रिय एकता जोगाउने ? गम्भीर प्रश्न खडा भएको छ । 

अमेरिकाका सोह्रौँ राष्ट्रपति अब्राहम लिंकनले सन् १८६४ मा घतलाग्दो कुरा लेखेका थिए, “सामान्य अवस्थामा प्राण र हातखुट्टा दुवै अवयवलाई बचाउने प्रयत्न गर्नुपर्छ, परन्तु असामान्य स्थितिमा प्राण बचाउनका लागि शरीरका अंगप्रत्यंग काट्नुपर्ने हुनसक्छ । तर हातखुट्टा बचाउनका लागि प्राण जान दिने सोच कसरी गर्न सकिन्छ र !” संविधान बचाउने कि राष्ट्रको अस्तित्व जोगाउने भन्ने चर्को बहस चल्दा उनले भनेका थिए, “संविधान होइन, राष्ट्र सर्वोच्च हुन्छ । पहिले राष्ट्र बचाउनु पर्छ ।”

वि.सं. १८३१ मा नुवाकोट दरबारमा भाइभारदारको बैठकमा पृथ्वीनारायण शाहले दिएको प्रवचन आज पनि अकाट्य छ।

‘फेडरालिज्म एन्ड वल्र्ड अर्डर’ पुस्तकमा चीनकी प्राध्यापक वाङ् लिपिङ्को तर्क छ, “चीनबाहेक कतिपय राष्ट्रले बोकेको संघीयताको अनुभव हेर्दा संघीयता भएका अठ्ठाइस राष्ट्रमध्ये एक्काइस राष्ट्र पहिले उपनिवेश थिए । तसर्थ त्यहाँ आर्थिक, सामाजिक र राजनीतिक विभेद हटाउने बहानामा संघीयता रोजियो । स्थानीय जनताले राष्ट्रिय एकताको अनुभूति गर्दै आफ्नै खालको स्थानीय स्वतन्त्रता भोग्न पाए भने समस्या हुँदैन तर राष्ट्रको एकता खल्बलिने अवस्था आएमा त्यो पीडादायक हुन्छ ।”

संघीयताबारे धेरै राष्ट्रको अनुभव सुखद पाइँदैन। राजतन्त्रको छत्रछायाँमा बसेर पछि गणतन्त्र अँगालेका अमेरिका र फ्रान्सजस्ता ठूला राष्ट्रमा शिक्षाको स्तर, आर्थिक समृद्धि, एउटै किसिमको धर्म–संस्कृति, भाषा एवं चिन्तनधाराले ठूलो उथलपुथल हुन पाएन। अफ्रिकाका ५४ राष्ट्रमध्ये तीनवटा राष्ट्रले संघीयता अपनाए। दक्षिण अफ्रिकामा जेनतेन त्यो चलेको छ भने इथियोपियाबाट इरिट्रिया टुक्रिनुको मुख्य कारकतत्व संघीयता नै मानिएको छ। नाइजेरिया त फुट र हिंसाले बदनाम नै छ।

भारतमा मोहनदास–करमचन्द गान्धी तथा जवाहरलाल नेहरूजस्ता संघीयतावादी अगुवाले राष्ट्र नै दुई टुक्रा बनाउन भूमिका खेले । लाखौँ जनताले विरोध गर्दागर्दै पचपन्न करोड रुपियाँ दाइजो दिएर पाकिस्तान नामको नयाँ राष्ट्र बन्यो, सन् १९४७ मा । कालान्तरमा पाकिस्तान पनि टुक्र्याइयो । सन् १९७१ मा पूर्वी पाकिस्तान नै ‘बंगलादेश’ नामको नवोदित राष्ट्र बन्यो । यसमा भारतीय गुप्तचर संस्था ‘रअ’ तथा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको कुटिल भूमिका थियो । इतिहासकार, लेखक र पुराना पत्रकारहरूले लेखेका छन्, “भारतबाट पाकिस्तान र पाकिस्तानबाट बंगलादेशको जन्म हुँदा तीस लाखभन्दा धेरै मानिस मरे । लाखौँ अपांग भए । लाखौँ शरणार्थी बन्न पुगे।”

भारत र पाकिस्तानको लडाइँमा प्राण बचाउन भागेर आएका कैयन् परिवार आज नेपालको झापा जिल्लामा समेत भेटिन्छन् । गृहयुद्धको पीडा कस्तो हुन्छ, पीडितलाई थाहा हुन्छ । नेपालीमा उखान छ, “खुकुरीको चोट अचानोलाई थाहा हुन्छ ।”

‘ग्लोबल फाइनान्स’ पत्रिकाले २५ वटा दरिद्र राष्ट्रको नाम प्रकाशित गर्‍यो । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता महत्वपूर्ण संस्थाको अध्ययन र तथ्यांकमा आधारित छ विश्लेषण । आफूलाई गणतन्त्रवादीदेखि लिएर धर्मनिरपेक्ष वा संघीयतावादी भनेर गर्व गर्ने कैयन् राष्ट्र छन्, भिखारी राष्ट्रको पंक्तिमा । किरिवाटी, अफगानिस्तान, हाइटी, तान्जानिया, गाम्बिया, युगान्डा, बुर्किनाफासो, रुवान्डा, इथियोपिया, माली, म्याडागास्कर, इरिट्रिया, मोजाम्बिक, नाइजर, बुरुन्डी, लाइबेरिया, मालाबी, कंगो र सेन्ट्रल अकन रिपब्लिक सबैतिर गणतन्त्र आज ‘गाँडतन्त्र’ साबित भएको छ । हामी त्यही बाटोमा दौडिरहेका छौँ ।


साना तथा कमजोर राष्ट्रमा राष्ट्रवादी शक्ति मास्ने, राष्ट्रिय एकताका आधार भत्काउने र पृथ्वीनारायण शाहजस्ता राष्ट्रवादी नायकहरूलाई बद्नाम गराउन सयाँै वर्षदेखि पश्चिमाले षड्यन्त्र गरिरहे । त्यही षड्यन्त्रको पुष्टि गर्न पृथ्वीनारायण शाहलाई पश्चिमा लेखकहरूले दानवका रूपमा प्रस्तुत गरे । 

विद्वान्हरू तर्क गर्छन्, “संघीयताले राष्ट्रको हित होइन, क्षेत्रीय हित मात्र हेर्छ । प्रान्त वा प्रदेशबीचमै तनाव ल्याउँछ । अधिकारको लडाइँ अनन्तकालसम्म चलिरहन्छ । राष्ट्रिय एकता खल्बल्याउँछ । एक–अर्काबाट देशवासीलाई टाढा बनाउँछ । जटिलता बढाउँछ । भ्रम सिर्जना गर्छ र संकीर्णतालाई मात्र मलजल गर्छ ।”

भारत नै उदाहरण छ, मध्यप्रदेश र दिल्लीभन्दा दक्षिणमा पर्ने महाराष्ट्र, उडिसा, केरला, तमिलनाडु, आन्ध्रप्रदेश, पण्डिचेरी, गोवालगायतका प्रान्तमा राष्ट्रभाषा (हिन्दी) लाई सम्मान गर्नेहरूको संख्या न्यून छ । उत्तरपूर्वी क्षेत्रका आसाम, मणिपुर, त्रिपुरा, सिक्किम, अरुणाचल, नागाल्यान्ड, मिजोरम र मेघालयमा हिन्दीको कुनै प्रभाव छैन । त्यहाँका कैयन् नेताले आफ्ना राज्यलाई सन् १९४७ पछि जबर्जस्ती भारतको संघमा विलय गरिएको बताउँदै असन्तुष्टि जनाइरहेका छन् । कास्मिरको कथा झन् हृदयविदारक र पीडादायक छ । सन् १९४७ मै जवाहरलाल नेहरूले कास्मिरबारे जनमतसंग्रह गर्ने वचन दिएका थिए, त्यो कहिले पनि पालना गरिएन । स्वतन्त्रताको माग गर्दै हजाराँै जनताले त्यहाँ प्राणोत्सर्ग गरेका छन् । करोडौँ जनताको चाहना दबाएर लाखौँ जनताको लासमाथि उभ्याइएको भारतको राष्ट्रिय एकता र अखण्डता आज पनि धरापमै छ भनेर भारतीय लेखक राजीव मल्होत्राले ‘ब्रेकिङ इन्डिया’ पुस्तकमा सविस्तार वर्णन गरेका छन्।

अमेरिका सन् १७७६ मा स्वतन्त्र भयो ब्रिटेनबाट । त्यो भन्दा आठ–नौ वर्ष पहिले नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले बाउन्न भन्दा बढी ससाना राज्यलाई एकीकरण गरेर बलियो नेपाल बनाएका थिए । लिच्छविकालमा प्रबल थियो नेपाल । विक्रमको अठारौँ शताब्दीको अन्त्यसम्म पुग्दा खण्ड–खण्ड भयो । १७७९ पुस २७ गते गोरखामा जन्मेका पृथ्वीनारायण शाहले ३२ वर्षसम्म अहर्निश संघर्ष गरेर नेपाल एकीकरण गरे । हजाराँै वर्ष पुराना धर्म संस्कृति बचाउन फिरंगी धर्मप्रचारकहरूलाई लखेटे । उनीहरूले धर्मप्रचारको निहुँमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित गुप्त सूचना संग्रह गरिरहेको चाल पाएपछि नेपालबाट धपाइएको इतिहासकार सूर्यविक्रम ज्ञवाली र बाबुराम आचार्यलगायतका विद्वान्हरूको तर्क छ । पृथ्वीनारायणले एकीकरण नगरेको भए नेपालको अस्तित्व रहने थिएन।

रोगले थलिएपछि वि.सं. १८३१ मा नुवाकोट दरबारमा भाइभारदारको बैठकमा पृथ्वीनारायण शाहले राष्ट्रको संरक्षण, संवद्र्धन र सम्पोषण गर्न आवश्यक पर्ने मूलनीतिबारे प्रवचन दिए, जसलाई दिव्यउपदेश भनिन्छ । आजभन्दा २४४ वर्ष पहिले दिइएको त्यो प्रवचन आज पनि अकाट्य छ । मननयोग्य छ । राष्ट्रलाई सुदृढ, आत्मनिर्भर, स्वावलम्बी र प्रभावशाली बनाउने सम्पूर्ण चिन्तन छ त्यसमा । इतिहासकार प्रा. दिनेशराज पन्तले लेखेका छन्, “राष्ट्र जोगाउन सन्ततिले लिनुपर्ने नीतिका बारेमा त्यस उपदेशमा प्रकाश पारिएको छ । गृहनीति, परराष्ट्रनीति, बन्दव्यापारको विषय, देशमा आयात घटाई निर्यात बढाउने कुरा, खेतीयोग्य जमिनको रक्षा गर्ने कुरा, खानीको विषय, लडाका सैनिक र शस्त्रसंग्रह गरी देशको रक्षा गर्ने आदि विषयमा उपदेशमा चर्चा गरिएको छ ।”

केही वर्षयता नेपाल झन् कमजोर बन्दै गएको सबैले स्वीकार गरेका छन् । यस्तो अवस्थामा संघीयता रोज्ने कि पृथ्वीनारायणको मूलनीति ? यो प्रश्नबारे सोच्नैपर्ने भएको छ । राष्ट्रिय एकता पृथ्वीनारायणको मूलनीतिको चुरो हो । संघीयता राष्ट्र, राष्ट्रिय एकता र अखण्डतालाई सिक्किमीकरण, बुरुन्डीकरण र फिजीकरण गर्न पर्याप्त हुन्छ । कुन बाटो हिँड्ने त ? ‘च्वाइस’ हाम्रै हातमा छ । उन्नाइस दिने जनआन्दोलनको उपलब्धि वा दशवर्षे सशस्त्र विद्रोहको जगमा लेखिएको भनिएको संविधानले सुख, शान्ति, समृद्धि, स्थायित्व र राष्ट्रको अस्तित्व सुरक्षित गर्छ भन्ने कुरामा भारुजीवी, डलरजीवी र युरोजीवी विद्वान्–विदूषीहरू ढुक्क छन् । तर “नेपाली बन, नेपाल भन, सम्हाल नेपाल” भन्ने राजा महेन्द्र र “आफ्ना कुलाधर्म नछोड्नू” भन्ने पृथ्वीनारायणप्रति सदैव नतमस्तक यो अल्पज्ञ पंक्तिकारलगायत धेरैजना आज पनि भन्छन्, “राष्ट्र र गणतन्त्रमध्ये एउटा मात्र जोगाउनुपर्ने अवस्था आएको छ ।” राष्ट्र अरूलाई नै बुझाएर सिक्किमले पनि गणतन्त्र त जोगाएकै छ । सर्वाधिकार बुझाएर अलिकति अधिकार पाएकै छ । भोकै रुनुपर्ने अवस्थामा पनि बुरुन्डी, कंगो, अंगोला, सियरालिओन र मोजाम्बिक लगायतका पचासौँ राष्ट्रमा गणतन्त्र जीवित छ । तर स्वाभिमान मरिसक्यो । धर्म–संस्कृति मासिए पनि, राष्ट्र भासिए पनि, जनताको पेट सारङ्गीजस्तो भए पनि, लाखौँ जनता भोकै मरे पनि विदेशीले नेतागणलाई गणतन्त्र बचाउन पालनपोषण गर्छन् । जनताको हालत के हुन्छ भनेर गृहयुद्धको आगोमा जलेका राष्ट्रको इतिहास नेता र जनताले पढिदिए पुग्छ । तसर्थ, आफूलाई मन परेको पार्टीले राष्ट्रलाई खण्ड–खण्ड गर्न खोज्दा जब बुद्धिजीवीहरू समेत ताबेदारी गर्दै हिँड्छन्, त्यहाँका जनताले अवश्य पनि रगतका आँसु झार्नुपर्ने दिन आउँछ । “संविधान उत्कृष्ट छ” भन्नेहरूमध्ये केही त आजै रुन थालिसकेका छन्।

अमेरिकी राष्ट्रपति जोन एफ केनेडी क्रिश्चियन धर्मको ‘क्याथोलिक’ मतका समर्थक थिए, उनी युवावस्थामै मारिए । वारेन हार्डिङ, ह्यारी ट्रुम्यान, जिमी कार्टर, बिल क्लिन्टन, लिन्डन जोन्सन, थियोडर रुजबेल्ट, एन्ड्रयु ज्याक्सन, जेम्स बुचानन, बेन्जामिन ह्यारिस, डीडी आइजनहावर, रोनाल्ड रेगन, जर्ज वासिङ्टन, जेम्स म्याडिसन, फ्रयांकलिन रुजबेल्ट, जेराल्ड फोर्ड, जर्ज बुस, रिचर्ड निक्सन, जोन एडम्स, बाराक ओबामा र डोनाल्ड ट्रम्प सबै अमेरिकी राष्ट्रपति प्रोटेस्टेट धर्मावलम्बी हुन् । ‘मलाई मद्दत गर परमेश्वर’ भन्दै देब्रे हातले बाइबल छोएर दाहिने हात उठाउँदै राष्ट्रपतिले त्यहाँ ईश्वरका नाममा शपथग्रहण गर्छन् । तर तिनै अमेरिकी र पश्चिमाहरू नेपालमा धर्मनिरपेक्षता हुनुपर्छ भनेर बहस चलाउँछन्, किन ? 

पृथ्वीनारायण शाहले नेपाली जनतालाई ‘आफ्नो कुलाधर्म नछोड्नू’ भन्दा त्यसको अपव्याख्या गर्ने पश्चिमा र उनीहरूका नेपाली मानसपुत्रहरू युरोप र अमेरिका किन बाइबलको बलमा चलिरहेका छन् भनेर कुनै प्रश्न गर्दैनन् । बरू हाम्रा प्राचीन धर्म–संस्कृतिले राष्ट्र पछौटे भएको कुतर्क गर्छन् । बाइबलले १९१७ वर्षभन्दा पहिलेको कुरा बुझ्दैन । जिसस क्राइस्टभन्दा पहिले पश्चिमाका देवी देवता को थिए त भन्ने खुलासा गर्दैन तर पूर्वीय गोलाद्र्धका दशहजार वर्षभन्दा पुराना ग्रन्थहरूमा खगोल, भूगोल, अन्तरिक्ष, मेडिकल साइन्स, इन्जिनियरिङ, यौन, तन्त्रसाधना, साहित्य, संगीत, कला, इहलोक, परलोक सबैको वर्णन छ । त्यसैले म्याक्समुलर लगायतले हाम्रै प्राचीन ग्रन्थ पढे । अक्सफोर्ड र हार्वर्ड विश्वविद्यालयले गीता, पतञ्जलि दर्शन, उपनिषद् र वेदलगायत ग्रन्थ पाठ्यक्रममा राखे । नेपालमा संस्कृतलाई कुरै नबुझी एकथरी शठहरूले मृतभाषा भनिरहेका छन् । प्राचीन ग्रन्थहरूमा के छ भन्ने कुरा उनीहरूलाई अत्तोपत्तो छैन।

संयुक्त राष्ट्रसंघमा बर्माका ऊ थान्ट (बौद्ध धर्मावलम्बी) बाहेक सबै क्रिश्चियन मात्र महासचिव भए । युएनओको पहिरनमा शान्ति मिसनमा खटिएका पात्रहरूले विभिन्न देशका प्राचीन धर्म–संस्कृति, एकता र अखण्डता भाँडेका धेरै उदाहरण छन् । अमेरिकाको दान–दातव्य धेरै भएकाले राष्ट्रसंघ अमेरिकाकै रैतीजस्तो बनेको छ । अमेरिकी गुप्तचर संस्थाको गुप्त योजनाअनुसार सद्दाम हुसेनलाई मारियो । इराकमाथि राष्ट्रसंघले नाकाबन्दी ग¥यो । खोज्दै जाँदा कुनै कसुर भेटिएन, सद्दामको । यस्ता कथा धेरै छन् । तसर्थ, साना तथा कमजोर राष्ट्रमा राष्ट्रवादी शक्ति मास्ने, राष्ट्रिय एकताका आधार भत्काउने र पृथ्वीनारायण शाहजस्ता राष्ट्रवादी नायकहरूलाई बद्नाम गराउन सयाँै वर्षदेखि पश्चिमाले षड्यन्त्र गरिरहे । त्यही षड्यन्त्रको पुष्टि गर्न पृथ्वीनारायण शाहलाई पश्चिमा लेखकहरूले दानवका रूपमा प्रस्तुत गरे। 

षड्यन्त्रको तानाबाना अझै बुनिँदै छ । हामी गम्भीर संकटमा फसिरहेका छौँ । राष्ट्रको अस्तित्व, एकता, अखण्डता र नेपाली–नेपालीबीचको सम्बन्ध बिग्रिन नदिन हामीले बितेका १०÷१२ वर्षमा भएका गम्भीर भूल स्वीकार गर्दैै राष्ट्र बचाउने सही बाटो हिँड्नु आवश्यक छ । त्यो बाटो भनेकै पृथ्वीनारायण शाहले देखाएको बाटो हो।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

बसन्त पञ्चमीमा साँगीतिक कन्सर्ट

बसन्त पञ्चमीमा साँगीतिक कन्सर्ट

झण्डै डेढ महिनादेखी बढेको चिसोविच सोमवार मनाइएको बसन्तपञ्चमीको अवरमा वीरगन्जस्थित ठाकुरराम बहुमुखि क्याम्पसमा आयोजित साँगितिक कन्सर्टले माहोल ततायो। ...

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरामा अडिसन

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरामा अडिसन

दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको पहिलो अडिसन पोखरामा भएको छ। शनिबार पोखरामा भएको अडिसनमा कुल २८ जनाले सहभागिता जनाएका थिए।...

चीनमा रुचाइयो आमिरको पछिल्लो फिल्म

चीनमा रुचाइयो आमिरको पछिल्लो फिल्म

बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खानको पछिल्लो फिल्म ‘सिक्रेट सुपरस्टार’लाई चीनमा रुचाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले चिनियाँ बक्स अफिसमा...

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’को विरोध बढिरहेको छ। जनवरी २५ मा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदा भारतका विभिन्न राज्यमा...