८ वैशाख २०८१ शनिबार
समाज

बिहान–बेलुका वायु प्रदूषण उच्च

ललितपुरको बडिखेलमा बुधबार इँटाभट्टाबाट निस्किएको धुवाँको दृश्य । इँटाभट्टाबाट निस्कने धुवाँ उपत्यकामा वायु प्रदूषण बढाउने मुख्य कारकमध्ये पर्छ । तस्बिर : दिपेन्द्र रोक्का

उपत्यकामा बिहान र बेलुका वायु प्रदूषण मात्रा खतराजनक अवस्थामा पुगेको छ । प्रदूषण अत्यधिक बढेपछि उपत्यकावासीमा श्वासप्रश्वाससम्बन्धी समस्या समेत देखिन थालेको छ । बिहान र बेलुका वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको न्यूनतम बिन्दुभन्दा निकै माथि पुगेको हो। 

उपत्यकामा गत असोज अन्तिम सातादेखि वायु प्रदूषण बढ्न थालेको थियो । दृष्टि काठमाडौंले विभिन्न १४ स्थानमा राखेका प्रदूषण मापन स्टेसनको रेकर्डअनुसार उपत्यकामा गत असोज २१ गते बिहान ८ बजे हावामा पार्टीकुलेट म्याटर (पिएम) २.५ को मात्रा १६ माइक्रोग्राम प्रतिघनमिटर मात्र थियो । गत बुधबार (पुस २६) बिहान ९ बजे भने हावामा पिएम २.५ को मात्रा बढेर प्रतिघनमिटर १८७ माइक्रोग्राम पुगेको छ । जुन सरकारी मापदण्डभन्दा झन्डै पाँच गुणा बढी हो । यसलाई सबैभन्दा खतराजनक अवस्थाको रूपमा लिइन्छ । बुधबार दिउँसो २ बजे भने ७३ र बेलुका ८ बजे भने १०९ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको थियो।

प्रदूषण अत्यधिक बढेपछि उपत्यकावासीमा श्वासप्रश्वाससम्बन्धी समस्या समेत देखिन थालेको छ । बिहान र बेलुकाको समयमा वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको न्यूनतम बिन्दुभन्दा निकै माथि पुगेको हो। 

तथ्यांकअनुसार असोज तेस्रो सातासम्म प्रदूषणको मात्रा सरकारी मापदण्डभित्रै थियो। वर्षा हुन छाडेपछि असोज अन्तिम साताबाट भने प्रदूषण बढ्न थालेको हो। असोज यताको तथ्यांक हेर्दा उपत्यकामा बिहान अत्यधिक प्रदूषण हुने गरेको छ । बिहान पनि ८ बजेदेखि १० बजेसम्म प्रदूषणको मात्रा धेरै हुने गर्छ। 

किन बढ्छ बिहान ? 
जाडोमा घरटोलमा थुप्रिएको फोहोर तथा घरघरमा आगो बालेर ताप्ने चलनले बिहान प्रदूषण अत्यधिक बढेको वातावरणविद् बताउँछन् । फोहोर तथा आगो बाल्दा निस्कने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहेर प्रदूषण बढाउने गरेको दृष्टि काठमाडौं समूहका शिशिर शर्माले बताए। 

जर्मनीस्थित इन्स्टिच्युट फर एड्न्भान्स सस्टेनेबिलिटी स्टडिज (आइएएसएस)का अनुसन्धान प्रमुख महेश्वर रुपाखेतीसहितको टोलीले गरेको काठमाडौं उपत्यकाको वायुको गुणस्तरसम्बन्धी अध्ययनले आगो बाल्दा प्रदूषित भएको हावा घाम लागेसँगै तातेर हलुंगो भएपछि मात्रै उपत्यका बाहिर जाँदा प्रदूषण घट्ने देखाएको छ । प्रदूषण बढ्नुको कारण बिहान र साँझमा फोहोर तथा आगो बढी बालिनु रहेको अध्ययनले देखाएको हो। 

‘वर्षभरि हुने प्रदूषणमा यसको हिस्सा ठूलो नदेखिएला तर चिसोमा बिहानको समयमा हुने प्रदूषणको एउटा कारक जथाभावी आगो बाल्नु पनि हो,’ अनुसन्धानकर्ता एवं जनस्वास्थ्यविद् डा. कृष्णकुमार अर्यालले भने, ‘साँझ आगो बाल्दा रातभर र बिहान बाल्दा मध्याह्नसम्म सतहमै धुवाँ रहिरहँदा प्रदूषण हुने गरेको छ।’
अर्यालका अनुसार श्वास नलीबाट फोक्सोसम्म पुग्न सक्ने पिएम २.५ माइक्रोग्रामभन्दा मसिना कणको मात्रा उपत्यकाको हावामा बिहान २०० माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने गरेको छ।

प्रदूषणको असर
आँखाले देख्न सकिने धुलोका कणलाई पिएम १० मा मापन गरिन्छ । पिएम २.५ मा आँखाले देख्न सकिनेभन्दा चार गुणा साना कण हुन्छन् । वातावरणविद्का अनुसार पिएम २.५ मा कम आकारका धुलोका कण, कार्बनमोनोअक्साइड र नाइट्रोेजनअक्साइड हुन्छ । यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले श्वासनलीमा संक्रमण हुने चिकित्सक बताउँछन्। 

चिकित्सकका अनुसार वायु प्रदूषणको तत्कालीन असर सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रूपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा प्रजनन क्षमतासमेत ह्रास गराउने लगायत हुन्छन् । 

प्रदूषणको स्रोत
उपत्यकामा गाडीको धुवाँबाट ३८ प्रतिशत र सडकको धुलोबाट २५ प्रतिशत प्रदूषण फैलने गरेको छ । त्यसैगरी फोहोर तथा कृषिजन्य अवशेष बाल्दा १९ प्रतिशत, इँटाभट्टाबाट ११ प्रतिशत र अन्यबाट सात प्रतिशत प्रदूषण हुने अध्ययनले देखाएको छ । उपत्यकामा विभिन्न बहानामा लथालिंग छोडिएका सडकको धुलोका कारण पनि अत्यधिक प्रदूषण हुने गरेको अनुमान छ।

के गर्दै छ सरकार ?
उपत्यकामा बढ्दो वायु प्रदुषणलाई कमी गर्न बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खुला रूपमा आगो बाल्न प्रतिबन्ध, सवारीसाधन प्रदूषण जाँच, सवारीसाधनमा ग्रिन स्टिकर लगायतका १५ निर्णय गरेको छ । त्यसैगरी, मेलम्ची खानेपानी आयोजनाको निर्माणपछि सडक कालोपत्रे, विद्युतीय सवारीसाधनको प्रयोगमा प्रोत्साहन नीति लगायत निर्णय गरेको हो । तर, सरकारका निर्णय कार्यान्वयन भएर प्रदूषण घट्नेमा भने वातावरणविद् भूषण तुलाधर शंका गर्छन् । ‘सरकारले प्रदूषण घटाउन गरेको पहलकदमी ठीक छ,’ उनले भने, ‘कतिपय भएकै मापदण्डको कार्यान्वयन गर्न नसकिरहेका बेला सरकारले गरेका निर्णय कार्यान्वयनमा भने शंका छ ।’ उनका अनुसार सरकारले प्रदूषण घटाउन कडा रूपमै उत्रिनुपर्छ । प्रदूषण न्यूनीकरणमा  सरकार नलाग्ने हो भने यसले विकराल अवस्था सिर्जना गर्छ। 

विश्वव्यापी रूपमा हावाको खस्कँदो गुणस्तर र जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौती बनेको छ, जसको परिणाम गुणस्तरहीन हावा, घट्दो भिजिबिलिटी, बालमृत्यु, श्वासप्रश्वासजन्य समस्या बढ्दै गएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०१४ को रिपोर्टअनुसार प्रदूषणका कारण विश्वभर प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुन्छ । यसमा घरभित्रको र घरबाहिरको प्रदूषणको हिस्सा बराबरी छ । विश्व बैंकको सन् २०१६ को एक रिपोर्टले नेपालमा वायुप्रदूषणका कारण प्रत्येक वर्ष २२ हजार हाराहारीमा ज्यान जाने गरेको देखाएको थियो।

प्रकाशित: २८ पुस २०७४ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App