coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले तोक्यो राष्ट्रियसभा उम्मेदवार मापदण्ड

काठमाडौं – एमालेले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशसभा ( प्रत्यक्ष र समानुपातिक) तर्फ उम्मेदवार बनेका कसैलाई पनि राष्ट्रियसभा सदस्य चुनावमा उम्मेदवार नबनाउनेगरी मापदण्ड निर्धारण गरेको हो ।

यो मापदण्डले प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा उम्मेदवार बन्ने अड्कलमा पूर्णविराम लगाएको छ ।
महासचिव प्रमुख रहने सचिवालय बैठकमा कार्यवाहक अध्यक्ष गौतम प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

बैठकले माघ ५ गतेभित्र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीहरुलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि एमाले–माओवादी गठबन्धनले साझा उम्मेदवार बनाउनेछ । उम्मेदवार छनोटका लागि एमाले–माओवादी संयुक्त कार्यदल बनेको छ । सरकारले माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचन मिति घोषणा गरेको छ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट दलित, अपांग वा अल्पसंख्यक समुदायबाट एक÷एक, तीन महिला र बाँकी तीन खुला गरी आठजना निर्वाचित हुने छन् । प्रदेशका निर्वाचक मण्डलबाट ५६ जना निर्वाचित हुनेछन् । त्यस्तै मन्त्रिपरिषद्को सिफारिसमा एक महिलासहित तीन सदस्य राष्ट्रियसभामा मनोनीत हुनेछन् । यो सभा ५९ सदस्यीय हुन्छ ।

प्रदेश दुईबाहेक अन्य ६ वटा प्रदेशसभामा एमाले र माओवादी गठबन्धनको बहुमत छ । तर सरकारले हालसम्म प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोकेको छैन ।
पार्टीमा लामो योगदान गरेको र पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुयाएको व्यक्तिलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड एमालेले बनाएको छ । त्यस्तै भौगोलिक र सामाजिक सन्तुलन, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञबीचबाट पनि उम्मेदवार छानिने छ ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यलाई एकल संक्रमणीय मत प्रणालीबारे प्रशिक्षण दिने व्यवस्था मिलाउन सम्बन्धित प्रदेश संगठन कमिटीलाई निर्देशन दिएको छ ।निर्वाचक मण्डलमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेशसभाका सांसद रहन्छन् । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सांसदको मतभार ४८ तोकिएको छ ।
बैठकले शीतलहर पीडितलाई तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन र भाइरल ज्वरो प्रभावित जाजरकोटमा तत्काल औषधिसहितको चिकित्सक टोली पठाउन सरकारसँग माग गरेको छ ।

‘शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीतर्फबाट पनि राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीलाई तत्काल परिचालित हुन  निर्देशित गरिएको छ’, बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २९ पुस २०७४ ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App