स्थलगत रिपोर्ट: शीतलहरकाे कहर

बाढीको घाउमा शीतलहरको नुनचुक

शनिबार, २९ पुष २०७४, ०६ : ५८ जितेन्द्रकुमार झा


भेडिया – सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरीस्थित जर्जर चन्द्र नहरको डिलमा एउटा सानो झुप्रो छ । त्यहींभित्र चारवटा गाईबस्तु, आधादर्जन खसीबाख्रा र परेवासँगै वृद्ध विरक्ष मलाह र उनकी पत्नी असार यता बस्दै आएका छन् । असारमै आएको बाढीले घरवार बगाएपछि वृद्ध दम्पती चन्द्र नहरको डिलमा पुगेका हुन् । उनीहरुले सात महिनायता त्यही झुप्रोमा जसोतसो जिवन निर्वाह गर्दै आएका छन्।

विरक्षका दुईटा घर, भान्छा, गाईगोठ सबै बाढीले बगाइदियो । उनको परिवार लामो समयदेखि गाउँकै ऐलानी जग्गामा घर बनाएर बसोबास गर्दै आएको थियो । छोराहरुले कमाउन थालेपछि चार वर्षअघि एक कट्ठा नम्बरी जग्गा खरिद गरेर जसोतसो घर बनाएको विरक्षले बताए । ‘दुई पैसा जोगाएर जसोतसो जग्गा किनेर आफ्नो घर बनाएँ, त्यो पनि बाढीले बगायो’, उनले भने, ‘पछिल्लो सात महिनादेखि झुप्रोमा दिन काट्नुपरेको छ।’

विपन्न बस्तीका अधिकांशकाे जिउमा गतिलाे लुगा देखिएन।गाउँकै हुनेखानेले दिएका पुराना स्वेटर, ज्याकेटलगायत लुगा अधिकांश बालबालिकाले लगाएका थिए । कतिपयले खुट्टामा चप्पल/ जुत्तासमेत थिएन् । 

विरक्षकको झुप्रोछेउकै अर्को झुप्रोमा जिवछ मुखिया (मलाह) को परिवार बस्दै आएको छ । ६५ वर्षीय जिवछ पत्नी दुलरीदेवी, बुहारी र दुई नातिनातिनीका साथ असारयता सोही झुप्रोमा बसोवास गर्दै आएका छन् । पछिल्लो बाढीले जिवछको घर बगाएसँगै १६ कट्ठा खेतीयोग्य जग्गा कटान गरेको थियो।

भारतमा मजदुरी गर्ने एक्लो छोराको भरमा दुई छाक टार्न धौधौ भएपछि त्यही सानो झुप्रोभित्रै उनले चियापसलसमेत सञ्चालन गर्दै आएका छन् । ‘बिहानबेलुका चिया बेच्छु, दैनिक दुईतीन सयजति कमाइ हुन्छ’, जिवछकी पत्नी दुलरीले भनिन्, ‘नानाथरीका दुःखपीडा सहेर जसोतसो जीवन निर्वाह भइरहेको छ।’

पछिल्लो १० दिन यता ह्वात्तै बढेको चिसो र शीतलहरका बीच झुप्रोमा ज्यान जोगाउनु निकै चुनौतिपुर्ण भएको ७० वर्षीय विरक्ष बताउँछन् । ‘अब त यो जीवन नै पहाडजस्तो लाग्न थाल्यो’, उनले भने, ‘बरु बाढीमै डुबेर मरिगए हुन्थ्यो, कम्तीमा यस्तो पीडा त खप्नुपर्ने थिएन ।’ उनका दुई छोरा छुट्टै बस्दै आएका छन् । उनीहरुको पनि आर्थिक अवस्था दयनीय नै रहेको विरक्ष बताउँछन् । ‘उनीहरु (छोरा) लाई पनि के भन्नु, आफ्नै पेट भर्न धौधौ छ, हामी बुढाबुढीलाई के हेर्नु ?’ प्रश्न गर्दै उनी भन्छन्, ‘बुढीले परेवा र खसीबाख्रा पालेकी छिन् । त्यसैबाट हुने थोरबहुत आम्दानीले दुईछाक टार्ने काम भइरहेको छ ।’

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार पछिल्लो बाढीले तिरहुत गाउँपालिकाका १ सय ३० कच्ची घर पूरै नष्ट बनाएको थियो । यहाँका झन्डै एक हजार परिवारका २ हजार ६ सय ७७ घरमा बाढीले केही न केही क्षति पुर्‍याएको तथ्यांक छ । एक सयभन्दा बढी परिवार विस्थापित भएका थिए । तीमध्ये धेरैजसोले आवासको व्यवस्था मिलाए पनि जीवनभोगाइ भने पीडादायी नै भएको तिरहुत गाउँपालिका २ का वडाध्यक्ष जयप्रकाश यादव वताउँछन् । ‘बाढीबाट विस्थापित जसोतसो घर त फर्किए तर उनीहरुको जीवन अझै सामान्य हुन सकेको छैन’, यादवले भने, ‘यहाँका विपन्न बाढीपीडितको घरमा न त खाद्यान्न छ, न लत्ताकपडा नै । चिसो र शीतलहरले उनीहरुको झनै बिजोग भएको छ ।

शुक्रबार बिहान घुर ताप्दै गरेको भेटिएका स्थानीय बाढीपीडितले चिसोका कारण जीवन पीडादायी भइरहँदा समेत राज्यलगायत कुनै पनि सरोकारवाला निकायले चासो नदेखाएको गुनासो गरे । चिसो छल्न राहतका नाममा प्रतिपरिवार एक थानका दरले कम्बल बाँडेकोस्थानीय बाढीपीडित दुखनी मलाहनीले बताइन् । ‘६ जनाको परिवार छ, एकथान कम्बलले कसरी काम चलाउनु, छोरा, बुहारी र तीन नातिनातिनीले एउटै कम्बलमा कसरी रात बिताउनु’, उनको प्रश्न छ।

समाचार संकलनका क्रममा बस्तीमा पुग्दा अधिकांशको जिउमा गतिलो लुगासमेत देखिएन । बालबालिकाको झन् बिजोग देखियो । अरुबाट मागेर ल्याएका तथा गाउँकै हुनेखानेले दिएका पुराना स्वेटर, ज्याकेटलगायतका लुगा अधिकांश बालबालिकाले लगाएका थिए । कतिपयको खुट्टामा चप्पलसमेत थिएन । ‘यस्तो हाडै कमाउने चिसोमा लत्ताकपडाबिना कसरी बसिराख्नुभएको छ ?’ यो जिज्ञासामा स्थानीय उपेन्द्र मुखियाले भने, ‘विपत्तीले हाम्रो परीक्षा लिइराखेको छ, तयारी नभए पनि हामीले दृढताका साथ सामना गरिराखेका छौं ।

असार १७ कै बाढीपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मासहितको उच्चस्तरीय टोली तिरहुत–५ अन्तर्गत पर्ने भेडिया बस्ती अनुगमनका लागि आएका थिए । त्यति बेलै प्रधानमन्त्री देउवाले स्थानीय बाढीपीडितको पीडामा मलम लगाउने वाचा गरेको सुनाउँदै उपेन्द्रले भने, ‘हाम्रो पीडामा मरहम (मलम) लाउनु त परै जाओस्, राज्यले झन् नुन छर्ने काम गरेको छ । प्रधानमन्त्री र गृहमन्त्रीले हामीलाई नानाथरीका आश्वासन बाँडेर गए, महिनौं बितिसक्यो, हामीसँग चिसो थेग्ने लुगाफाटोसम्म छैन।’

‘बाढीले भत्किएका घर पनि बनाउन सकिएको छैन’, स्थानीय ७० वर्षीय बृद्ध कोकनदास तात्माले भने, ‘घरको अवस्था शीतलहर थेग्न सक्ने छैन, लत्ताकपडाको अभावले समेत पिरोलिएको छु ।’ अरुको खेतबाट मागेर ल्याएको परालको भरमा जसोतसो आफू र बालबच्चालाई जोगाएर राखेको उनले बताए।

 ‘यो जाडो हैन, काल हो, काल’, अर्का बाढीपीडित शुभकलादेवी दास तत्माले भनिन्, ‘बाढीले घरबार लग्यो, अब यो शीतलहर ज्यान लिन आएको छ।’ आफूजस्ता डेढ सयभन्दा बढी बाढीपीडित परिवार यस्तै पीडा खेपेर बस्न बाध्य रहेको उनको भनाइ छ।

फेरि असारको त्रास
    शीतलहरका कारण कष्टकर जीवन यापन गर्दै आएका भेडिया तथा मैनाकडेरीका पीडित पछिल्लो बाढीलाई सम्झेर तर्सिने गरेका छन् । उनीहरु आउने बर्खालाई सम्झेर अहिलेदेखि नै त्रस्त छन् । ‘शीतलहरको पीडा त छँदैछ, अब अर्को वर्ष आउने बाढीको त्रासले पनि हामीलाई सताएको छ’, स्थानीय दुर्गादेवी मुखियाले भनिन्, ‘महुली नदीको पश्चिमी तटबन्ध भत्काएर बाढी गाउँ पसेको थियो । भत्केको तटबन्ध अझै बनेको छैन।’

पुस बित्न लाग्दा समेत बाँध बनाउने सुरसार नदेखिएको उनले बताइन् अनि थपिन्, ‘बाढी गएको ६ महिना बितिसक्दा पनि बाँध बनाउन सरोकारवाला निकायले चासो देखाएको छैन । यस्तै रह्यो भने वर्षायाम आएसँगै हामी फेरि डुबानमा पर्ने निश्चित छ।’

पछिल्लो बाढीले स्थानीय इन्द्रदेव यादवको घरसँगै डेढ बिघा जग्गा बगरमा परिणत ग¥यो । ‘यस वर्ष धान र गहुँ दुईमध्ये कुनै पनि बाली लगाउन सकिएन’, उनले भने, ‘हामीलाई राहत चाहिएको हैन, पीडैपीडाका बीच शीतलहरको पीडा पनि खेपिहाल्छु तर अर्को वर्ष पुनः यस्तै पीडा नआओस् । यसका निम्ति भत्किएको ठाउँमा पक्की बाँध निर्माण कार्य छिटै थाल्नुपर्छ ।’ नदीको बालुवा थुपेर बनाइने बाँधले बाढी रोक्ने कल्पना गर्नु पनि हास्यास्पद रहेको बताउँदै यादवले स्थानीय नेता, ठेकेदार तथा सरकारी कर्मचारीको मिलेमतोमा गरिब, निमुखालाई बर्सेनि डुबाउने काम भइरहेको आरोप लगाए।

तिरहुत गाउँपालिका सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्छ । यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले महुली नदी यस भेगका लागि अभिशापजस्तै भएको बताए । उनले नदी नियन्त्रणका लागि सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । शीतलरह र चिसोका बीच बाढीप्रभावितको जनजीवन निकै कष्टकर भएको सुनाउँदै उनले राहतका लागि प्रभावकारी कदम चाल्ने आश्वासन दिए।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

राजपूत समुदायको विरोधपछि फिल्मको नाम परिवर्तन (पद्मावत) र दृश्य परिमार्जनसहित सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको ‘पद्मावती’लाई राजसंस्थान, हरियाणा, गुजरात र...

साली बन्दै मरिस्का

साली बन्दै मरिस्का

नेपाली कथानक चलचित्र ‘साली कसको भेनाको’ मंगलबार चितवनमा शुभमुहूर्त गरिएको छ । मुभिङ पिक्चर्सद्वारा निर्मीत फिल्ममा वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले...

‘शेरबहादुर हलिउडबाट प्रभावित’

‘शेरबहादुर हलिउडबाट प्रभावित’

फिल्म ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म हलिउडको फिल्म ‘डन्ट ब्रिथ’बाट प्रभावित भएको आरोप लागेको थियो । फिल्म प्रभावित भएको...

लघुकथा वाचन तथा विमोचन

लघुकथा वाचन तथा विमोचन

शब्दपथको आयोजनामा लघुकथा सर्जक महेश प्रसार्इंको लघुकथा ‘अतिरिक्त स्वरहरू’को विमोचन ललितपुरको सिद्धेश्वर मन्दिर प्राङ्गण, लेलेमा सम्पन्न गरिएको छ । ...