४ वैशाख २०८१ मंगलबार
अन्य

डिजे युवती

शुष्मा बराली
साँझ परेपछि अरु घर फर्कन्छन्, नयाँ बसपार्ककी वर्षा महर्जन (१५) भने घरबाहिर निस्कन्छिन् । अरुले आराम र मनोरञ्जन गर्ने समयमा उनको भने जागिर सुरु हुन्छ । पुरुषवादी नेपाली समाजले साँझ परेपछि घरबाहिर निस्कने महिलालाई सकारात्मक नजरले नहेर्दानहेर्दै उनी भने त्यसलाई चिर्न दत्तचित्त भएर लागेकी छन्। 

सुरुमा परिवारबाटै समेत साथ सहयोग नपाएकी उनले जेनतेन आमालाई मनाइन्, त्यसपछि परिवारका अन्य सदस्यलाई । अहिले समाजको पुरुषवादी सोचलाई चुनौती दिइरहेकी छन्, आफ्नै खाले आन्दोलनमार्फत। 

राजधानीकी यी किशोरीको कर्मलाई एउटा भिन्नखालको क्रान्ति नै भन्न सकिन्छ । किनकि उनले एउटा यस्तो सामाजिक मान्यता र सोचमाथि प्रहार गरिरहेकी छन्, जसलाई समाजले सदियौँदेखि बोकेर हिँडिरहेको छ । महर्जन आफ्नै मर्जीकी मालिक हुन्, आफ्नै आकांक्षाकी आपूर्तिकर्ता । साँझ घरबाट निस्किएपछि उनी कहिले ठमेल त कहिले दरबारमार्ग पुग्छिन् र त्यहाँका क्बलमा हुने पार्टीमा अंग्रेजी, हिन्दी र नेपाली गीतको धुनलाई मिसाएर धेरैलाई नचाउँछिन्। 

नाइट क्बल, बार र पबमा पुगेर मनोरञ्जन लिने महिलालाई समेत नकारात्मक दृष्टिले हेर्ने समाजमा महर्जनले भने ‘फिमेल डिजे’ अर्थात् महिला ‘डिस जक्की’को परिचय बनाउँदै छन् । राजधानीको वेभ एकेडेमीबाट डिजेसम्बन्धी आधारभूत तालिम लिएकी उनी उदयीमान डिजे हुन्। 

‘सानैदेखि संगीतप्रति लगाव भएकाले डिजे बनेकी हुँ,’ उनले भनिन्, ‘सुरुमा परिवारबाट सहयोग पाइनँ, बुझाएपछि अहिले भने सबैले सहयोग नै गरिरहनुभएको छ ।’ संगीत क्षेत्रमै भविष्य बनाउने सोच राखेर डिजे बनेको महर्जन बताउँछिन् । 
महर्जन राजधानीभित्रका कार्यक्रममा मात्र होइन, बाहिरका कार्यक्रममा पनि प्रस्तुति दिन पुगेकी छन् । भविष्यमा सफल डिजे बन्नका लागि आफू संघर्षरत रहेको महर्जनको तर्क छ । डिजे सपना साकार पार्न उनले आफ्नै परिवार र छरछिमेकको समेत बेवास्ता गरेर अघि बढेकी हुन् । सुरुमा उनको कदमबाट बुवा समेत खुसी थिएनन् । छरछिमेकले खुबै कुरा काटेका थिए । ‘अरुले के भने मैले कहिल्यै सुनिनँ, म के चाहन्छु त्यही मात्र सुनेँ र गरेँ,’ उनी भन्छिन् । हुन त उनकी आमाले साथ नदिएको भए उनी डिजे बन्न सक्ने थिइनन् । ‘ममीको साथ र सहयोगले यहाँसम्म आउन सफल भएँ,’ महर्जन भन्छिन्।

राजधानीका क्बल र विभिन्न पार्टीमा ‘म्युजिक मिक्स्ड’ गरी धेरैलाई कम्मर मर्काउन उकास्ने महर्जन एक्ली भने होइनन् । परिवार र समाजको बन्धनकारी घेरालाई तोडेर उनीजस्तै अन्य महिला पनि डिजे करिअरमा देखापरेका छन्। 

चितवनकी अर्पणा तामाङ पनि तीन वर्षदेखि डिजे कर्ममै रमाइरहेकी छन् । सूचना प्रविधि विषयमा स्नातक अध्ययनरत उनी रातको समय भने विभिन्न कार्यक्रममा व्यस्त हुन्छिन् । उनी चितवनका साथै राजधानी र अन्य क्षेत्रमा समेत पुगेर कार्यक्रम गर्छिन् । हाल उनी एक साता लामो कार्यक्रमका लागि दक्षिण कोरिया जाने तर्खरमा छिन् । मार्सम्यालोकी फ्यान उनी आफूलाई पनि मार्सम्यालोजस्तै चर्चित बनेको देख्न चाहन्छिन् । ‘मलाई दर्शकले ‘ओहो ! तपाईं डिजे हो ? भन्दा खुसी लाग्छ,’ उनी भन्छिन्, ‘संगीतप्रतिको इन्ट्रेस्टले मलाई डिजे बनाएको हो।’ 

एसएलसीलगत्तै डिजेसम्बन्धी तालिम लिन मन लागे पनि उनले परिवारको डरले लिन सकिनन् । पछि भने परिवारले पनि आफ्नो रुचि मर्न नदिएको उनी बताउँछिन् । उनको रुचि बुझेपछि घरमै दाइले उनलाई डिजे सिकाइदिएका हुन् । 
‘त्यस बेला चितवनमा डिजे एकेडेमी थिएन, घरमै दाइलाई भनेर सिकेँ,’ उनी भन्छिन् । परिवारको साथ पाएपछि उनलाई अहिले सजिलो भएको छ । ‘परिवार र आफन्तको साथ भयो भने हरेक कठिनाई सहजै पार गर्न सकिन्छ,’ तामाङ भन्छिन्, ‘मलाई पनि परिवारको साथले सफलता मिलेको हो।’ 

कलाकारलाई गरिने अपमानले भने उनलाई सधैँ पिरोल्ने गरेको छ । काम गरेअनुरूप पारिश्रमिक नपाइने समस्या अझै रहेको उनी बताउँछिन् । समाजमा सम्मान नभएकाले नै महिला डिजे कम भएको उनको अनुभव छ । ‘पहिलेको तुलनामा अहिले पारिश्रमिक राम्रो छ,’ उनी भन्छिन्, ‘तर अझै पनि यो पेसालाई सम्मानजनक नजरले हेर्ने चलन बसिसकेको छैन।’ 

डिजेले भोजभतेर, क्लब र विभिन्न कार्यक्रममा फरक गीत तथा संगीतलाई मिसाएर नयाँ गीत वा संगीतको स्वरूप दिई नचाउने गर्छन् । अचेल नेपालका सहरी क्षेत्रमा हुने पार्टीमा डिजे अनिवार्यजस्तै हुन थालिसकेका छन् । सहरी क्षेत्रका युवायुवती रमाइलोका लागि पनि नाइट क्लब गइरहन्छन् । त्यस्ता क्लबले स्थायी रूपमै डिजे राखेका हुन्छन्। 

आफूलाई ‘डिजे क्विन’मा ब्रान्डिङ गरिरहेकी पाटनकी शालु महर्जन पनि राजधानीका विभिन्न कार्यक्रममा डिजेका रूपमा देखा पर्छिन् । ल्याब टेक्निसियन अध्ययन गरेकी उनी प्रायः अरुले आयोजना गरेका कार्यक्रममा डिजेको रूपमा जाने गरेको बताउँछिन् । शालु चाडपर्व र पार्टीका बेला डिजेका रूपमा अरुलाई नचाउनमै व्यस्त हुन्छिन् । सानैदेखि गीत गाउन र बाजा बजाउन मनपराउने उनलाई त्यही रहरले डिजे बनाएको हो । ‘केटी मान्छे डिजे बन्न सक्दैनन् भनेको सुनेर पनि म डिजे बनेकी हुँ,’ उनी भन्छिन्, ‘महिलाप्रतिको अविश्वासलाई विश्वासमा परिणत गर्न डिजे बन्न मन लागेको हो ।’ 
उनी आफ्ना कारण कतिपय महिलामा आत्मविश्वास जागेको बताउँछिन् । डिजे भनेका केटा मात्र हुन्छन् भन्ने गलत धारणा चिर्न केही हदसम्म भए पनि आफू सफल बनेको उनको तर्क छ । अरुका कुरा नसुनी आफूलाई विश्वास गरेमा जुनसुकै क्षेत्रमा सफल हुन सकिने उनको आत्मविश्वास छ। 

‘आफूमा विश्वास गर्नुपर्छ र हरेस कहिल्यै खानु हुँदैन,’ उनी भन्छिन्, ‘त्यसो गरियो भने सफल हुन सकिन्छ ।’ आमाबुवाले आफ्ना सन्तानका लागि गलत नसोच्ने बताउँदै उनी डिजे बन्न चाहनेले भने बाबुआमालाई राम्ररी बुझाउनुपर्ने सुझाव दिन्छिन् । शालुले आफू डिजे भएको कुरा नजिकका साथी र परिवारलाई बाहेक अरुलाई भनेकी छैनन् । ‘डिजे भन्दा समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ, त्यसैले कसैलाई भन्न जरुरी नलागे भन्दिनँ,’ उनी भन्छिन्। 

अर्की डिजे मीना तामाङले भने आफू डेरामा बस्ने घरबेटीलाई डिजे भएको कुरा बताएकी छैनन् । डिजेप्रति हेर्ने समाजको धारणा सकारात्मक हुन नसकेकाले उनले घरबेटीलाई समेत पेसाबारे नबताएकी हुन् । बहिनीसँग डेरामा बस्ने उनलाई परिवारले भने डिजे बन्न पूर्ण समर्थन दिएको छ। 

‘मलाई परिवारको साथ छ, तर समाजले नराम्रो सोच्छ कि भन्ने चिन्ता लाग्छ,’ उनी भन्छिन्, ‘डिजेलाई हेर्ने नजर परिवर्तन हुनु जरुरी छ ।’ उनी डिजे बनेर राजधानीबाहिर पनि विभिन्न सहर गइसकेकी छन् । प्रायः हिन्दी, नेपाली र अंग्रेजी गीत तथा संगीत मिसाएर बनाइएको संगीत नेपाली दर्शकले मन पराउने गरेका छन् । ‘कार्यक्रममा उपस्थित मान्छेअनुसार गीत माग हुन्छ,’ उनले भनिन्, ‘कार्यक्रममा सबैलाई मस्तसँग नचाउन पाइयो भने खुसी लाग्छ।’ 

नेपालमा अझै पनि महिला डिजेलाई विश्वास र भरोसा नगर्ने प्रवृत्ति रहेको बताउँछिन् उनी । डिजेले तयार पारेको म्युजिकको तालमा नाच्नेहरू समेत बाहिर निस्केर भने महिला डिजेलाई नकारात्मक रूपमा हेर्ने गर्छन् । त्यसले महिला डिजेप्रतिको हेराइ परिवर्तन हुन नसकेको बताउँछिन् उनी। 

जसरी अन्य क्षेत्रमा पहिलो चरणमा प्रवेश गर्ने महिलाले विभिन्न समस्या भोगे, डिजे क्षेत्रमा पनि यी महिलाले त्यस्तै समस्या भोगिरहेका छन् । गीत–संगीत क्षेत्र, त्यसमाथि पनि राति गर्नुपर्ने काम भएकाले उनीहरूलाई हेर्ने सामाजिक नजर सकारात्मक नहुँदानहुँदै पनि यी युवा डिजे भने त्यसलाई चिर्न लागिपरेका छन्। जसले संगीतको मिश्रण मात्र गरिरहेका छैनन्, त्यही संगीतमार्फत समाजमा परिवर्तनको बिगुल समेत फुकिरहेका छन्। 

प्रकाशित: २९ पुस २०७४ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App