८ वैशाख २०८१ शनिबार
अन्य

बाध्यताले साना सवारी

दक्षिणढोकाकी सम्झना रिमाललाई केही समयअघिसम्म पुतलीसडक पुग्न दुई घन्टासम्म लाग्थ्यो । उनी सार्वजनिक गाडी चढेर पुतलीसडकमा ट्युसन पढ्दै आएकी थिइन । बेलुका ५ बजेको ट्युसन कक्षाका लागि उनले ३ बजे नै हिँडिसक्नुपथ्र्याे । दक्षिणढोकाको एक स्कुलमा पढाउँदै आएकी उनी ट्युसनका लागि अन्तिम घन्टी पनि छाड्थिन् । 
यात्रामा झण्डै दोब्बर समय लागेपछि उनी हैरान थिइन। 

त्यसो त उनलाई ट्युसन सकेपछि घर कसरी फर्कने चिन्ता समेत हुन्थ्यो । यसको कारण थियो– सार्वजनिक यातायात सहज नहुनु । समयमा गाडी नपाउनु, ठेलमठेल गरी यात्रा गर्नु उनको बाध्यता थियो। 

गाडीकै लागि कति दिन त एक घन्टासम्म कुरेको उनले दुखेसो पोखिन् । ‘गाडीमा यात्रु ठेलमठेल भएकाले घरपुग्दासम्म हैरान भइन्थ्यो,’ उनले त्यतिबेलाको दुःख सुनाइन्। 

‘स्कुटीले समय बचत त गरेको छ, तर मलाई स्कुटी चलाउने रहर लाग्दैन, बाध्य भएर यात्रा गरिरहेकी हुँ ।’

पुतलीसडकबाट घरसम्म आवतजावत गर्न दैनिक चार घन्टा गाडीको यात्राले उनलाई थकान लाग्थ्यो । उनलाई जागिर वा ट्युसनमध्ये एक छाड्नुपर्ने बाध्यता भयो । तर, उनी दुवै छोड्न चाहँदैनथिन्। 

यस्तोमा उनले विकल्प निकालिन्– स्कुटी खरिद गर्ने । लगत्तै उनले दुई लाख रूपैयाँमा स्कुटी समेत किनिन् । 
स्कुटी किनेपछि भने उनलाई पहिलेजस्तो समस्या छैन । न उनले ट्युसन पढ्नकै लागि विद्यालयको अन्तिम घन्टी छाड्नुपरेको छ । बेलुका ४ बजेपछि स्कुलबाट निस्कने उनी समयमै ट्युसन कक्षामा पुग्छिन् । घरमा फर्कदा पनि ढिलोमा ७ बज्ने गरेको उनी बताउँछिन्। 

स्कुटीले दैनिकी सहज बनाएको उनी बताउँछिन् । तर पनि उनी स्कुटीको यात्रा त्यति मन परेको छैन । ‘स्कुटीले समय बचत त गरेको छ,’ उनले भनिन्, ‘तर, मलाई स्कुटी चलाउने रहर लाग्दैन, बाध्य भएर यात्रा गरिरहेकी हुँ ।’ 
स्कुटीको यात्रा खतरा हुने उनको बुझाइ छ । सार्वजनिक यातायात सहज भए त्यसमै यात्रा गर्ने उनको चाहना छ । 
उनी मात्रै होइन, साँखुका रामशरण कार्की पनि बाध्यताले दुई पांग्रे सवारी चलाउनुपरेको बताउँछन् । उनी पढाइसँगै पसलमा पनि काम गर्दै आएका छन् । पसलमा काम गरेर घर फर्कदा राति ८ बज्ने भएकाले बाध्यताले मोटरसाइकल किनेको उनले बताए । उनी बौद्धस्थित कपडा पसलमा काम गर्दै आएका छन्। 

‘सार्वजनिक यातायात भरपर्दो र सहज नहुँदा ऋण गरेर मोटरसाइकल खरिद गरेको हुँ,’ उनले बाध्यता सुनाए, ‘गाडीमा यात्रा गर्दा दैनिक दुई–तीन घन्टा नै खेर जान्छ, जसले गर्दा केही कामै भ्याउन सकिन्न ।’ 

बौद्ध–साँखुको दुरी १० किलोमिटर हाराहारी छ । यो दुरी पार गर्न सार्वजनिक गाडीलाई दुई घन्टा लाग्छ । यो सडक अहिले विस्तारको क्रममा छ । सडक दुरावस्था रहँदा पनि समय धेरै लाग्ने गरेको चालकहरू बताउँछन्।

सडकको दुरावस्था, जाम र मनपरी यात्रु बोक्ने गरेकाले सार्वजनिक यातायात अस्तव्यस्त बनेको छ । सार्वजनिक यातायात अस्तव्यस्त भएपछि यात्रुले यसको विकल्पमा दुई पांग्रे सवारी किन्न थालेको कतिपयको बुझाइ छ। 

‘गाडीमा यात्रा गर्दा केही काम भ्याउन सकिएन,’ थानकोटका सन्जोग श्रेष्ठले भने, ‘त्यही भएर मोटरसाइकल खरिद गरेको हुँ ।’ उनका अनुसार सार्वजनिक गाडीमा थानकोटबाट कंलकी आइपुग्न दुईदेखि पाँच घन्टासम्म लाग्छ । 
थानकोट–कंलकी सडक विस्तार हुने क्रममा छ । दुई वर्षयता यो सडकमा एक–दुई घन्टा जाम सामान्य हुन थालेको छ । 
श्रेष्ठका अनुसार थानकोटबाट कंलकी आसपास जागिर गर्ने धेरैले धमाधम दुई पांग्रे सवारी किनिरहेका छन् । सवारी किन्न नसक्नेले जागिर छाडेको उनको भनाइ छ। 

यातायात व्यवस्था विभागका अनुसार बर्सेनि साना सवारी किन्ने बढिरहेका छन् । विभागको तथ्यांकअनुसार यातायात व्यवस्था कार्यालय, बाग्मतीमा आर्थिक वर्ष २०७०/०७१ मा ५३ हजार दुई पांग्रे सवारी दर्ता भएका थिए । आर्थिक वर्ष २०७१/०७२ मा यो संख्या ५५ हजार पुग्यो । आर्थिक वर्ष २०७२/०७३ मा ६५ हजार सवारी दर्ता भए । आर्थिक वर्ष २०७३/०७४ मा यो संख्या ह्वात्तै बढ्यो । उक्त आर्थिक वर्षमा ९५ हजार दुई पांग्रे सवारी दर्ता भएको विभागको तथ्यांक छ। 

चालु आर्थिक वर्षमा पनि यो संख्या बढ्ने कार्यालयको अनुमान छ । कार्यालय (मोटरसाइकल) फाँटका प्रमुख गणेश अर्यालका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७० हजार मोटरसाइकल दर्ता भएका छन्। 

कार्यालयमा दर्ता भएका सवारीको तथ्यांकले बर्सेनि दुई पांग्रे सवारी खरिद बढिरहेको देखाएको छ। 

उपत्यकाको सडकको कुल लम्बाइ १ हजार ५ सय ९४ किमी छ । गत आर्थिक वर्षसम्म यो सडकमा गाडी गुडाउन झण्डै ११ लाख सवारीसाधन दर्ता भएका छन्। 

विभागको तथ्यांक अनुसार दैनिक सरदर दुई सय सवारी दर्ता हुने गरेका छन् । यी सवारीमध्ये ८० प्रतिशत दुई पांग्रे रहेको कार्यालयले जनाएको छ। 

‘तथ्यांक हेर्दा दुई पांग्रे सवारी प्रयोग गर्नेहरू बढेका छन्,’ विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने, ‘आम मानिसमा सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा समयमै गन्तव्यमा पुग्न सकिँदैन भन्ने निष्र्कषले पनि बढेको हुनपर्छ ।’  असहज सार्वजनिक यातायात र सडक जाम कम झेल्न कतिपयले दुई पांग्रे सवारी खरिद गर्न थालेको उनले बताए । यससँगै आम्दानी वृद्धि र वित्तीय संस्थाबाट सहजै गाडी कर्जा प्रवाहले पनि साना सवारीको प्रयोग बढेको हुन सक्ने उनको अनुमान छ। 

प्रकाशित: २९ पुस २०७४ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App