५ वैशाख २०८१ बुधबार
समाज

सडक कालोपत्रेमा ढिलासुस्ती गरेको भन्दै आक्रोश

खोटाङ– मध्यपहाडी लोकमार्ग कालेपत्रेको काम सुस्त भएको भन्दै खोटाङका प्रदेशसभा सदस्य राजन राईले आक्रोश पोखेका छन्। ठेकेदारको ढिलासुस्तीका कारण एकपल्ट थप भएको म्याद गुज्रिदा समेत मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी खण्डको कालोपत्रेका काम आधा मात्र पूरा भएको भन्दै प्रदेशसभा सदस्य राईले आक्रोश पोखेका हुन्।

एसियाली विकास बैंक (एडिबि)को करिब ५२ करोड रुपैयाँमा २ वर्षभित्र कालोपत्रेको काम सम्पन्न गर्नेगरी २०७१ साल साउन अन्तिम साता सडक स्तरोन्नतीको काम थालिए पनि प्रगती सन्तोषजनक नभएको भन्दै राईले ढिलासुस्तीको निन्दा गरेका हुन्। प्रदेशसभा सदस्य राईले सडक बिभागका उपल्लो तहका केही बदमास कर्मचारी र ठेकेदारको लेनदेनका कारण सडक कालोपत्रेमा ढिलासुस्तीको भएको आरोप लगाएकाक छन्। ‘गत वर्ष नै हस्तान्तरण हुनुपर्ने दिक्तेल–हलेसी सडक खण्डको कालोपत्रे अहिलेसम्म सकिएको छैन। ठेकेदारले यो आर्थिक वर्षभित्र पूरा गर्नेगरी म्याद थप गराएका छन्,’ प्रदेशसभा राईले फेसबुकमा लेखेका छन्, ‘तर, कामको गति हेर्दा यो वर्ष पनि सडक कालोपत्रे हुने कुनै गुञ्जायस छैन । सडक बिभागका उपल्लो तहका केही बदमास कर्मचारी र ठेकेदारको लेनदेनका आधारमा भएको ढिलासुस्तीको हामी निन्दा गर्दछौँ ।’ प्रदेशसभा सदस्य राईले ढिलासुस्तीका बिरुद्ध सडक बिभागमा डेलीगेसन जानका लागि खोटाङबासीलाई आग्रह गरेका छन्।

१४ जुन २०१४ देखि १२ जुन २०१६ मा सक्ने सम्झौता गरिएको कालोपत्रेका कामको पहिलोपल्ट थप भएको म्याद समेत गत मार्चमै सकिसकेको सडक बिभाग अन्तरगत दिक्तेल–हलेसी सडक योजनाले जनाएको छ। हलेसी–दिक्तेल सडक खण्ड अन्तरगत लामा–नागार्जुन–त्रिसुली जेभीले जिम्मा लिएको हुर्लुङ–दिक्तेल ११.४३ किलोमिटर सडक कालोपत्रेका काम ५२ प्रतिशत, लामा–नागार्जुन जेभीले ठेक्का लिएको बिजुले–हुर्लुङ १२ किलोमिटर खण्डको काम ५२.५ प्रतिशत मात्र पूरा भएको छ । लुम्बिनी कन्काई सुर्य जेभीले जिम्मा लिएको हलेसी–विजुले १२ किलोमिटर सडक खण्डको काम भने दुई खण्डको तुलनामा केही सन्तोषजनक देखिएको छ । सडक र पुल अभावमा खोटाङमा २०६४ सालमा हेलीकोप्टरबाट दुई वटा गाडी भित्र्याइएको थियो।

प्रकाशित: २९ पुस २०७४ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App