१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाका लागि प्रादेशिक निर्वाचन कार्यालय स्थापना

दाङ-  २४ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा ५ नम्बर प्रदेशको प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रदेश नम्बर ५ का मतदाताहरुले राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत दाङमा मतदान गर्नेछन्। निर्वाचन आयोगले प्रादेशिक उच्च अदालत भएको जिल्लामा मतदान गर्ने निर्णय गरेबमोजिम निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरिएको हो। माघ २४ गते प्रदेश नम्बर ५ का १२ जिल्लाका ३ सय ५ मतदाताहरुले राष्ट्रिय सभाका लागि मतदान गर्ने छन्।

 निर्वाचनमा प्रदेशसभा सदस्य,स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्न पाउने प्रावधान रहेको छ। यो प्रदेशमा चयन भएका ८७ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ गरि राष्ट्रिय सभाका लागि कुल ३ सय ५ मतदाता छन्। यो प्रदेशमा १ सय ९ स्थानीय तह छन् भने प्रदेशसभा सदस्य ५२ जना प्रत्यक्षबाट चुनिएका छन् भने ३५ जना समानुपातिकबाट छानिएका छन्।

‘प्रदेश प्रमुख नियुक्ती तत्काल नियुक्ती हुनै पर्छ,’ प्रदेश नम्बर ५ का  निर्वाचन अधिकृत हेमन्त रावलले भने ‘यसका लागि राज्यलाई ठूलो दबाब परेको छ,सम्भवतः राज्यले प्रदेश प्रमुख चाँडै नियुक्त गर्ने छ।’ उनका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा दुई मतदान केन्द्र तोकिने छन्। एउटा मतदान केन्द्रमा प्रदेशसभा सदस्यहरुले मतदान गर्ने छन् भने अर्कोमा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले मतदान गर्ने छन् । ‘निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि छुट्टा छुट्टै दुई मतदान केन्द्र तय गरिनेछन्,’उनले भने ‘स्थानीय तहका जनप्रतिनीधि र प्रदेशसभा सदस्यहरुको मतभार अलग अलग हुने भएकाले यस्तो व्यवस्था गरिएको हो,र मतपत्र पनि छुट्टा छुट्टै हुन सक्ने देखिएको छ।’

राष्ट्रिय सभा निर्वाचनका लागि दाङमा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै निर्वाचनका लागि भरपुर तयारीमा यहाँका सरोकारवालाहरु सक्रिय बनेका छन्। ‘निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्थापनका लागि स्थानीय प्रशासनले कुनै कसर बाँकी राख्ने छैन,’निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यले भने ‘विगतका निर्वाचन जस्तै यो निर्वाचनमा पनि सुरक्षा अवस्था मजवुत बनाईने छ।’

 

प्रकाशित: २९ पुस २०७४ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App