७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

यी हुन उत्तर कोरियाका सहयोगी देश

सोल – संयुक्त राष्ट्रसंघ र अमेरिकी प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रममार्फत विश्वलाई हल्लाइरहेको छ। उत्तरले खासगरी अमेरिकाविरुद्ध आफ्ना कार्यक्रम लक्षित गर्दै आइरहेको छ।

यस्तो बेला अमेरिकी दबाबमा विश्वका थुप्रै देशले उत्तर कोरियासँग सम्बन्ध विच्छेद गरिसकेका छन्। अमेरिकासहित दक्षिण कोरिया र जापानले कहिल्यै राजनीतिक सम्बन्ध राखेनन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय उत्तर कोरियासँग टाढिने देशको संख्या बढिरहेको छ। स्पेन, कुवेत, पेरु, मेक्सिको, इटाली र म्यानमारले भर्खरैमात्र आफ्नो दूतावास हटाएका छन् भने राजनीतिक सम्बन्ध विच्छेद गरेका छन्। पोर्चुगल, युगाण्डा, सिंगापुर, युएई र फिलिपिन्सले पनि सबै सम्बन्ध तोडिसकेका छन्। राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलले सबै देशलाई सम्बन्ध तोड्न आह्वान समेत गरिसकेकी छन्।  

तैपनि अझै धेरै देशसँग उत्तरको राजनीतिक र कुटनीतिक सम्बन्ध कायम छ। करिब ५० देशले आजपनि सम्बन्ध राखेका छन्।

कुन कुन देशको समर्थन ?

१९४८ मा दक्षिणबाट अलग भई स्वतन्त्र बनेको उत्तर कोरियाले करिब १६० देशसँग औपचारिक रुपमा राजनीतिक सम्बन्ध कायम गरेको थियो। ५५ देशमा दूतावास र ४८ देशमा वाणिज्य दूतावास खोल्यो।

युरोपका ब्रिटेन, जर्मनी, स्वीडेनसहित करिब २५ देशको अझैपनि उत्तर कोरियासँग राजनीतिक सम्बन्ध कायमै छ। दक्षिणबाट स्वतन्त्र भएपछि सबैभन्दा पहिले कम्युनिष्ट छिमेकी चीन र रुसले राजनीतिक सम्बन्ध कायम गरेका थिए। यी दुबै शक्तिशाली देश अहिले उत्तरका प्रमुख आर्थिक साझेदार हुन्।

उत्तर कोरियाको अफ्रिकी देशसँग सुरुदेखि नै राम्रो सम्बन्ध छ। विकसित देशहरुको आर्थिक सहयोग एवं विकास संगठन (ओईसिडी) का ३५ देशमध्ये ६ देशमा अझैपनि उत्तरका दूतावास छन्।

अमेरिकाले उत्तरका खबरहरु व्रिटेन, जर्मनी र स्वीडेनजस्ता देशबाट मात्रै पाउँछ। यी देशका दूतावास अझैपनि उत्तरमा छन्।

एशिया, यूरोप, मध्यपूर्व र अफ्रिकामा उत्तर कोरियाका दूतावास राष्ट्रसंघले लगाएको नाकाबन्दीको सामना गर्न आर्थिक रुपमा निकै महत्वपूर्ण छन्।

पाकिस्तानसँग त उत्तर कोरियाको राजनीतिक, कुटनीतिकका साथै गुप्चतर सम्बन्ध पनि रहेको बताइन्छ।
समाजवादी र कम्युनिष्ट देशहरु क्युबा, भेनुजुयला र लाओसलगायतसँग पनि उत्तरको सम्बन्ध छ। सिरिया र इरानको पनि उत्तरलाई समर्थन रहेको बताइन्छ।

यसका साथै हंगेरी, टर्की र अष्ट्रेलियालगायत २० देशले उत्तरसँगको सम्बन्धलाई तीव्रता दिएका छन्। यी देशहरुले उत्तर कोरियालाई कुनै न कुनै रुपमा सहयोग गरिरहेको बीबीसीले जनाएको छ।

प्रकाशित: २९ पुस २०७४ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App