सम्धीलाई प्रदेश प्रमुख बनाउन ठाकुरको सिफारिस

आइतबार, ३० पुष २०७४, ०८ : १३ भुवन शर्मा


काठमाडाैँ – राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई प्रदेश दुईको प्रदेश प्रमुख बनाउन सरकारसँग सिफारिश गरेका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ठाकुरले गत पुस २४ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर झालाई प्रदेश प्रमुख बनाउन सिफारिश गरेका थिए । झाले  पार्टीको लेटरप्याडमा  लेखेर औपचारिकरूपमा झाको नाम सिफारिश गरेको स्रोतको भनाइ छ । यसबारे राजपाको बैठकमा छलफल भएको छैन । राजपाका अन्य नेताहरूलाई पनि यसबारे गोप्य राखिएको स्रोतको दाबी छ। 

प्रदेश २ मा राजपा र संघीय फोरमको सरकार बन्ने भएकाले राजपा र संघीय फोरमको सरकारलाई सहज हुने गरी प्रधानमन्त्रीले प्रदेश प्रमुख मनोयन गर्ने तयारी गरेका छन् ।  आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले राजपा–फोरम गठबन्धनसँग तालमेल गरेर प्रदेश २ मा उम्मेदवारी दिने तयारी गरेको छ । सो कारण पनि देउवाले प्रदेश २ मा राजपा र फोरमले सिफारिश गरेको व्यक्तिलाई प्रदेश प्रमुख बनाउन चाहेका छन् । यसबारे देउवाले ठाकुर र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए । तर प्रदेश प्रमुख बनाउन ठाकुर र यादवले साझा नाम दिन सकेनन् । यादवले पार्टीका प्रवक्ता रत्नेश्वरलाल कायस्थको नाम दिए । कायस्थको नाम प्रतिनिधिसभा समानुपातिकमा पार्टीले निर्वाचन आयोगमा गरेको सिफारिशमा अग्रपंक्तिमा छ ।

तर संघीय फोरमले पाएको कोटामध्ये सबै सिटमा महिलाको नाम पठाउनु पर्ने भएपछि कायस्थको सम्भावना अन्त्य भएको छ । कायस्थले प्रदेश प्रमुखका लागि पार्टीले आफ्नो नाम  सिफारिश गरेको हुनसक्ने घुमाउरो पारामा स्वीकार  गरे । उनले भने, ‘यसबारे प्रधानमन्त्रीसँग छलफल गर्न र उपयुक्त व्यक्तिको नाम सिफारिश गर्न हामीले पार्टी अध्यक्षलाई अधिकार दिएका छाैँ । उहाँले मेरो नाम पनि सिफारिश गरेको हुनसक्छ । तर राजपाका वरिष्ठ उपाध्यक्ष विर्खेशचन्द्र लालले भने राजपाले औपचारिकरूपमा प्रदेश प्रमुखका लागि कसैको नाम सिफारिश नगरेको दाबी गरे । ‘औपचारिक रूपमा हाम्रा अध्यक्षज्यूले कसैको नाम सिफारिश गर्नुभएको होला जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘यसबारेमा हामीलाई केही पनि थाहा छैन ।’ खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष भएको बेला उमाकान्त सिँचाइ तथा ऊर्जा मन्त्री भएका थिए । यसैगरी उनी पूर्व सचिव पनि हुन । उनी राजपाका महासचिव  पनि हुन् । उनकी पत्नी इन्दिरा झा  प्रतिनिधिसभा समानुपातिका लागि राजपाबाट सिफारिश भएकी छन् ।

प्रतिनिधिसभा समानुपातिकमा उनको  करिबकरिब निश्चित भएकोछ । दोस्रो संविधानसभा निर्वाचनमा पनि ठाकुरले तत्कालीन तमलोपाबाट इन्दिराको नाम  प्रतिनिधिसभा समानुपातिकमा नाम पठाएका थिए । प्रदेश २ मा प्रमुख बन्न विद्याधर मल्लिकले पनि लबिइङ गरेको स्रोतको दाबी छ । तर मल्लिकको नामममा भने राजपा र संघीय फोरमले सहमति दिएको छैन । यसैगरी  पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति डा. रामअवतार  यादको नाम पनि चर्चामा रहेको  छ। 

केही दिनअघि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका राजपा  र संघीय फोरमका नेताहरूले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने अधिकार सरकारको रहेको भन्दै यसबारे निर्णय गर्न सरकारलाई मार्ग प्रशस्त गरेका थिए । तर देउवाले राजपा र संघीय फोरमलाई खुशी बनाउन ठाकुर र यादवसँग छुट्टाछुट्टै अनौपचारिक कुराकानी गरेका थिए। 
 

सोमबार प्रमुख र  केन्द्र तोकिने सम्भावना 
यसैबीच, आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा सरकारले अस्थायी केन्द्र र प्रदेश प्रमुखको मनोयन गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने निर्णय हुन नसकेपछि निर्वाचन आयोगले सोही दिन प्रदेश प्रमुख र अस्थायी राजधानी चाँडो भन्दा चाँडो मनोयन गर्न प्रधाानमन्त्रीलाई चिठी पठाएर आग्रह गरेका थियो । देउवाले प्रदेश प्रमुखको मनोनयन गर्न केही दिनदेखि आन्तरिक छलफल र गृहकार्य पनि गरेका छन् । यसबारे उनले पार्टीका महामन्त्री सशांक कोइरालासँग पनि कुराकानी गरेका छन् । निर्वाचन आयोगले आगामी राष्ट्रिय निर्वाचन प्रयोजनका लागि सातवटै प्रदेशमा निर्वाचन कार्यलय राख्ने निर्णय गरेको छ । यसले सरकारलाई अस्थायी केन्द्र तोक्न सहज बनाएको सरकारका एक मन्त्री बताउँछन् । निर्वाचन आयोगले कार्यलय राखेको स्थानमा   सरकारले अस्थायी केन्द्र तोक्ने सम्भावना कायम रहको ती मन्त्रीको भनाइ छ।  

प्रदेश प्रमुखको मनोनय नभई निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परिणाम बुझाउन सकेको छैन । संविधानअनुसार प्रदेशसभाको अन्तिम  परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने प्रावधान छ । प्रदेश प्रमुखको अन्तिम नतिजा निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आव्हान गर्ने संविधानमा व्यवस्था छ । तर सरकारले प्रदेश  प्रमुखको मनोनयन गर्न ढिलो गर्दा प्रदेशसभाको सांसदले सपथ ग्रहण गर्नसमेत पाएका छैनन्  । यसबाट प्रदेशसभा सांसदहरू यतीखेर अलमलमा परेका छन् । 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

राजपूत समुदायको विरोधपछि फिल्मको नाम परिवर्तन (पद्मावत) र दृश्य परिमार्जनसहित सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको ‘पद्मावती’लाई राजसंस्थान, हरियाणा, गुजरात र...

साली बन्दै मरिस्का

साली बन्दै मरिस्का

नेपाली कथानक चलचित्र ‘साली कसको भेनाको’ मंगलबार चितवनमा शुभमुहूर्त गरिएको छ । मुभिङ पिक्चर्सद्वारा निर्मीत फिल्ममा वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले...

‘शेरबहादुर हलिउडबाट प्रभावित’

‘शेरबहादुर हलिउडबाट प्रभावित’

फिल्म ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म हलिउडको फिल्म ‘डन्ट ब्रिथ’बाट प्रभावित भएको आरोप लागेको थियो । फिल्म प्रभावित भएको...

लघुकथा वाचन तथा विमोचन

लघुकथा वाचन तथा विमोचन

शब्दपथको आयोजनामा लघुकथा सर्जक महेश प्रसार्इंको लघुकथा ‘अतिरिक्त स्वरहरू’को विमोचन ललितपुरको सिद्धेश्वर मन्दिर प्राङ्गण, लेलेमा सम्पन्न गरिएको छ । ...