coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दूध बिक्रीबाट एक वर्षमा ३८ करोड आम्दानी

हेटौंडामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघद्वारा आयोजित २५औं वार्षिक साधारण सभामा सहभागी । तस्बिर: अशोकसुजन/नागरिक

मकवानपुर – मकवानपुर जिल्लामा दूध बिक्रीबाट एक वर्षमा करिब ३८ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा मकवानपुरका ५५ वटा दुग्ध उत्पादक सहकारीबाट संकलित दैनिक औसत २० हजार लिटर दूध बिक्री गरी उक्त रकम आम्दानी भएको हो ।

जिल्लामा उत्पादित दूध काठमाडौं, पोखरा, हेटौंडा लगायतका करिब २० वटा उद्योगले किन्ने गरेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणि दाहालले बताए । किसानबाट दूध संकलन गरी बिक्री गरेबापत जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले एक वर्षको अवधिमा २४ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको उनले जनाए । अघिल्लो वर्षको तुलनामा चालु आवमा दैनिक औसत पाँचदेखि आठ हजार लिटर बढी दूध संकलन भइरहेकाले दूध उत्पादन बढेको उनले अनुमान गरे । 

जिल्ला दुग्ध उत्पादक सहकारी संघले चालू आवमा करिब ४६ करोड रुपैयाँको दूध बिक्री गर्ने लक्ष्य राखेकामा पहिलो चौमासिकमै १८ करोड ४९ लाख रुपैयाँको दूध बिक्री भइसकेको संघले जनाएको छ । सहकारीको बिहीबार हेटौंडामा आयोजित २५औं वार्षिक साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक तोयानाथ दाहालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार जिल्लामा ५५ हजार लिटर दूध भण्डारण गर्न सक्ने क्षमता रहेको छ । जिल्लाका २७ वटा दुग्ध सहकारीले दुग्ध चिस्यान केन्द्र सञ्चालन गरिरहेका छन् । दाहालका अनुसार जिल्लामा ३८ वटा दुग्ध उत्पादक सहकारी संस्थाले मिल्क अनलाइजर मेसिन सञ्चालन गरिरहेका छन् ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भौगोलिक र हावापानीका दृष्टीले उपयुक्त दूध उत्पादनका लागि सरकारले बिशेष कार्यक्रम ल्याई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए । बर्सेनि लाखौको दूध र दुग्ध पदार्थ भारत र अन्य देशबाट आयात भइरहेको भन्दै उनले देशमै निर्वाहमुखी पशुपालनलाई विकास गर्दै व्यावसायिक पशुपालनमा जोड दिनुपर्ने बताए ।

प्रदेश नम्बर ३ का सांसद तथा नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेलले युवाहरुले लाज त्यागेर पशुपालन गरी देशलाई दूधमा आत्मनिर्भर बनाउनुपर्ने बताए । विदेशमा जस्तो पनि दुःख र पीडा सहेर काम गर्नुभन्दा नेपालमै गौरव गर्न लायक पशुपालन र कृषि पेसा गर्न उनले युवाहरुलाई आग्रह पनि गरे ।

सभामा संस्थाका अध्यक्ष बासुदेव अधिकारीले किसानलाई निर्वाहमुखी पशुपालनबाट व्यावसायिक पशुपालनमा लाग्न उत्प्रेरित गरी दूध उत्पादन बढाउन सरकारले पनि विशेष योजना ल्याउनुपर्ने बताए । कम लागतमा दूध उत्पादन कार्यक्रमलाई व्यापकताका साथ अघि बढाइँदै घाँस खेती, हेसाइलेज निर्माण तालिमका कार्यक्रम संघबाट अगाडि बढाइने पनि अधिकारीले प्रतिबद्धता व्यक्त गरे । दूध किसान र दुग्ध सहकारीको हितमा आगामी वर्ष गर्ने कामबारे जानकारी दिँदै अधिकारीले यातायात सुविधा पुगेका

गाउँपालिकामा दुग्ध उत्पादक सहकारी संस्था गठन गरिने र उनीहरुलाई दूध संकलन सुरु गर्न तालिम, आर्थिक सहयोग, तथा भौतिक पूर्वाधारमा समेत सहयोग गरिने बताए ।

पशुपालनमा भएको नोक्सानीलाई न्यूनीकरण गर्न कृषि विकास बैंकको सहजीकरणमा सहकारी संस्थामा सञ्चालित पशुधन संरक्षण कार्यक्रम अझ प्रभावकारी रुपमा सञ्चालन गरिने जिल्ला दुग्ध उत्पादक सहकारी संघले योजना बनाएको छ । आगामी वर्ष सहकारीमा लैंगिक समानता र महिला सशक्तीकरण तालिम, नेतृत्व विकास तालिम, गोठ सुधार तालिम, पशुपालन तथा उन्नत आहार व्यवस्थापन सम्बन्धी तालिम पनि सञ्चालन गर्ने संघका अध्यक्ष अधिकारीको भनाइ छ ।

संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद  पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा सिन्तान, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं, कृषि विकास बैंक हेटौंडाका निमित्त प्रमुख अच्युत ढुंगाना, हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख गणेशकुमार यादव लगायतले व्यावसायिक पशुपालन गरी दूध व्यवसायमा राम्रो आयआर्जनको सम्भावना रहेकाले सबै पक्ष सचेत हुनुपर्ने बताए ।

 

प्रकाशित: ३० पुस २०७४ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App