coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नुवाकोटमा ‘तरकारीको जोन कार्यालय’ स्थापना

नुवाकोटमा स्थापना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारीको जोन कार्यालय ।  तस्बिर सौजन्य: हरिप्रसाद पनेरु/कृषि विकास कार्यालय नुवाकोट

नुवाकोट – जिल्ला कृषि विकास कार्यालय नुवाकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारीको जोन कार्यालय स्थापना गरिएको छ । कृषि विकास कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलराज गैरेलाई नै तरकारी जोनको प्रमुख तोकिएको छ । एक दशकसम्म सञ्चालन हुने तरकारी कार्यक्रम जिल्लाका १२ स्थानीय तहमध्ये चार स्थानीय तहभित्र पर्ने १५ वटा वडामा चल्ने बताइएको छ । 

तरकारीको जोन कार्यक्रम सञ्चालन गर्न ककनी गाउँपालिकामा रहेको सातवटै वडा, शिवपुरी गाउँपालिकाको वडा नं. ६ समुन्द्रादेवी, वडा नंं. ७ सुनखानी र वडा नं. ८ थानापती, पञ्चकन्या गाउँपालिकाको वडा नं. ३ पञ्चकन्या, वडा नं. ४ थप्रेक, वडा नंं. ५ भदुटार, दुप्चेश्वर गाउँपालिका वडा नंं. ३ रातउवेशी र वडा नंं. ५ बालकुमारी छनोट भएको तरकारी जोन कार्यक्रमका प्रमुख एवं कृषि विकास कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत गैरेले जानकारी दिए । 

‘छनोटको क्षेत्रभित्र रहेका किसान, कृषक समूह, कृषि फर्म, कृषि सहकारी संस्था, कृषि सम्बन्धि जल उपभोक्ता समितिले अहिले गर्दै आएको तरकारी खेती तथा अब व्यावसायिक तरकारी खेती गर्न चाहेमा जोन कार्यालयमा सूचीकृत गरी परियोजनाले प्रवाह गर्ने सेवा उपभोग गर्न पाउने मापदण्ड बनाइएको छ,’ गैरैले भने, ‘तरकारी खेती गर्दै आएका तथा गर्न चाहनेलाई तोकिएको मापदण्ड अनुसार खेती गरी परियोजनाले उपलब्ध गराउने सेवाका लागि सूचिकृत हुनका लागि आवेदन संकलन गर्न लागेका छौं ।’

जोन कार्यालयमा सूचीकृत भएका सदस्यबाट तरकारी जोन परियोजना सञ्चालनका लागि नौ सदस्य रहेको व्यवस्थापन समिति गठन गरिने वरिष्ठ कृषि अधिकृत गैरेले बताए । त्यसपछि माग भएअनुसारको सेवा उपलब्ध गराउने गरी सञ्चालन हुन लागेको कार्यक्रम किसानले आफ्नै कार्यक्रमको रुपमा महसुस गर्न पाउने र आफू अनुकुल सञ्चालन हुने बिस्वास लिइएको छ । परियोजनामार्फत सूचितकृत भएका सदस्यलाई तरकारी खेतीमार्फत उत्पादन वृद्धि र उचित मूल्यसहितको बजारीकरण मुख्य प्राथमिकतामा राखिएको छ । किसानबाट उत्पादन वृद्धिका साथै बजारीकरणमा मुख्य ध्यान दिएर कार्यक्रम सञ्चालन गर्न लागेको वरिष्ठ कृषि अधिकृत गैरेले बताए । 

जोन कार्यक्रमका लागि दर्ता भएका सदस्यहरुले अदुवा, बेसार, अलैंचीजस्ता मसला बालीबाहेक तरकारी खेतीको व्यावसायीकरण र आधुनिकीकरणका लागि परियोजनामार्फत सेवा र सुविधा उपभोग गर्न पाउने मापदण्ड रहेको छ । 

परियोजनामार्फत किसान तथा समूहले बीउ, मल, बेर्ना, तालिम, अनुदान तथा सहुलियत दरमा कृषि औजार तथा उपकरण, तरकारी बजारीकरणका लागि सवारी साधन, चिस्यान केन्द्र लगायत व्यवस्था रहेको नुवाकोटका लागि तरकारी जोन कार्यक्रमका प्रमुख वरिष्ठ कृषि अधिकृत गैरेले जानकारी दिए । ‘किसानले अहिले उत्पादन गर्दै आएको तरकारी उत्पादन दरभन्दा १० प्रतिशतसम्म वृद्धि गरेमा नगद रुपैयाँ अनुदान दिनेसम्मको कार्यक्रम जोनमार्फत सञ्चालन गर्न लागेका छौं,’ गैरेले भने, ‘तरकारी जोन कार्यक्रमले किसानको माग अनुसारको सेवा प्रवाह गर्ने भएकाले के–के सेवा उपलब्ध र प्रवाह गर्नेभन्दा पनि किसानको सक्रियता, लगनशिलता, जागरुकता र उपलब्धिका आधारमा आवश्यक पर्ने सेवा उपलब्ध गराउने भएकाले कार्यक्रमको सफलता र असफलता किसानसँग जोडिएको छ ।’  

स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक एवं संस्थागत जनशक्तिबाट गएको वर्षदेखि कार्यान्वयनमा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’मार्फत सुपरजोन, जोन, ब्लक र पकेट क्षेत्र गरी चार विधाका कार्यक्रम सञ्चालनमा रहेको छ । नुवाकोटमा गत वर्षदेखि आलुको जोन सञ्चालनमा रहेको छ भने यस वर्षदेखि तरकारीको जोन आएको हो ।

प्रकाशित: ३० पुस २०७४ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App