coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीको ‘भोज नीति’

तस्विर: पुष्पकमल दाहालका ज्वाँइ जीवन आचार्यको फेसबुकबाट

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवार र वाम गठबन्धनका अन्य नेतालाई रात्रीभोजमा निम्त्याउनुले राजनीतिक वृत्तमा अनेक शंका उब्जाएको छ। राष्ट्रपतिको भोजनीतिलाई सोही पदमा दोस्रो कार्यकाल रहने दाउका रुपमा हेरिएको छ। तर राष्ट्रपति कार्यालयका अधिकारीहरुले कुनै पनि राजनीतिक अभिष्टका लागि राष्ट्रपतिले भोज नगरेको बताएका छन्। 

राष्ट्रपतिका रात्रीभोज

  • शुक्रवार दाहाल परिवारका १५ सदस्यसँग 
  • अघिल्लो आइतवार वाम पार्टीका एक दर्जन नेतासँग 
  • अघिल्लै साता उपराष्ट्रपतिको परिवारसँग

रिपब्लिका दैनिक लेख्छ, ‘कार्यकाल सकिन अब दुई महिनामात्र बाँकी रहेका बेला राष्ट्रपतिले नेताहरुलाई भोजमा आमन्त्रित गर्नुलाई उनले अर्को कार्यकाल पनि पदमा रहन लवि गरिरहेको भनी कतिपयले अथ्र्याएका छन्।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भण्डारीको दोस्रो कार्यकालको पक्षमा रहेकाले पनि आशंका व्याप्त भइरहेका हुन् । राष्ट्रपति बन्नु अघि भण्डारी नेकपा एमालेको उपाध्यक्ष थिइन् । राष्ट्रपतिको रुपमा भण्डारीले जम्मा दुई वर्ष मात्रै सेवा गरेकी छन्। पहिलो राष्ट्रपति डा. रामवरण यादव सात वर्षसम्म पदमा रहेका थिए ।

चुनावमा गठबन्धन गरेर बहुमत हासिल गर्दै पार्टी एकीकरणको तयारी गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रले अब केही हप्ता वा महिनादिन भित्रै निक्र्योल गरिसक्नुपर्ने प्रमुख पदहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री पदको भागबण्डाका लागि कुराकानी सघन बनाउँदै गर्दा राष्ट्रपति भण्डारीले दाहाल परिवारलाई रात्रीभोजमा  निम्त्याएको खवर सार्वजनिक भएको हो। 

  • पूर्व राष्ट्रपतिका सल्लाहकार सूर्य ढुंगेल भन्छन्, ‘भोजसहितका भेटघाटको उद्देश्य र सन्दर्भसहित अध्ययन गर्नुपर्छ।
  • राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार भन्छन्, ‘नीजि सम्बन्धका भेटघाटलाई राजनीतिक लवि गरिरहेको भनि व्याख्या गर्नु दुराशय हो।’

राष्ट्रपतिले शुक्रवार साँझ दाहाल परिवारका सबै सदस्यलाई रात्रीभोजमा निम्त्याएकी थिइन् । सो भोजमा सहभागी हुने १५ जनामा दाहालसँगै पत्नी सिता, दुवै छोरी रेणु र गंगा, ज्वाई सागर केसी, अर्जुन पाठक र जीवन आचार्य, बुहारी विना मगर र नातीनातिना थिए। राष्ट्रपतिले अघिल्लो आइतवार दुई वाम पार्टीका झन्डै एक दर्जन प्रमुख नेताहरुलाई रात्रीभोजमा निम्त्याएकी थिइन् । उनले अघिल्लो साता उपराष्ट्रपतिको परिवारलाई पनि बोलाएकी थिइन् । 

राष्ट्रपति भण्डारीसँग दाहालका छाेरी गंगा र रेणुसँगै ज्वाँइहरु सागर केसी, जीवन आचार्य र अर्जुन पाठक।

जानकार स्रोतको हवाला दिंदै रिपब्लिका दैनिक लेख्छ, राष्ट्रपति भण्डारीले नेताहरुलाई उनीहरुका श्रीमतीसहित दिवा र रात्रीभोजमा निम्त्याउने गरेकी छन् । शीतल निवासमा पुरै परिवारलाई रात्री भोजमा आमन्त्रित गर्नु ‘दुर्लभ अभ्यास’ हो । स्रोत भन्छ, ‘सम्पूर्ण परिवारलाई नै भोजमा निम्त्याउनु पहिलो राष्ट्रपति डा. रामवरण यादवको कार्यकालमा ‘दुर्लभ’ अभ्यास थियो।

यादवको कार्यकालभरी उनको सचिवालय र सल्लाहकार सदस्य रहेका डा. सूर्य ढुंगेलले भोजसहितका भेटघाटलाई सन्दर्भ र प्रयोजनसहित व्याख्या गर्नुपर्ने बताए । ढुंगेल भन्छन्, ‘हामीले यस्ता भेटघाटको उद्देश्य र सन्दर्भसहित अध्ययन गर्नुपर्छ। राष्ट्रपतिले आफ्ना नातेदार र साथीसंगीलाई बोलाउन सक्छ । राजनीतिक परामर्श र बैठकका लागि कहिलेकांही नेताहरुलाई पनि आमन्त्रण गर्नसक्छ।’

राष्ट्रपति भण्डारीको कार्यकाल करिव दुई महिनामा सकिदैछ । उच्च पदका लागि उम्मेदवार खोजी भइरहेका सन्दर्भमा भोजवार्ता भइरहेको टिप्पणी कतिपय राजनीतिज्ञ र जानकारहरुको छ। राजनीतिक वृत्तमा भइरहेका अड्कलवाजीको खण्डन गर्दै राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शर्मा भन्छन्, ‘दाहाल परिवारसँगको डिनर वार्ता राष्ट्रपतिको नितान्त निजी हो।’  

‘दुई महिनाअघि छोरा गुमाएको दाहाल परिवार पुत्र वियोगबाट निस्कदैछ। राष्ट्रपतिले सहानुभूति व्यक्त गर्न दाहाल परिवारलाई रात्रीभोजमा बोलाउनुभएको हो।’ शर्माले भने, ‘यसलाई राजनीतिक लवि गरिरहेको भनि व्याख्या गर्नु दुराशय हो।’ शर्माले थपे, ‘राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि अहिलेसम्म कसैसँग पनि आफ्नो रुचि रहेको भन्नुभएको छैन।’ प्रेस सल्लाहकार शर्मा भन्छन्, ‘नेताहरुलाई राष्ट्रपतिको भूमिका र योगदान अझै आवश्यक छ भन्ने लागेमा उहाँको रुचि बारे नेताहरुले सोध्न सक्छन् । तर राष्ट्रपति स्वयंले आफ्नो कार्यकाल दाहो¥याउन कहिल्यैपनि लवि गर्नुभएको छैन।’ 

स्रोत अनुसार, एमाले नेतृत्व राष्ट्रपति भण्डारीको कार्यकाल दाेहाेर्याउने वा सो पदमा नयाँ अनुहार ल्याउने विषयमा विभाजित छ। संवैधानिक प्रावधान अनुसार दुई वर्षमा पद छोड्नु पर्ने अवस्था सृजना भएकाले अध्यक्ष ओली भण्डारीलाई दोस्रो कार्यकाल दिने मनशायमा रहेको बताइएको छ । तर अन्य नेताहरु भने अरुलाई नै अवसर दिनुपर्ने पक्षमा छन् ।
स्रोत अनुसार ओलीसँग निकट ठानिएका इश्वर पोखरेल र विष्णु पौडेलले पार्टीको आन्तरिक व्यवस्थापन गर्न पनि माधव नेपाल वा झलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्ने तर्क गरिरहेका छन् । नेपाल र खनालको सम्मानजनक बर्हिगमनमा ढिलाई गर्दा पार्टीभित्र गुटगत विभाजन फराकिलो हुने एवं माओवादी केन्द्रसँगको एकीकरणका सन्दर्भमा पार्टीको संस्थापनलाई अप्ठ्यारो पर्नसक्ने पोखरेल र पौडेलको धारणा छ। यसका साथै संविधान सभाको अध्यक्ष रहेका सुवास नेम्बाङलाई पनि राष्ट्रपतिको संभावित उम्मेदवारका रुपमा हेरिएको छ। 
 

 

प्रकाशित: ३० पुस २०७४ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App