८ वैशाख २०८१ शनिबार
अन्य

पहिचानको पहिरन

शुष्मा बराली

कैलालीकी सुुशीला चौधरी फेसन डिजाइनर हुन् । यस वर्षको माघीमा बगौडा थारु पहिरनमा सजिने उनको योजना छ। ‘माघी त हाम्रो महान् चाड हो । हाम्रो समुदायको नयाँ वर्ष पनि हो,’ उनले भनिन्, ‘माघीमा म राना थारुको पहिरनमा सजिने विचारमा छु।’ 
माघ १ गते अर्थात् माघेसंक्रान्तिलाई थारु समुदायले माघीका रुपमा मनाउँछन् । पछिल्ला वर्ष काठमाडौंमा रहेका थारु समुदाय टुँडिखेलमा भेला भएर माघी मनाउने गर्छन्, आफ्नो संस्कृति प्रदर्शन गर्छन्। 

फेसन डिजाइनर सुशीला यसपालि टुँडिखेलमा थारु सांस्कृतिक पहिरन ‘सो’ गर्ने योजनामा छिन् । ‘माघीमा थारु कल्चरल ड्रेस सो गराउँदै छु,’ उनले भनिन्।

विभिन्न कार्यक्रममा फेसन सो गरिसकेकी उनी माघीमा भने यो चौथोपटक हो । थारु सांस्कृतिक पहिरन ‘सो’मा नेपालभरिका थारु समुदायका पहिरन देख्न सकिने उनी बताउँछिन् । ‘थारु समुदायको पहिरन विश्वभर फैलियोस्, थारु समुदायबारे थाहा होस्, हाम्रोबारेमा जान्न इच्छुक होऊन् भनेरै सो गर्न लागेकी हुँ,’ उनले भनिन्।

फेसन डिजाइनर सुशीला यसपालि टुँडिखेलमा थारु सांस्कृतिक पहिरन ‘सो’ गर्ने योजनामा छिन् । माघीको दिन उनी स्वयंले भने राना थारुको पोसाक घाँघरिया, चोलिया र सेतो आघरान (स्कार्फ) र थारु गरगहना लगाउनेछिन् । ‘टाउकोमा मगौरी, घाँटीमा सुतिया, हुमेल, कन्सेहरी, हातमा तरिया, कानमा बिज्लीबाला, खुट्टामा लगाउने काठले बनेको पाउवा लगाउनेछु,’ उनले भनिन् ।

माघीको दिन उनी स्वयंले भने राना थारुको पोसाक घाँघरिया, चोलिया र सेतो आघरान (स्कार्फ) र थारु गरगहना लगाउनेछिन् । 
‘टाउकोमा मगौरी, घाँटीमा सुतिया, हुमेल, कन्सेहरी, हातमा तरिया, कानमा बिज्लीबाला, खुट्टामा लगाउने काठले बनेको पाउवा लगाउनेछु,’ उनले भनिन्। 

उनका अनुसार माघीमा बिहान उठेर, नुहाइधुवाई गरेर निसराउ छुने र लिने गरिन्छ । ‘माघी पर्वमा थारू छोरी–चेलीलाई धान, चामल, गहुँ, खुर्सानी, पैसा लगायत उपहारस्वरूप दिइने चलन छ, जसलाई निसराउ भनिन्छ,’ उनले भनिन्, ‘घरको मूलीले परिवारका सबै सदस्यलाई निसराउ छुने आदेश दिनुहुन्छ।’ 

निसराउ लिएपछि थारुका विशेष परिकार घोँगी, ढिक्री, माछाका परिकार, धानचरीको मासु, बँगुरको मासु, गुरीगरी जाँड, मौवाको रक्सी लगायत खानाका प्रकार खाने गरिन्छ।

वर्षभरि खेती गरेर बाली भिœयाएपछि थारु समुदायले हर्षोल्लास साथ माघी मनाउने निबन्धकार सुशील चौधरी बताउँछन् । ‘माघीलाई थारु समुदायले एक–अर्कामा भाइचारा र आत्मीयता बढाउने पर्वका रूपमा मनाउँछन् । माघीका बेला आफन्तहरुबीच भेटघाट हुन्छ, दुःखसुखका कुरा हुन्छन्,’ उनले भने, ‘माघीलाई गएको वर्षको समीक्षा गर्ने र आउने वर्षको योजना तय गर्ने समयका रूपमा पनि मनाइन्छ।’ 

महिलाले आफूले भोग्दै आएका पीडा, वेदना र स्वतन्त्रताका कुरा माघीका गीतमार्फत प्रस्तुत गर्ने पनि उनले बताए।
थारु समुदायले मीठो–मसिनो खाएर मनाउने पर्व हो, माघी । माघीकै दिन भने काटमार गरिँदैन । ‘पुस ३० गते नै माछा मार्ने, सुँगुर, बुँगुर काट्ने चलन छ,’ उनले भने, ‘जसलाई थारु भाषामा जिता मरना भनिन्छ ।’ त्यस्तै, माघीमा थारु समुदायको मुखिया चयन पनि गरिने उनले बताए। 

दाङका प्रनभ आकाश रंगकर्मी हुन् । थारु भाषाका नाटक तथा नृत्यमा आफूलाई अभ्यस्त गराइराख्ने प्रनभ माघी मनाउन निकै उत्सुक छन् । ‘माघी पर्व हामी थारु समुदायले नयाँ वर्षका रूपमा मनाउँछौँ,’ उनले भने, ‘माघीका बेला सबैसँग मिलेर सांस्कृतिक कार्यक्रम समेत गर्छौं ।’ 

दाङका उनी दंगाली थारु पहिरनमा सजिने योजनामा छन् । ‘म माघीको दिनमा टिनिया झुलुवा, इस्टकोट, गम्छा, कछौटी र सेतो टोपी लगाउँछु,’ उनले भने, ‘यी पोसाक पश्चिमेली दाङका थारु समुदायको हो ।’ दाङका थारु समुदायको टोपी सेतो रंगको भए पनि हिजोआज कालो टोपीलाई पनि प्रचलनमा ल्याएको उनी बताउँछन् । 

माघीमा विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुने योजनामा छन्, प्रनभ । ‘माघीको दिन हामी समग्र थारु कला–संस्कृतिको प्रवद्र्धनमा काम गरिरहेका व्यक्तिहरु मन्डला थिएटरमा भेला हुनेछौँ । थारु समुदायको प्रतिनिधित्व गर्नेे कार्यक्रममा गर्छौं,’ उनले भने। 

कैलालीका इन्द्र चौधरी विद्यार्थी हुन् । विभिन्न थारु भाषाका नाटकमा काम गरेका उनी माघी मनाउन व्यग्र छन् । इन्द्रले गएको वर्षको माघी काठमाडौंमा मनाएका थिए । यस वर्षको माघी पनि काठमाडौंमै मनाउने विचारमा रहेको उनी बताउँछन् । ‘घर–परिवारबाट टाढा भए पनि माघीलाई रमाइलो गरी मनाउने विचारमा छु,’ उनले भने, ‘हाम्रो समुदायको महान् चाड माघीमा साथीभाइसँग विभिन्न परिकार खाएर, नाचगान गरेर मनाउने योजनामा छु।’ 

माघ १ गते परम्पराअनुसार बिहानै नुहाएर निसराउ (दिदीबहिनीका लागि तीन या पाँच मुठी चामल, नुन र मासको दाल) छुट्याउने र आफू थारु पहिरनमा सजिने उनको योजना छ । ‘माघीको दिन टोपी, चौबन्दी, डग्ली, भेग्वा वा धोती लगाएर महोत्सवको झाँकी र्यालीमा सहभागी हुने सोचमा छु,’ उनले भने।

दाङ, देउखुरीकी अञ्जु चौधरी मोडल हुन् । विगत तीन वर्षदेखि मोडलिङमा लागेको र थुप्रै गीतमा मोडलिङ गरेको उनी बताउँछिन् । ‘टुँडिखेलमा हुन लागेको थारु संस्कृति र झाँकी प्रस्तुत गर्ने कार्यक्रममा म कोअर्डिनेटर छु,’ उनले भनिन्, ‘थारु समुदायको पहिचानको संरक्षण र संवद्र्धनका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ।’ 

अञ्जु माघीको दिन दंगाली पहिरनमा सजिनेछिन् । आफू दाङकी भएकाले त्यहीँको पहिरनमा सजिने योजनामा रहेको उनले बताइन् । ‘म माघीको दिन दंगाली पहिरन लेहेँगा र कुर्ता लगाउँछु,’ उनले भनिन्, ‘गहनामा शिरमा मंगिया, घाँटीमा हुमेल, पाखुरामा हसुली, बिजाइट, तरिया, हत्केलामा अगेला, पछेला र खुट्टामा पाउजु लगाउँछु।’ 

अघिपछि पनि थारु पहिरनमा सजिएकी उनी यस वर्षको माघीमा थारु पहिरनमा सजिन निकै उत्साही छन्।

प्रकाशित: १ माघ २०७४ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App