६ वैशाख २०८१ बिहीबार
समाज

देवघाटमा मकर स्नान (फोटो फिचर)

चितवन- गोसाइकुण्डदेखि बग्दै आएको त्रिशुली नदी र मुक्तिनाथदेखि बग्दै आएको कालीगण्डकी नदीको संगम स्थल देवघाटधाममा माघे संक्रान्तिका दिन नुहाउनेहरुको भिडभाड हुन्छ। चितवनसँग जोडिएको तनहुँमा रहेको देवघाटधाममा नुहाउन आउनेहरुको चापका कारण नारायणगढ बजार क्षेत्रसमेत भिडभाड हुने गर्छ। हिजो आइतबारदेखि नै नुहाउनेहरु देवघाट आउन सुरु भएको हो।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंक पौडेलका अनुसार चितवन, तनहुँ र नवलपरासी लगायतका जिल्लाबाट मात्रै नभएर देवघाट नुहाउन भारतबाट समेत हिन्दु धर्म मान्नेहरु आउने गर्छन्। देवघाटमा मकर स्नानका लागि पाँच लाखको हाराहारीमा भक्तहरु आउने गरेको पौडेलको भानइ छ। देवघाट जान त्रिशुली नदीमाथि एउटा मात्रै झोलुङ्गे पुल छ।

झोलुङ्गे पुल तर्न भक्तहरु रातिदखि नै लामवद्ध भएका थिए । पुल तर्नेहरुको लाइन निकै लामो थियो। पुल बाहेक र्‍याफ्टिङ बोटबाट वारपार गर्न सकिने व्यवस्था मिलाइएको अध्इक्ष पौडेलले जानकारी दिए। गोरखा बुङकोटबाट देवघाट नुहाउन आएका ८७ वर्षीय धनबहादुर अधिकारी आफु १५ वर्षको हुँदादेखि देवघाट आउन थालेको बताउँछन्।

‘उ बेला दुई दिन हिँडेरै गोरखाबाट देवघाट आइन्थ्यो । त्यो बेला नुहाउने र किनमल गर्ने गरिन्थ्यो। अहिलेको जस्तो बजार अरु ठाउँ थिएन’ अधिकारीले भने । भिडभाड वर्षेनी बढ्ने गरेको उनले देखेका छन्। ‘गाडी चल्न थालेपछि भिडभाड बढेको देखेको छु । साना बालबालिकादेखि युवा वृद्धवृद्धा सवै आएको देखिन्छ’ अधिकारीले भने । गाडीको भिडभाड धेरै हुने भएकाले यो दिन ट्राफिक प्रहरीले विशेष व्यवस्था गरेको हुन्छ ।

 माघे संक्रान्तिका बेलामा देवघाट जाने गाडीहरु रामनगर हुँदै जान्छन् । यो बाटो अरु बेला खासै प्रयोगमा आउँदैन । फर्कने गाडीहरु अरु बेलामा प्रयोग हुने नियमित बाटो देवघाट, आँपटारी हुँदै नारायणगढ आउँछन् । पैदल हिँड्नेहरु पनि धेरै नै हुन्छन् ।

देवघाटमा माघे संक्रान्तिका दिन देवताहरुसमेत नुहाउन आउने धार्मिक कथन छ । त्यसैले टाढा टाढाका भक्तहरु पनि नुहाउन आउने र नदी किनारमा पुजा गरी दान दक्षिणा गरेको देखिन्छ । यो दिन नदी किनारमा बालकहरुको ब्रतबन्ध गर्नेहरु पनि प्रशस्तै हुन्छन् । माघे संक्रान्तिमा नुहाउने भक्तहरुका साथै मागेर गुजारा गर्नेहरुको पनि लामै लाइन हुन्छ देवघाटमा।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App