१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तयारी चिया निकासीमा अवरोध

इलाम- पटक–पटक नेपाली अलैंची र अदुवा निकासीमा अवरोध गरिरहेको भारतीय पक्षले तेस्रो मुलुक निर्यात हुने तयारी अर्गानिक चियामा समेत बाधा पुर्‍याउन थालेको छ। युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थोडक्स चिया कस्टमका कर्मचारीले नाकाबाटै फर्काइदिन समेत प्रयास गर्न थालेको व्यवसायीले गुनासो गरेका छन्।

पूर्वी नेपालको सीमा नाका पानीट्यांकीस्थित भारतीय कस्टमले इलाम र पाँचथरको प्रमाणित अर्गानिक चिया निकासीमा विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायीले बताएका छन्। भारतीय कस्टमले चिया निकासी गर्दा कहिले भारतीय बैंकको ग्यारेन्टी र कहिले भारतीय कम्पनीकै बिमासमेत खोज्न थालेपछि नेपाली व्यवसायी आजित बनेका हुन्। व्यवसायीले पानीट्यांकी नाकाबाट तेस्रो मुलुक निर्यात गर्ने चियामा भारतीय कस्टमका कर्मचारीले आवश्यकताभन्दा बढी सोधीखोजी गर्ने गरेको बताएका छन्।

हिमालयन अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन (होट्पा)का उपाध्यक्षसमेत रहेका उद्योगी उदय चापागाईंले नेपालको तेस्रो मुलुक पारबहन सम्झौताविपरीत भारतीय कर्मचारीले दुःख दिने गरेको बताए। ‘हामीले तयारी चिया निर्यात गर्दा बिमालगायत सबै प्रावधान पुर्‍याएका हुन्छौं,’ उनले भने, ‘तर, पानीट्यांकीको कस्टमका कर्मचारीले चाहिँ तेरो चिया जर्मनी वा अमेरिकामै बेच्न लैजाने के ग्यारेन्टी छ भन्नेजस्ता प्रश्न गर्छन् ।’ तेस्रो मुलुकमा तयारी चिया पठाउँदा व्यवसायीसँग उत्पत्तिको प्रमाणपत्र, बिमा, पुर्‍याउने स्थान, परिणामलगायतका सबै कागजात हुन्छन् । ‘तर, कस्टमका कर्मचारी चाहिँ हामीलाई बाधा गर्ने हिसाबले नै अनावश्यक दुःख दिइरहेका छन्,’ उद्योगी चापागाईंले भने, ‘नाकामा तयारी चिया रोकेर अनेकन झन्झट बेहोर्न मन्त्रालयसम्म धाउनुपरेको छ ।’ पानीट्यांकी नाकाबाट चिया निर्यात गर्न नसकेपछि रुट परिवर्तन गरेर टाढाका नाकासम्म पु¥याउन बाध्य भएको व्यवसायी बताउँछन्।

उद्योगीका अनुसार पानीट्यांकीबाहेक अन्य भारतीय नाकामा चाहिँ त्यस्तो झन्झट छैन । जोगवनीलगायत अन्य नाकामा भने कागजात पुगेपछि सहज रूपमै तेस्रो मुलुकसम्म चिया पुर्‍याउन पाएको व्यवसायी बताउँछन् । विश्वमा नाम कमाएको दार्जिलिङको चिया बगान पानीट्यांकी नाकाबाट नजिकै पर्छ । दार्जिलिङको चिया पनि त्यही बाटो भएर तेस्रो मुलुकसम्म जाने भएकाले नेपाली चियालाई विभिन्न बहानामा अवरोध गर्ने गरेको गुनासोसमेत व्यवसायीको छ । अर्का एक नेपाली चिया व्यवसायी भन्छन्, ‘विभिन्न नाममा पुगेको नेपाली अर्गानिक चियाको बजार युरोपेली र अमेरिकी मुलुकमा उच्च भएकाले पनि हामीलाई दार्जिलिङ नजिकको नाकामा अवरोध गरिएको हुनसक्छ ।’ ती व्यवसायीले नेपालको कृषिजन्य वस्तु निकासीमा पटक–पटक विभिन्न बहानामा अवरोध पु¥याइरहेको भारतीय पक्ष अब तयारी चियातिर मोडिएको गुनासो गरे।

                इलाम, पाँचथर र धनकुटाका केही ठूला र धेरैजसो साना उद्योगमा उत्पादन भएको अर्गानिक अर्थाेडक्स चियाको मुख्य बजार जर्मनी हो । अमेरिका, अस्ट्रिया, न्युजिल्यान्ड, रुस, फ्रान्सलगायत देशमा पनि उच्च गुणस्तरको तयारी अर्गानिक चियाको माग बढ्दैछ । दार्जिलिङको भन्दा नेपालको चियाको बोट नयाँ भएकाले यहाँको उत्पादन अझ गुणस्तरीय हुने उद्योगी बताउँछन् । ‘योङ बुसको चियाको क्वालिटी पुरानोभन्दा निकै राम्रो मानिन्छ,’ चियाविज्ञ चन्द्रभूषण सुब्बा भन्छन्, ‘दार्जिलिङभन्दा नेपालको अर्थोडक्स चिया अझ गुणस्तरको हुने भएकाले पनि तेस्रो मुलुकमा यसको बजार सम्भावना राम्रो छ।’

                उच्च गुणस्तरको चियामा भारतीय पक्षले विभिन्न बहाना बनाएर निकासीमा अवरोध गरिरहेको भन्दै व्यवसायीले समस्या समाधानका लागि आग्रह गरेका छन् । स्पेसियालिटी टि एसोसिएसनका सल्लाहकारसमेत रहेका होट्पा महासचिव डिल्ली बाँस्तोलाले चिया निकासीमा भइरहेको झन्झट र अवरोध हटाउन मन्त्रालयसम्म धाउँदा पनि पार नलागेको सुनाए। ‘पानीट्यांकी नाकामै मात्र हुनेगरेको अवरोध खुलाउन काठमाडौंका वाणिज्य, परराष्ट्रलगायतका मन्त्रालय धायौं,’ उद्योगी बाँस्तोलाले भने, ‘एउटाले अर्कोमा, अर्कोले अर्को मन्त्रालयमा र भारतीय दूतावासमा पत्र पठाएको जानकारीसम्म गराए ।  तर, समस्या ज्युँका त्युँ छ।’

नेपाली चियाको अन्तर्राष्ट्रिय ट्रेडमार्क (लोगो) नहुँदासम्म यहाँको अर्गानिक चिया ‘दार्जिलिङ टी’कै नाममा भारत र तेस्रो मुलुकमा निर्यात हुने गरेको थियो । करिब आधा दशकयता भने नेपाली उद्योगी आफैंले नेपाली चिया तेस्रो मुलुकसम्म पु¥याएर बजार ‘जमाएका’ छन् । नेपाली चियाको ट्रेडमार्क तयार भइ प्रयोगसम्बन्धी निर्देशिकासमेत जारी भइसके पनि प्रयोगमा भने आउन सकेको छैन । ‘कुनै अवरोध नहुने र ट्रेडमार्क कार्यान्वयन हुने हो भने नेपाली चिया बेच्न अन्यत्र धाउनुपर्दैन,’ उद्योगीसमेत रहेका चियाविज्ञ सुब्बा भन्छन्, ‘नेपाली चियाको उत्पादन, निर्यातमा सहजता र बजार प्रवद्र्धनमा सरकारले सघाउने हो भने हाम्रो चिया किन्न विश्वका व्यापारी यहीं आउने छन्।’

 

प्रकाशित: १ माघ २०७४ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App