coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

'हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

तस्बिरः सुशील भट्टराई

नवलपरासी - नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

‘एकैपटक धेरै मानिस तथा अन्य तौल बोक्न लगाउने, कुट्ने, कम खाना दिने र अन्य मनोरञ्जनका गतिविधिमा धेरै प्रयोग गरिएका कारण प्राकृतिक रूपमा बाँच्न पाउनुपर्ने हात्तीको अधिकार हनन भएको’ भन्दै संसारका ठूला जनावर अधिकारवादी संघसंस्थाले ‘अभियान’ छेडेको र उनीहरूलाई पर्यटन प्याकेज बिक्री गर्ने ठूल्ठुला टुर अपरेटरले साथ दिएको व्यवसायीले जानकारी दिएका छन् ।

तर, चितवन राष्ट्रिय निकुञ्जबाहिर दसकौंदेखि होटल तथा रिसोर्ट सञ्चालन गरिरहेका पर्यटन तथा होटल व्यवसायीले ‘पर्यटकलाई हात्ती नचढाए खान नपाएर सबै हात्तीको ज्यान जानेमात्र नभई सयौंले रोजगारीबाट हात धुनुपर्ने’ बताएका छन् । हात्ती चढ्ने (हात्ती सफारी) कै लागि स्वदेश तथा विदेशबाट लाखौं पर्यटक चितवन राष्ट्रिय निकुञ्ज आउने गरेका छन् ।

‘करिब पाँच दशकअघि सुरु भएको हाम्रो वन्यजन्तु पर्यटन अहिले धरापमा पार्न खोजिँदैछ र यसमा युरोप–अमेरिकाका जनावर अधिकारवादी संघसंस्था र तिनलाई ठूला टुर अपरेटरले साथ दिएका छन्,’ नवलपरासीको अमलटारीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट सञ्चालन गर्दै आएको टेम्पल टाइगर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष वसन्तराज मिश्रले भने, ‘उनीहरूको यस्तो अभियानलाई सरकार, पर्यटन मन्त्रालय, वन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, विश्व वन्यजनतु कोष लगायत सम्बद्ध निकायले रोक्नुपर्छ ।’

उनका अनुसार एसियामा वन्यजन्तु पर्यटनका लागि नेपाल अगुवा देशका रूपमा रहँदै आएको छ । टेम्पल टाइगरले चार दशकअघि चितवन निकुञ्जभित्र रिसोर्ट स्थापना गरेको थियो । तर, निरन्तर तीन दशक सञ्चालनमा आएपछि वातावरणवादीको ‘दबाब’ थेग्न नसकेर सरकारले निकुञ्जभित्रका सबै सातवटा रिसोर्ट बन्द गरेको थियो ।

‘हामीले चार दशकदेखि मिहिनेतका साथ वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई सँगसँगै लगिरहेका थियौं तर अकस्मात भित्रका सबै रिसोर्टलाई बन्द गरी बाहिर निकालियो,’ मिश्रले भने, ‘र, अब हात्ती सफारी रोक्ने दुस्प्रयास भइरहेको छ । यसको हामी डटेर सामना गर्छौं । यदि हाम्रा सम्बद्ध निकायले आँखा चिम्लिए भने गाह्रो हुन्छ तर हामीलाई उपयुक्त विकल्प भने दिनुपर्छ ।’

होटल तथा रिसोर्ट व्यवसायीका अनुसार नेपालमा निजी हात्ती १ सय ४० र सरकारी हात्ती १ सय १० छन् । ती सबैले पर्यटक बोकेर निकुञ्जभित्र लाने गरेका छन् । बर्षायाममा निकुञ्जभित्र गाडी लान नसकिने कारण हात्तीको विकल्प छैन । चितवनका सौराहा, मेघौली, जगतपुर, नवलपरासीका अमलटारी लगायत स्थानमा रहेका करिब साढे २ सय होटल तथा रिसोर्ट अधिकांशसँग हात्ती छन् । निकुञ्ज अवलोकनमा आउने अधिकांश पर्यटकको पहिलो रोजाइ हात्ती सफारी हुने गरेको छ ।‘हात्ती पाल्ने भनेको कुकुर वा बिरालो पालेजस्तो सजिलो छैन, असाध्यै गाह्रो छ । त्यही भएर यसलाई पाल्नकै लागि काममा लगाएर आम्दानी गराउनैपर्छ,’ मिश्रले भने, ‘हात्तीलाई कामबाट हटाए यसको बाँच्ने अधिकारमात्र नभई यसको आम्दानीसमेत गुम्ने छ ।

त्यसकारण आधिकारिक निकायले यसमा बोल्नुपर्यो। हात्तीका लागि मापदण्ड निर्माण गरिदिए आफूहरू जनावर अधिकारवादीसँग छलफल गर्न तयार रहेको उनले बताए । ‘चितवन राष्ट्रिय निकुञ्जलाई बचाउने हो भने हात्ती सफारीलाई निरन्तरता दिनैपर्छ । निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले हात्तीबाटै अनुगमन र गस्ती गर्दै आएको छ । यसमा समुदाय र होटल–रिसोर्टको सधैं साथ रहँदै आएको छ,’ मिश्रले भने, ‘त्यसकारण हात्ती सफारी रोक्नु भनेको वन्यजन्तु पर्यटन बन्द गराउनु हो जसले मुलुकको अर्थतन्त्रमै गम्भीर प्रभाव पार्ने निश्चित छ । त्यसमाथि सयौं रोजगारी गुम्ने त छँदै छ ।’

व्यवसायीका अनुसार एउटा हात्ती पाल्न प्रतिमहिना औसत ५० हजार रुपैयाँ खर्च लाग्ने गर्छ । एउटा हात्ती निकुञ्ज प्रवेश गर्दा ३ सय रुपैयाँ शुल्क लाग्ने गर्छ । नेपालपछि भारत, थाइल्यान्ड, श्रीलंका र लाओसमा मात्र हात्ती सफारी हुने गरेको छ ।

‘सफारीमा प्रयोग गरिने हात्तीलाई कहिल्यै पनि कुट्ने, दुःख दिने, ठूल्ठुला काठ, मुढा बोकाउने, सर्कसमा प्रयोग गर्ने वा अन्य काममा लगाइएको छैन,’ टेम्पल टाइगरका कार्यकारी अध्यक्ष मिश्रले भने, ‘हामीले सधैं हात्तीको भलाइ र सुविधाका लागि नै काम गर्दै आएका छौं जसबाट राष्ट्रिय निकुञ्ज र वातावरण संरक्षणका साथै वन्यजन्तु पर्यटन प्रवद्र्धनमा हात्तीमार्फत महत्वपूर्ण योगदान पुग्दै आएको छ ।’

 

 

प्रकाशित: २ माघ २०७४ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App