८ वैशाख २०८१ शनिबार
खेल

दक्षिण अफ्रिकाको सामान्य अग्रता

केप टाउन– दक्षिण अफ्रिकाले सोमबार वर्षाले प्रभावित भारतविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङमा सामान्य अग्रता लिएको छ।

तेस्रो दिन दक्षिण अफ्रिका ६८–२ मा खेलिरहेको छ । एबी डी भिलियर्स ३६ र ओपनर  डिन एल्गर २९ रनमा खेलिरहेका छन् । दक्षिण अफ्रिकाले ९६ रनको अग्रता लिएको छ । एल्गर र डी भिलियर्सले तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरिसकेका छन् । ६० बल खेलेका डी भिलियर्सले ५ चौका र ५५ बलको सामना गरेका एल्गरले ३ चौका प्रहार गरे।

दक्षिण अफ्रिकाले दोस्रो इनिङको सुरुआत गतिलो गर्न  सकेन । एक रन जोड्दा ओपनर एडियन मार्कामलाई गुमाएको घरेलु टोलीले थप एक रन जोड्दा भरपर्दा ब्याट्सम्यान हसिम अमलालाई गुमाएपछि दबाबमा परेको थियो।
भारतका जसप्रीत बुमराहले २ विकेट लिए । बुमराहले एल्गर र अमला दुवैलाई एलबिडब्लुको सिकार बनाएका थिए।

यसअघि १८३–५ बाट तेस्रो दिनको खेल सुरु गरेको भारतका लागि कप्तान विराट कोहलीले शतक प्रहार गर्दै इनिङ उकासे पनि अन्य ब्याट्सम्यानले दरिलो साथ नदिँदा टोली ३ सय ८ रनमा समेटिएको थियो । भारत पहिलो इनिङमा २८ रनले पछि परेको थियो।

कोहली तीव्र गतिका बलर मोने मोर्केलको बलमा डी भिलियर्सबाट क्याच भए। २ सय १७ बल खेलेका कोहलीले १५ चौका प्रहार गरे । त्यस्तै रविचन्द्रन आश्विनले ३८ रन जोडे । ५४ बलको सामना गरेका आश्विनले ७ चौका प्रहार गरे।
दक्षिण अफ्रिकाका मोर्केलले ४ तथा केशव महाराज, भेर्नान फिलान्डर र कागिसो राबाडाले समान १/१ विकेट लिए ।
तीन टेस्टको शृंखलामा पहिलो टेस्ट जितेको दक्षिण अफ्रिका १–० ले अघि छ।

प्रकाशित: २ माघ २०७४ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App