coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नर्सहरुको आन्दोलनले बिरामी मर्कामा

धनगढी – प्रदेश नम्बर ७ कै  सबैभन्दा ठूलो र रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ। आन्दोलनका कारण उपचारका लागि भर्ना भएका बिरामीहरु समस्यामा परेका छन्।

अस्पताममा उपचारका लागि भर्ना भएका बिरामी र तिनका आफन्तहरुले भने आन्दोलनका निकै सास्ती खेप्नु परेको बताएका छन्। ‘नर्सहरु आन्दोलनमा हुदाँ बिरामीले समय समयमा खानुपर्ने औषधी पनि खान पाएका छैनन्’ बझाङबाट उपचारका लागि आएका हिरालाल बोहराले दुःखेसो सुनाए,‘बिरामीले पाउनु पर्ने हेरचाह पनि पाउन सकेको छैन।’ उनी जस्तै बिरामी र बिरामीका आफन्तले नर्सहरु आन्दोलित हुदाँ श्वास्थ्य उपचार नपाएको गुनासो गरेका छन।  सेती अञ्चल अस्पतालमा कार्यरत ५२ जना नर्सहरु आन्दोलनमा उत्रिएका छन। नर्सिङ सेवा सेवा ठप्प हुँदा अस्पतालकाबाट प्रदान हुने विभिन्न सेवाहरु प्रभावित भएका हुन्।

भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविका रुपमा काम गराएर निष्काशित गरिएका नर्सको पुनःस्थापनालगायतका ११ बुँदे माग राख्दै नेपाल नर्सिङ संघको अगुवाईमा देशव्यापी रुपमा चरणवद्ध आन्दोलन भईरहेको छ।

नर्सिङ्ग संघका जिल्ला अध्यक्ष यशोदा ढकालले बिरामीलाई समस्या परेपनि बाध्यताले सवै सेवा ठप्प गुर्नपरेको बताइन्। ‘हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरु गरिए पनि सरकारले माग पुरा नगरेपछि सेवा नै ठप्प गर्नुपर्ने अवस्था आएको हो’उनले भनिन्। मंगलबारबाट ३ घण्टा सेवा ठप्प पारे पनि मागहरु सम्बोधन नभए २४ सैं घण्टा सेवा नर्सिङ्ग सेवा ठप्प पार्ने उनले बताइन।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सिङ्ग कर्मचारीहरुलाई विना शर्त पुनर्बहाली गर्नुपर्ने उनले बताइन।

आन्दोलनका कारण सात नम्बर प्रदेशमा एउटा मात्रै आईसियु सेवा रहेको सेती अञ्चल अस्पतालको  सेवा प्रभावित भएको अस्पतालमा कार्यरत फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए। ‘नर्सहरु आन्दोलित हुँदा बिरामीले पाउनु पर्ने न्यून सेवाहरु समेत दिन पाएका छैनौं’ उनले भने।

सेती अञ्चल अस्पतालले दिइरहेको अत्यावश्यक सेवाहरुमा रुटिङ्ग अपरेशन सेवा समेत नर्सहरुको आन्दोलनका कारण प्रभावित भएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर सजन केसीले नर्सहरु आन्दोलित हुँदा अस्पतालले दिंदै आएको अपरेशन सेवाहरु समेत प्रभावित भएको बताए। ‘गाईनो, हाडजोर्नी लगायत अन्य जनरल अपरेशन सेवाहरु समेत प्रभावित भएका छन’ उनले भने। विरामीलाई दिनु पर्ने अत्यावश्यक सेवाहरु भने अस्पतालले दिई रहेको उनले बताए।

संघले माग पूरा नभए माघ ४ गतेदेखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेको सिफ्टमै काममा नजाने जनाएको छ। गत पुस २६ र २७ गते कालोपट्टी बाँधेर काम गरेका नर्सले पुस २८, २९ र ३० गते सबै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म काम छाडेका थिए।

नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगत रुपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा भएको नर्समाथि हुने श्रमशोषण बन्द गर्नुपर्ने, सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्द्धन गरी स्कुल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्ने माग संघले अघि सारेको छ।

श्रम ऐन २०७४ तुरुन्त लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रष्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पिएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने माग पनि संघले अगाडि सारेको छ।

प्रकाशित: २ माघ २०७४ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App